सिमरामा एकै रात दुई वटा सहकारी संस्थामा चोरी
बारा । बाराको सिमरामा बिहीबार राति दुई वटा सहकारी संस्थामा चोरी भएको छ । जीतपुरसिमरा–२ स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्था र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।
करिब दुई सय मिटरको दुरीमा रहेका दुवै सहकारीमा चोरले सबैतिरको ताला फुटाएको भेटिएको छ । महिला सहकारीकी निवर्तमान अध्यक्ष अनिता लम्सालले सहकारीमा नगद रकम नभएकाले चोरले सबैतिरको ताला फोरेर केही नभेटेपछि सीसी क्यामराको हार्डडिस्क नै चोरी गरेर लगेको बताइन् ।
‘हामीले सहकारीमा नगद रकम राख्ने गरेका थिएनौँ, चोरले केही नभेटेपछि सीसी क्यामराको हार्डडिस्क नै लगेछ,’ उनले भनिन् ।
बिहीबार साँझ ५ बजे कार्यालय समयपछि बन्द भएको सहकारी शुक्रबार बिहान करिब १० बजे खुलेपछि मात्रै चोरी भएको थाहा भएको लम्सालले बताइन् ।
जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा पनि चोरले पैसा खोज्ने क्रममा काउन्टरको लकर फोरेको र कागजपत्र छरिदिएको थियो ।
सिमराको महिला सहकारीमा चोरी भएको यो दोस्रो पटक हो । यसअघि २०७९ साउन १२ गते उक्त सहकारी संस्थामा पहिलो पटक चोरी भएको थियो । सो समयमा पनि सीसी क्यामेराको हार्डडिस्क लगिएको थियो ।
जीतपुरसिमरामा पछिल्लो समय सहकारी र वित्तीय संस्थामा चोरी हुने क्रम बढेको छ । यसअघि मनहर्वाका दुई वटा सहकारी संस्थाबाट लाखौँ रकम चोरी भएको थियो । जीतपुरसिमरा–१८ मनहर्वास्थित साना किसान कृषि सहकारी संस्थाबाट २०७९ असार १९ गते १२ लाख ७४ हजार रुपैयाँ चोरी भएको थियो ।
यसैगरी मनहर्वामै रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्थामा गत असोज र कार्तिकमा दुई पटक चोरी भयो । असोज २८ गते तीन लाख १७ हजार र कार्तिक २१ गते १३ हजार रुपैयाँ चोरी भएको थियो ।
यस्तै जीतपुरसिमरा–१८ स्थित उचिडिमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा मङ्सिर ३ गते ताला फोडेर प्रिन्टर र हार्डडिक्स चोरी गरिएको थियो । जीतपुरसिमरा–१५ डुमरवानामा गत मङ्सिर ९ गते राति एटीएम मेसिन फोडेर रकम चोरीको प्रयास भएको थियो ।
चोरीका यी सबै घटनामा संलग्न व्यक्ति कानुनी दायरामा आउन सकेका छैनन् । चोरीका घटना बढ्न थालेपछि वित्तीय संस्थाले असुरक्षित महसुस गर्न थालेका छन् ।
महिला सहकारीकी निवर्तमान अध्यक्ष अनिता लम्सालले यसअघि भएको चोरीको घटनामा प्रहरीमा निवेदन दिए पनि संस्थाले ताकेता नगरेका कारण प्रहरीले पनि अनुसन्धानमा खासै चासो नराखेको बताइन् ।
बिहीबार राति भएको चोरीको घटनापछि दुवै सहकारी संस्थाले ईलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण