सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
वार्षिक शैक्षिक पात्रो

त्रिविको शैक्षिक क्यालेण्डरमा परीक्षाको नतिजा कहिले ?

आइतबार, ०७ माघ २०८०, १९ : ५१
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्षिक शैक्षिक पात्रो (क्यालेण्डर) सार्वजनिक गरेको छ । त्रिविले प्रत्येक वर्ष शैक्षिक क्यालेण्डर निकाल्छ तर, त्यो कार्यान्वयनमा आउन भने सक्दैन ।

त्रिविले सार्वजनिक गरेको शैक्षिक पात्रोमा परीक्षा कहिले हुन्छ भन्नेसम्म छ तर, नतिजा कहिले प्रकाशित गर्ने भन्ने छैन । त्रिविले समयमै परीक्षाको नतिजा प्रकाशन गर्न नसकेकोमा आलोचना हुनका साथै विद्यार्थीको भविष्यमाथि समेत नकारात्मक प्रभाव पर्दै आएको छ ।

२०८० माघ ३ मा त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्को बैठकले वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेष्टर प्रणाली अन्तर्गत शैक्षिक क्यालेण्डर निकाल्ने निर्णय गरेको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालय बल्खुले क्यालेण्डर निकालेको थियो । विभिन्न डीनको कार्यालयले फरक फरक खालको क्यालेण्डर समेत निकालेका थिए ।

शैक्षिक क्यालेण्डरमा भर्ना प्रक्रिया, कक्षा सुरु, परीक्षा फारम, कक्षा समाप्त र परीक्षाबारे समय तोकिएको छ । तर, परीक्षाफल कहिले प्रकाशित गर्ने भन्ने उल्लेख छैन ।

यो विषयमा त्रिवि स्ववियुले आवाज उठाउँदै आएको छ । परीक्षाफल कहिले प्रकाशित गर्ने भन्ने विषयसमेत शैक्षिक क्यालेण्डरमै हुनुपर्ने स्ववियुको माग हो ।

त्रिवि स्ववियु सभापति श्यामराज ओझाले परीक्षाको नतिजा प्रकाशित गर्ने समय समेत राखेर पुनः क्यालेण्डर प्रकाशित गर्नुपर्ने बताए । ‘शैक्षिक क्यालेण्डर निकालेको छ । केही डीनहरूले परीक्षा तालिकासमेत फिक्स नगरी क्यालेण्डर निकालेका छन् । हामीले परीक्षा तालिकामात्र नभएर नतिजा कहिले प्रकाशन गर्ने भन्ने पनि फिक्स गर्नुपर्छ भनेका छौँ,’ सभापति ओझाले भने, ‘परीक्षा लिएको ४÷५ वर्षसम्म नतिजा नआउन पनि सक्छ । त्यसैले हामीले नतिजा कहिले प्रकाशित हुने भन्ने पनि क्यालेण्डरमै आउनुपर्छ भनेका हौँ ।’

त्रिविको परीक्षा र नतिजाका विषयमा सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले टिप्पणी गर्दै त्रिविको परीक्षा र नतिजा समयमा सम्पन्न नहुँदा नेपाली विद्यार्थीहरू बिदेसिनु परेको टिप्पणी गरेकी थिइन् ।

माघ ३ गते बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमै नतिजा प्रकाशन नगर्ने गुनासो बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेको बताएकी थिइन् । अध्ययन÷अध्यापन र परीक्षा, नतिजा लगायतका विषयहरू सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने उनको भनाइ थियो ।  

त्रिविमा वार्षिक प्रणालीमा मात्रै नभई सेमेस्टर प्रणालीमा समेत परीक्षा र पढाइ नियमित छैन । शैक्षिक पात्रो अनुसार पढाइ, परीक्षा र नतिजा सम्पन्न गर्न नसक्दा विद्यार्थी घटिरहेको आरोप त्रिविले खेप्दै आएको छ ।

समयमै परीक्षा र नतिजा सार्वजनिक नहुँदा विद्यार्थीले थप अध्ययनको योजना समेत बनाउन सकेका छैनन् । विद्यार्थीले खेप्ने यो हैरानीबाट मुक्त गराउने विषयमा त्रिविका पदाधिकारीहरू बोल्न मान्दैनन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व डीन गुणनिधि न्यौपानेले शैक्षिक क्यालेण्डर लागू गर्न इच्छाशक्ति हुनुपर्ने बताए । ‘कार्यान्वयन गर्ने व्यक्तिमा एकदमै दृढ इच्छाशक्ति हुनुपर्छ । मैले डीन हुँदा ७ देखि ९ महिनामा रिजल्ट दिन्थेँ । तीन महिनामा रिजल्ट पनि आएको थियो,’ न्यौपानेले भने, ‘कमिटमेन्ट गरेर लाग्नुपर्छ । नियम बनाएर मात्रै हुँदैन, त्यो कार्यान्वयन गर्न सक्ने हुनुपर्छ ।’ यसका लागि नेतृत्व गर्ने व्यक्तिमा भिजन, लगनशीलता चाहिने उनको भनाइ छ ।

त्रिविमा शैक्षिक क्यालेण्डर लागु नगर्ने, समयमै रिजल्ट ननिकाल्ने कारणले विद्यार्थीहरू पलायन हुने, विद्यार्थी घट्ने गरेको पनि उनले बताए । यसका लागि शैक्षिक क्यालेण्डर कडाइका साथ लागु गर्नुपर्ने उनको भनाइ छ ।

कार्यान्वयन गर्नका लागि सम्बन्धित व्यक्तिको मात्र नभई माथिल्लो तहको समेत सहयोग हुनुपर्ने पूर्व डीन न्यौपानेले बताए । शैक्षिक क्यालेण्डर लागु गर्न नसके के हुने भन्ने त्रिविको कुनै पनि कानुनमा व्यवस्था नभएकाले हरेक वर्ष क्यालेण्डर बनाए पनि कार्यान्वयन हुन सक्दैन ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले पर्याप्त जनशक्ति नहुँदा परीक्षा तथा नतिजा प्रकाशनको काम छरितो बनाउन नसकिएको बताए । तथ्याङ्क प्रविष्ट गर्ने, रुजु गर्ने, सम्परीक्षण गर्नेलगायतका परीक्षासँग सम्बन्धित कार्य गर्न कर्मचारी कम हुँदा ढिलाइ हुने गरेको उनको भनाइ छ । यी कामको लागि अहिले दुई जनामात्रै कर्मचारी छन् । यसका लागि कम्तीमा ८ जना कर्मचारी चाहिने परीक्षा नियन्त्रण कार्यालयको ठम्याइ छ ।

विश्वविद्यालयसँग कर्मचारी माग गरेको दुई वर्ष भएको तर, अहिलेसम्म कर्मचारी पाउन नसकेको उनको भनाइ छ ।

त्रिवि स्ववियुले शैक्षिक क्यालेण्डर लागु गर्ने खालको मात्रै बनाउनुपर्ने र त्यो पूरा गर्नुपर्ने माग अघि सार्दै आएको छ । विगतमा शैक्षिक क्यालेण्डर बनाउने तर, कार्यान्वयन नहुने अवस्था रहेको भन्दै स्ववियु सभापति जोशीले कार्यान्वयन गर्नै पर्ने गरी अघि बढ्नुपर्ने बताए ।

यस विषयमा त्रिवि पनिकाले कर्मचारीको अभाव देखाउँदै आएको छ भने यसको यथार्थ बुझ्न त्रिवि स्ववियुले समिति गठन गरेको छ । उक्त समितिले पनिकाले प्रवाह गर्ने सेवा सुविधामा किन ढिलाइ भइरहेको छ भन्नेबारे यथार्थ रिपोर्ट स्ववियुलाई पेस गर्नेछ । समितिको प्रतिवेदनको आधारमा त्रिविलाई सुझाव दिइने सभापति ओझाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप