सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सिस्टम ‘ह्याक’

त्रिभुवन विश्वविद्यालयको वेबसाइट कसरी पुग्यो कक्षा १२ मा पढ्ने ‘ह्याकर’को अधीनमा ?

अनलाइन सिस्टम सुधार गर्न अझै समय लाग्ने
बुधबार, १७ माघ २०८०, २० : २४
बुधबार, १७ माघ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेबाट अनलाइनमार्फत सेवा प्रवाह थाल्यो । तर केही समयमै अनलाइनमा समस्या देखियो । यहाँसम्म कि एक सामान्य ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरिदिए । उनले चुनौती दिँदै भने, ‘हिजोदेखि टियु (त्रिभुवन विश्वविद्यालय) ले अनलाइन सेवा सुरु गरेसँगै यसले टियुको वेबसाइट अट्याक सर्फेस पनि बढाएको छ । यसले गर्दा टियुको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ ।’

सीसीआरसी कलेजमा कक्षा १२ मा अध्ययनरत ती विद्यार्थीले अब त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीबाट आएका लाखौँ कागजपत्रलाई सुरक्षित राख्नुपर्ने बताए । त्रिभुवन विश्वविद्यालयले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई विशेष महत्त्व दिनुपर्ने उनको भनाइ थियो । उनले सबैको डाटा सुरक्षित राखेको बताउँदै ह्याकिङ गर्नु अवैध र अनैतिक रहेको समेत उल्लेख गरेका थिए ।

हुन पनि विश्वविद्यालय भनेको उच्च शिक्षा हासिल गर्ने थलो हो । तर उच्च माध्यमिक तह अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने थलोले प्रयोग गरेको प्राविधिक विद्वतालाई ठाडो चुनौतीमात्र दिएनन्, त्यसमा कब्जा जमाएर खिल्ली उडाइदिए ।

rohit

अनलाइन सिस्टम ह्याक गरेर उनले आफ्नो फेसबुक प्रोफाइल नै राखेका थिए । केही घण्टापछि उक्त फेसबुक प्रोफाइल हटेको थियो । उनले त्यसपछि सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालयलाई चेतावनीसहितको सुझाव दिएका थिए । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट (tuexam.edu.np) यतिबेला ‘अण्डर कस्ट्रक्सन’ (मर्मत सम्भार) का क्रममा छ ।

त्रिभुवन विश्वविद्यालयका निमित्त रजिस्ट्रार डा. कृष्ण प्रसाद बस्यालले अनलाइनमा समस्या देखिएपछि आईटी टिमले काम गरिरहेको बताए । पिलिमनरी फेजमा ह्याक भएकाले कुनै पनि डाटा चोरीको समस्या नदेखिएको उनको भनाइ थियो ।

ज

अनलाइनमा रहेको लुप होलका कारण ह्याक हुन पुगेपछि परीक्षा नियन्त्रण कार्यालयले अहिले सेक्युरिटी अडिटका लागि पठाएको छ । सेक्युरिटी अडिट भएपछि सुरक्षित हुने र त्यसका लागि काम भइरहेको बस्यालको भनाइ छ ।

पहिलो प्रयास भएकाले अनलाइन सेवा थालनीमा केही कमजोरी देखिएको बस्यालले स्वीकार गरे । ‘फस्टफेजमा हामीले सुरु गरेको हो । पिलिमनरी सिस्टममा समस्या भएको हो । सुरू स्टेजमा अलिकति समस्या आएको हो । यसमा हाम्रो आईटी लागिरहेको छ,’ उनले भने ।

यसमा देखिएका समस्या समाधान गरेर जति सक्दो चाँडो अनलाइन सेवा सुचारू गरिने बस्यालले प्रस्ट पारे । नेपालमा आईटी क्षेत्रमा अध्ययन अध्यापन गराउने क्षेत्रमा त्रिभुवन विश्वविद्यालय निकै अगाडि छ । प्रायः विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयबाटै आईटी पढ्दै आएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय आईटी विभाग प्रमुख दिपक बहादुर शाहीले समयसीमाभन्दा अगाडि आएर सेवा दिन खोज्दा केही कमजोरी देखिएको बताए । ‘समयसीमा अनुसार काम गर्नुपरेको थियो । अलि समय लगाएर काम गर्न पाएको भए यस्तो समस्या हुने थिएन होला,’ शाहीले भने, ‘यस्तो समस्या नआउला भन्ने थियो तर, प्रविधिले यति फड्को मारिसकेको छ कि हाम्रै विद्यार्थीले सिकेर सिस्टमलाई सुधार गर्ने मौका वा चुनौती दिएका छन्, त्यो सिस्टम सुधारका लागि मौका पनि हो ।’ 

 

सुचारू भएसँगै समस्याग्रस्त:

त्रिभुवन विश्वविद्यालयले सात दिनभित्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाटै शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी अनलाइन सिस्टम थालेको थियो । तर, अनलाइन सेवा सुरूवात गरेको केही समयमै ह्याकरले सिस्टमलाई नै आफ्नो अधीनमा लिए । त्यो भन्दा अगाडि अनलाइनमा थुप्रै खालका समस्या देखिए । सेवाग्राहीले अनलाइन भन्दा त भौतिक रूपमै बल्खु गएर लाइन लागेर प्रमाणपत्र लिन सजिलो हुने भन्दै अनलाइन सिस्टममाथि व्यङ्ग्यसमेत गरे । सेवाग्राहीले साइट नै नखुल्ने, खुले पनि फरक फरक निर्देशन आउने जस्ता समस्या भोग्दै आएका थिए ।

त्रिवि स्ववियु सभापति श्यामराज ओझाले सेवा सुचारू हुन नपाउँदै समस्या आएको बताए । कुनै निजी कम्पनीलाई जिम्मा दिएका कारण प्रभावकारी सेवा दिन नसकेको उनको भनाइ छ ।

आफूहरूले त्रिभुवन विश्वविद्यालयले आफ्नै आईटी कन्ट्रोल रूम बनाएर विश्वविद्यालयभरका अनलाइन सिस्टम त्यहीँबाट चल्ने बनाउनुपर्ने माग गरेको ओझा बताउँछन् । ‘विश्वविद्यालयले आफ्नै आईटी कन्ट्रोल रूम बनाउनुप¥यो । त्यसमा विश्वविद्यालयभरिका सबै ठाउँको वेबसाइट एउटैमा राखेर त्यहीँबाट कन्ट्रोल गर्ने बनाउनुपर्छ भनिरहेको हो,’ उनले भने ।

अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष प्रदीप भट्टले एउटा सामान्य व्यक्तिले ह्याक गर्न सक्ने खालको वेबसाइट बनाउनु गम्भीर लापरवाहीको नमुना रहेको बताए ।

१ करोड ७५ लाखको बजेट

परीक्षा नियन्त्रण कार्यालयले १ करोड ७५ लाख रूपैयाँ खर्च गरेर अनलाइन सफ्टवेयरको विकास गर्न लागेको हो । तर, अनलाइन सिस्टमका लागि अहिले थोरैमात्र खर्च गरिएको स्रोतले जनाएको छ ।

यसका लागि परीक्षा नियन्त्रण कार्यालयले एक निजी कम्पनीसँग सम्झौता गरेको हो । गत माघ १० गते अनलाइन डेमो गरेको र त्यो बेला सफल भएको बताइएको छ । तर, सुरक्षा सतर्कताबिना सेवा प्रवाह गर्दा ह्याकरको निशानामा परेको सम्बद्ध स्रोतको भनाइ छ ।

२०७५ सालमा त्रिभुवन विश्वविद्यालयले आवेदन दिएको २४ घण्टामै लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) उपलब्ध गराउने घोषणा गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले एक कार्यक्रम आयोजना गरी २०७५ जेठ १३ मा ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ सुरु गरेको थियो । तत्कालीन उपकुलपति प्राडा तीर्थराज खनियाँले सो प्रणालीको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय अब सूचना प्रविधिमैत्री भएको बताएका थिए । उनले भनेका थिए, ‘हामी त्रिविलाई कागजविहीन बनाउने प्रयासमा छौँ । यसैको सुरुवात आजदेखि एकै दिनमा ट्रान्सक्रिप्ट दिन थालेका हौँ । एकै दिनमा ट्रान्सक्रिप्ट दिने सेवालाई बिस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौँ ।’ उनले सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा सुधार गरिने बताएका थिए । तर पाँच वर्ष बित्दा पनि त्यो लक्ष्य पूरा भएको छैन ।

हाल दैनिक एक हजार ५०० भन्दा बढी विद्यार्थी ट्रान्सक्रिप्ट लिन परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्छन् । अनलाइन सेवा थालेपछि सहज हुने आशामा रहेका सेवाग्राही साइटमा समस्या आउँदा फेरि निराश बनेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले समस्या देखिएको सिस्टम बनाएर पुनः सेवा सुचारू गरिने जनाएको छ । कार्यालयले अनलाइन मार्फत ट्रान्सक्रिप्ट, प्रोभिजनल, प्रमाण–पत्र, पुनर्योग र करेक्सनको काम थालेको थियो । त्यसका लागि अनलाइन मार्फत आवश्यक कागजात पेस गर्नुपर्ने र आवश्यक दस्तुर बुझाएपछि एक साताभित्र प्रमाणपत्रहरू पाइने जनाएको छ । ती प्रमाणपत्र केन्द्रीय कार्यालय बल्खु र सातै प्रदेशमा रहेका क्षेत्रीय कार्यालयहरूबाट समेत लिन सकिने व्यवस्था मिलाएको हो ।

त्रिभुवन विश्वविद्यालयले निकट भविष्यमा हुलाकमार्फत नै घरैसम्म प्रमाणपत्र पठाउनेगरी तयारी थालेको छ । अनलाइन मार्फत आवेदन दिएपछि हुलाक मार्फत विद्यार्थीको घरमै प्रमाणपत्र पठाउने गरी तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप