सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादीको निर्णय

चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादीका नेतासँग स्पष्टीकरण माग

बुधबार, ०३ माघ २०८०, १२ : ३१
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका एक नेतालाई स्पष्टीकरण सोधिएको छ । माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीसँग पार्टीले लिखित स्पष्टीकरण माग गरेको हो । 

केसीको टोलीले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत लिएर गएका चिनियाँ टोलीकी प्रमुख सोउ सिच्याङमाथि मंसिर २० कुटपिट गरेको आरोप लागेको छ । यस सम्बन्धमा माओवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले उनलाई  लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । 

 माओवादी केन्द्रका नेताहरूका अनुसार आठबीसकोट नगरपालिका पूर्व मेयरसमेत रहेका केसीको समूहले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्ना बजारमा चिनियाँ महिलामाथि हातपात गरेको आरोप छ । केसीको चालकसहितले महिलामाथि हातपात गरेको तर उनी रमिते बनेको पाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

यस सम्बन्धमा चिनियाँ सरकारी तहबाट माओवादीसम्म ध्यानाकर्षण गराइएपछि कारबाही प्रक्रिया अघि बढाइएको माओवादी स्रोतका भनाइ छ ।  माओवादीको शनिवार सम्पन्न स्थायी समिति बैठकपछि मातहतका कमिटीमा पठाइएको सर्कुलरमा समेत स्पष्टीकरण सोधिएको विषय उल्लेख रहेको माओवादी स्रोतको भनाइ छ । 

‘भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारको तर्फबाट वितरण गर्न लगिएको राहत सामाग्री वितरण  गर्ने क्रममा विवाद उत्पन्न भई वैकल्पिक केन्द्रीय सदस्य क. गोरख बहादुर के.सी. को  उपस्थितिमा चिनियाँ टोलीका प्रमुख महिला माथि कुटपिट भएको घटनाको बारेमा निज  गोरख बहादुरसँग लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडी  बढाउने निर्णय गरिएको छ’, माओवादीको सर्कुलरमा भनिएको छ ।  

यो घटनामा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो । राहत सामग्री वितरणका क्रममा विवाद हुँदा हातपातको अवस्था निम्तिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप