बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

मेटा–रिलायन्स एआई डाटा सेन्टर सम्झौता

बुधबार, २७ जेठ २०८३, २० : ४४
बुधबार, २७ जेठ २०८३

काठमाडाैँ । विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तार गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला फेसबुकको मातृ कम्पनी मेटाले भारतमा पहिलो एआई–सक्षम डाटा सेन्टर निर्माणका लागि रिलायन्स इन्डस्ट्रिजसँग साझेदारी गरेको छ।

यो परियोजना भारतको गुजरात राज्यस्थित जामनगर जिल्लामा निर्माण गरिनेछ ।दुवै कम्पनीले बुधबार संयुक्त रूपमा घोषणा गर्दै उक्त डाटा सेन्टरले जेनेरेटिभ एआई सेवाहरूलाई समर्थन गर्न आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउने बताएका छन्। विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको ठुलो अर्थतन्त्रमध्ये एक भारतमा डिजिटल सेवा र एआई माग बढ्दै गएपछि यस्तो लगानी गरिएको हो।

रिलायन्स इन्डस्ट्रिजले आगामी दुई वर्षभित्र १६८ मेगावाट क्षमताको डाटा सेन्टर विकास गर्नेछ भने मेटाले उक्त पूर्वाधारबाट आवश्यक क्षमता भाडामा लिएर प्रयोग गर्नेछ । परियोजनाको वित्तीय विवरण भने सार्वजनिक गरिएको छैन ।

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले रिलायन्ससँगको साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई–सक्षम डाटा सेन्टर निर्माणका रूपमा उल्लेख गर्दै यसलाई रणनीतिक रूपमा महत्त्वपूर्ण कदम भएको बताए। उनका अनुसार जामनगरमा बन्ने यो विश्वस्तरीय सुविधा मेटाको एआई पूर्वाधारलाई विश्वव्यापी रूपमा विस्तार गर्न सहयोगी हुनेछ र भारतको डिजिटल अर्थतन्त्रप्रतिको दीर्घकालीन लगानीलाई अझ सुदृढ बनाउनेछ ।

रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले यो परियोजनालाई भारतमा विश्वस्तरीय प्रविधि कम्पनीका लागि पहिलो ‘बिल्ट–टु–सुट’ डाटा सेन्टर भएको बताए। उनले यसलाई भारतको डिजिटल पूर्वाधार विकासमा ऐतिहासिक कदमका रूपमा व्याख्या गरे।

भारतमा एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेकाले क्लाउड कम्प्युटिङ, एआई सेवा र डाटा भण्डारणको माग तीव्र रूपमा बढिरहेको छ । यही कारण विश्वका ठूला प्रविधि कम्पनीहरू र स्थानीय समूहहरूले देशभर ठूला डाटा सेन्टर परियोजनामा लगानी बढाइरहेका छन्।

यसअघि गुगल र अमेजनले पनि भारतमा आफ्नो क्लाउड पूर्वाधार विस्तार गरिसकेका छन् भने अडानी समूह र रिलायन्स जस्ता भारतीय कम्पनीहरूले समेत विशाल डाटा सेन्टर योजनाहरू सार्वजनिक गरेका छन्। हालै अस्ट्रेलियाली डाटा सेन्टर कम्पनी एयरट्रङ्कले सन् २०३० सम्म भारतमा पाँच गिगावाट क्षमताको पूर्वाधार विकास गर्न ३० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो।

रिलायन्स इन्डस्ट्रिज भारतको सबैभन्दा ठूलो निजी समूह हो। यसको जामनगर रिफाइनरीलाई विश्वकै सबैभन्दा ठूलोमध्ये एक मानिन्छ । सोही जामनगर क्षेत्रमा रहेको वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्रलाई पनि विश्वका ठूला संरक्षण परियोजनामध्ये एकका रूपमा उल्लेख गरिन्छ।

यस नयाँ एआई डाटा सेन्टरले भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधार र कृत्रिम बौद्धिकता प्रतिस्पर्धामा थप अग्रस्थानमा उभ्याउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप