आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भाग्यमानी दम्पती कसरी बन्ने ?

बिहीबार, ०४ माघ २०८०, ११ : ५२
बिहीबार, ०४ माघ २०८०

भाग्य कसैले हाम्रो टाउकोमा हात राखी तथास्तु भनेको भरमा तुरुन्तै आउने चिज होइन । आफ्नो भाग्यको निर्माता हामी आफैँ हौँ । श्रीमान् तथा श्रीमतीले पनि आफ्नो ठाउँबाट गरेका अथक परिश्रम र लगानीका बाबजुद भाग्यमानीको उपनाम हासिल हुने हो । 

तसर्थ भाग्यमानीको ताज पहिरिनका निमित्त श्रीमान् तथा श्रीमती आ–आफ्नो ठाउँबाट आफैँ प्रयत्नरत हुनु जरुरी छ । 

विवाहलाई भने केही हदसम्म भाग्यको खेल भन्न सकिन्छ, किनकि श्रीमान् तथा श्रीमती कस्ता पर्छन् सहजै भन्न गाह्रै हुन्छ, चाहे त्यो मागी होस् या भागी विवाह नै किन नहोस् । यसो तरकारी–अचार चाखेर स्वाद भनेजसरी मान्छे चाख्न सकिन्न, तर दुवैले एक–अर्कालाई गर्ने व्यवहार सही भएमा अपवादका बाहेक हरकोहीको सम्बन्ध राम्रो बन्न सक्छ । 

श्रीमतीको जीवनको पहिलो अध्याय माइतीघर हो भने दोस्रो अध्याय हो, श्रीमानको घर । दोस्रो अध्यायको परिवेश श्रीमतीका लागि अवश्य नै नौलो हुन्छ । आफ्नो गन्तव्यलाई एउटै बनाई जीवनको यात्रा श्रीमान् र श्रीमती दुवै मिली हाँक्न सके अवश्य पनि आउने बाटाहरू सोचे अनुसारका आफैँ बन्दै जान्छन् । 

यात्राका क्रममा थुप्रै घुम्तीहरू आउन सक्छन् तर कुन बेला कहाँ र कसरी मोडिनुपर्ने हो सो कुराको ज्ञान भने श्रीमतीमा हुन जरुरी छ । मुख्य चालक श्रीमती भए यात्रा बढी रोमाञ्चक हुन सक्छ, किनकि पुरुषका तुलनामा महिला अझ बढी जिम्मेवार र सहनशील हुने भएकाले जिन्दगीको यात्रामा निःसन्देह सफल हुन सकिन्छ तर सँगसँगै यदि सहचालक पनि खुसी भए यात्रा थप बढी उत्साहपूर्ण हुन सक्छ । 

सर्वप्रथम त भूमिकाको दायरा छोरीको भन्दा बुहारीको फराकिलो हुने भएकाले निश्चय नै छोरी र बुहारीबिच फरक हुन्छ । यदि यस कुराको ज्ञान श्रीमतीमा पहिले नै भए आफू बढी जिम्मेवार हुन सहयोग पुग्छ । 

श्रीमतीले आफ्नो श्रीमानलाई झैँ घर–परिवारलाई स्वीकार गर्न नसकेका कारण धेरैजसो घर बिग्रिएको पाइन्छ । ‘तिम्रो’ होइन ‘हाम्रो’ भन्ने संस्कारको विकास श्रीमतीमा भए घर जोगिन सक्छ । 

श्रीमतीले आफ्ना नयाँ सम्बन्धहरू आफ्नै लगानीमा हुर्काउँदै जानुपर्ने हुन्छ । सम्बन्धहरू धेरै हदसम्म आफू गुनाको पनि बन्ने गर्छन् । तसर्थ आफ्नो बुद्धि र विवेकको सही तालमेल मिलाउन सकेको खण्डमा घरलाई माइत बनाउन नसके पनि उसले माइतजस्तै सहजै बनाउन सक्छे । 

यात्राका क्रममा थुप्रै घुम्तीहरू आउन सक्छन् तर कुन बेला कहाँ र कसरी मोडिनुपर्ने हो सो कुराको ज्ञान भने श्रीमतीमा हुन जरुरी छ । मुख्य चालक श्रीमती भए यात्रा बढी रोमाञ्चक हुन सक्छ, किनकि पुरुषका तुलनामा महिला अझ बढी जिम्मेवार र सहनशील हुन्छन् ।

नयाँ परिवारमा श्रीमतीले आफूलाई समायोजन गर्न सहजै सक्नुपर्छ । यस क्रममा बनावटी भएर होइन कि वास्तविक भएर आफू प्रस्तुत हुन सक्नुपर्छ । श्रीमतीले थोरबहुत परिवर्तन हुने सुरुवात पहिला आफैँबाट गर्नुपर्छ । आफू परिवर्तन हुन नखोज्ने तर घर–परिवारका सदस्यलाई परिवर्तन गर्न खोज्ने जमर्काेले भने घर अवश्य बिग्रन सक्छ । 

हामीले कसैलाई पनि परिवर्तन गर्न सक्दैनौँ तर हाम्रो व्यवहार सही भएमा अरूको झुकाव भने आफूप्रति अवश्य बढाउन सक्छौँ । यस कुराको ज्ञान श्रीमतीमा हुन जरुरी छ । 

श्रीमानलाई घर र परिवारबाट अलग गर्ने नियतले श्रीमती निर्देशित हुनु हुँदैन । आजकाल यसैलाई मुख्य लक्ष्य बनाई विदेश पलायन हुने प्रचलन पनि बढ्दो छ, जुन एकदमै गलत हो । 

जसरी माइतीका बा–आमा एक्लो भएको देख्न सकिँदैन, त्यसरी नै आफ्नो घर–परिवारका बारेमा पनि सोच्नुपर्छ । श्रीमतीको नियत सधैँ घर–परिवारलाई जुटाउने किसिमको हुनुपर्छ, न कि फुटाउने किसिमको । 

विवाह भनेको दुई परिवारको पनि मिलन हो । यदि श्रीमतीले घरप्रतिको कर्तव्य निष्ठाका साथ पूरा गर्छे भने अवश्य श्रीमानलाई ससुरालीप्रतिको आफ्नो कर्तव्यको बोध हुन पुग्छ । हामीले जस्तो दिन्छौँ त्यस्तै पाउँछौँ भन्ने भनाइ एकदमै सार्थक छ । 

श्रीमतीले हाँकेका घरमा नजर उनको घर–परिवारको मात्र हुँदैन, उनीमा आफ्ना सन्तानदेखि माइतीसम्मको नजर परेको हुन्छ । तसर्थ आफ्नो पाइलालाई सकेसम्म अरूलाई प्रेरणा दिने किसिमले चाल्न सक्नु एउटी असल श्रीमतीको गुण मानिन्छ ।

हरेक सम्बन्ध विश्वासले चल्ने हुँदा श्रीमती जहिले पनि बफादार हुन सक्नुपर्छ । आफ्नो परिवारमा राज गर्न उसमा इमानदारिताको गुण हुनु आवश्यक छ । सम्बन्धको चक्रव्यूहमा जेलिँदा बेलाबखत श्रीमतीको धर्यताको बाँध भत्कन पनि सक्छ । उक्त बखत श्रीमतीले संयमता अपनाउनु बहुत जरुरी हुन्छ । 

सम्बन्धहरू धेरै राम्रो बनाउन नसके पनि नराम्रो कदापि नहोस् भन्ने कुराको हेक्का हुनु एउटी असल श्रीमतीको सर्वश्रेष्ठ गुण पनि हो । 

सम्बन्धलाई जोगाउन कतिपय अवस्थामा श्रीमतीले देखेको नदेखै र सुनेको नसुनै गर्न पनि सक्नुपर्छ । श्रीमतीले हाँकेका घरमा नजर उनको घर–परिवारको मात्र हुँदैन, उनीमा आफ्ना सन्तानदेखि माइतीसम्मको नजर परेको हुन्छ । तसर्थ आफ्नो पाइलालाई सकेसम्म अरूलाई प्रेरणा दिने किसिमले चाल्न सक्नु एउटी असल श्रीमतीको गुण मानिन्छ । 

यसो हेर्दा एउटी श्रीमतीको भूमिका कठिन देखिए पनि देखिए जति जटिल भने अवश्य छैन । किनकि फुल प्याकेजका साथ कोही श्रीमती पनि श्रीमान्का घरमा भित्रिएका हुँदैनन् । अलिअलि त जो–कोही पनि लडखराउन सक्छन्, बस श्रीमतीमा अलि बढी धर्यता र संयम चाहिन्छ, बाँकी समय र व्यवहारले सिकाउँदै जान्छ र मिलाउँदै पनि । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शलुजा बस्नेत
शलुजा बस्नेत
लेखकबाट थप