आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

राष्ट्रिय सहकारी महासंघ निर्वाचन : अध्यक्षसहित सम्पूर्ण पदाधिकारी नै एमाले !

‘चुनौतीका बाबजुद महासङ्घको बाटो थप चुनौतीपूर्ण बन्यो’
शनिबार, २८ पुस २०८०, १७ : ३४
शनिबार, २८ पुस २०८०

काठमाडौँ । सहकारी क्षेत्रको छाता सङ्गठन राष्ट्रिय सहकारी महासंघ एमालेको एउटा विभागीय सङ्गठन जस्तो बन्न पुगेको छ । महासङ्घको ३१ औं साधारण सभाले राजनीतिक पार्टी निकट सहकारी अभियन्ताहरूलाई समेटेर सहमति वा प्रतिस्पर्धा कुनै पनि प्रणालीबाट नयाँ नेतृत्व छान्न नसकेपछि एउटा अमुक पार्टीको सङ्गठनको रूपमा रूपान्तरण बन्न पुगेको हो । 

शनिवार राजधानीमा सम्पन्न महासङ्घको निर्वाचनले नेकपा एमालेका नेतृ समेत रहेकी ओमदेवी मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको छ । ३ जना लेखा सुपरिवेक्षण समिति र २५ जना सञ्चालक समिति सहित महासङ्घको कूल २८ जना केन्द्रीय सञ्चालक समिति सदस्य नै एमाले निकट सहकारी अभियन्ताहरू आएका छन् । 

अध्यक्षमा ओमदेवी मल्ल, वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षहरूमा खेमबहादुर पाठक, डीबी बस्नेत र इन्दिरा पन्त सर्वसम्मत भएका छन् । यस अघिसम्म महासंघमा १ वरिष्ठ उपाध्यक्ष र २ उपाध्यसहित ३ जना उपाध्यक्ष रहने व्यवस्था भए पनि ३१ औँ साधारणसभामार्फत विधान संशोधन गर्दै ३ जना उपाध्यक्ष रहने व्यवस्था गरेको हो ।

यसैगरी महासङ्घको सञ्चालकहरूमा टेकप्रसाद चौंलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल चयन भएका छन् ।

महासङ्घको तीन सदस्य लेखा सुपरिवेक्षण समितिमा संयोजकमा भीम तुलाचनसहित सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् । सर्वसम्मत निर्वाचित भएका भनिएका यी सबै पदाधिकारी तथा लेखा सुपरिवेक्षण समिति सदस्यहरू नेकपा एमाले निकट सहकारीका नेताहरू हुन् ।

NCF-sahakari mahasang

कांग्रेस र माओवादी समर्थित अभियन्ताहरूद्वारा निर्वाचन बहिष्कार 

सहकारी महासंघका लागि प्रतिनिधित्व गर्ने जिल्ला सहकारी संघ, विषयगत तथा केन्द्रीय संघ संगठनका नेपाली कांग्रेस निकट र नेकपा माओवादी केन्द्र निकट अभियन्ता, नेताहरूले महासंघको निर्वाचन बहिष्कार गरेका छन् । 

यसअघि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को निर्वाचनबाटै दुई कित्तामा बाँडिएको सत्तापक्ष र प्रतिपक्ष राजनीतिक आस्थामा केन्द्रित सहकारी अभियन्ताहरू महासंघको निर्वाचनमा समेत फरक कित्तामा उभिएका थिए । महासङ्घमा स्पष्ट बहुमत रहेको एमाले निकट अभियन्ताहरूले सत्तापक्ष कांग्रेस र माओवादी निकट समूहलाई पेलेर जान थालेपछि माहौल बिग्रिएको महासंघ स्रोतले रातोपाटीलाई बतायो । 

‘कांग्रेस र माओवादी निकट प्रतिनिधिहरूले महासंघको खास ५ वटा पदाधिकारीमा २ वटा आफूहरूले पाउनुपर्ने माग राखेका थिए । तर, एमाले निकटहरूले दिन तयार भएनन् । ५ पदमा एउटा मात्र दिन दिन तयार भएपछि माहौल बिग्रिएको हो’ स्रोतले रातोपाटीसँग भन्यो, ‘यो जायज थिएन । ५ वटा पदमा २ वटा माग्नु जायज नै थियो । तर, एमाले निकट अभियन्ताहरूको तुजुकका कारण महासंघ अप्ठेरोमा फस्न पुगेको छ ।’

यस्तो परिस्थितिले महासंघको भावी बाटो त्यति सहज नभएको बताउँदै स्रोतले भन्यो, ‘चुनौतीका बाबजुद महासंघको बाटो थप चुनौतीपूर्ण बन्यो । यसलाई झेल्न नेतृत्वलाई गाह्रै पर्छ ।’ तर, यता महासंघका निवर्तमान अध्यक्ष मीनराज कँडेल भने सक्षम नेतृत्व आएकाले महासंघको कार्यसम्पादनमा खासै फरक नपार्ने बताउँछन् । 

‘को कुन पार्टीको, को कसको समर्थन भन्दा पनि नेतृत्वमा को आयो भन्नेले अर्थ राख्छ । अहिले महासंघको नेतृत्वमा सक्षम र अनुभवी व्यक्तित्वहरू आएका छन् भन्ने मलाई लाग्छ । यसले समस्या नपर्ला’ निः वर्तमान अध्यक्ष कँडेलले रातोपाटीसँग भने, ‘जहाजसम्म सबैलाई समेटेर जाने कुरा थियो, हर प्रयास गरेकै हो । निरन्तर छलफल र संवादहरू भएका थिए । तर अन्तिममा निर्वाचनमा भाग लिन्नौँ भनेर साथीहरू बाहिरिनुभयो । यसले माहौल केही बिग्रिन गएको हो । यद्यपि, निर्वाचन सौहार्दपूर्ण रूपमै सम्पन्न भएको छ, महासंघले सक्षम नेतृत्व पाएको छ’ उनले दाबी गरे । 

उसो त कँडेल आफैँ नेतृत्व दोहोर्‍याउने मनस्थितिमा थिए । वर्तमान अध्यक्ष मल्ल र कँडेल एउटै पार्टीबाट महासङ्घमा प्रतिनिधित्व गर्ने हुँदा अन्ततः मल्लले अध्यक्षको टिकट हात पार्न सफल भएकी हुन् । यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेकी मल्लले यदि आफूलाई अध्यक्ष उठ्न नदिए विपक्षी गठबन्धनमा गएर भए पनि आफूले निर्वाचन लडेर नै छाड्ने धम्की दिएपछि अन्ततः कँडेल पछि हट्न बाध्य भएको स्रोतको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप