बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्छ : गगन थापा

बुधबार, २४ माघ २०८०, १२ : ११
बुधबार, २४ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले संसद्मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले राजनीतिक दल, संसद्, सरकार र संसदीय समितिले काम गर्ने तरिका बदल्नुपर्ने बताएका हुन् ।

सांसद थापाले राजनीतिक दलहरूले संसद्मा काम गर्ने तरिका बदलेर प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘संसद्‌भित्र रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने भएको छ,’ उनले भने, ‘यो पटकको संसद्को अधिवेशन थप जिम्मेवार र क्रियाशील बनाउनेछौं ।’

संसद्को ठूलो दल भएको नाताले कांग्रेसले संसद्लाई प्रभावकारी बनाउन भूमिका खेल्ने थापाले प्रतिबद्धता जनाए । सरकारले संसद्‍बाट गरेको अपेक्षा पूरा गर्न र जनताले संसद्बाट गरेको अपेक्षा पूरा् गर्न कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । उनले कांग्रेसका सांसदहरू अधिवेशनभरी क्रियाशील रूपमा संसदमा उपस्थित हुने बताए । संसद्लाई आम नागरिकसँग जोड्नका लागि भूमिका खेल्ने थापाको भनाइ थियो ।

संसद्को यसअघिको अधिवेशनबाट संसद् र सरकार सन्तुष्ट नरहेको थापाको भनाइ थियो । उनले संघीयता र संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि सरकारले विधेयक संसद्‍मा ल्याउनुपर्ने बताए ।

सरकारले संघीयता कार्यान्वयन र संविधान कार्यान्वयन गर्नका लागि विधेयक ल्याउने आश्वासन दिएको र सांसदहरूले पनि सोहीअनुसार क्रियाशीलता देखाउनुपर्ने उनले बताए । 

संसद्ले कार्यतालिका नै बनाएर अघि बढेको र संसदीय समितिहरूले पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने सांसद थापाको भनाइ थियो ।

यस्तै उनले ‘समुदायसँग कांग्रेस’ अभियानका क्रममा ठूला—साना पूर्वाधारको बेहाल अवस्था रहेको बताए । ‘हाम्रा आयोजनाको बेहाल छ । यो हामी सबैको सामुहिक असफलता हो । हामीले पूर्वाधार समयमा बनाउन सकिरहेका छैनौं । केही न केही कुरा ठीक भइरहेको छै,’ उनले भने ।

ठीक गराउने सन्दर्भमा जिम्मेवारी र मौका पनि रहेको बताए । ‘सार्वजनिक खरिद ऐनमा कसले कतिमा बनाउने प्रतिस्पर्धा गराउँछौँ, कसले कति समयमा बनाउने भन्ने व्यवस्था पनि त्यहाँ छ । त्यो कानुनी व्यवस्थाको प्रयोग हामीले गरेका छैनौं,’ उनी भन्छन्, ‘कानुनमा समस्या भए कानुन बनाउने ताकत यो संसदसँग छ । संसदले यसमा काम गर्नुपर्ने छ ।’

अभियानका क्रममा आफू नडराएको भन्दै कही न कही भरोसा गुम्दै गएको उनको भनाइ छ । ‘राजनीतिक, आर्थिक सामाजिक, सांस्कृत अधिकार पाएको कुरामा नागरिकले ठूलो गौरव गरेका छन् । तर, भरोसा गुमाएको छ,’ उनी भन्छन्, ‘राजनीतिक दलप्रति मात्र होइन, अड्डा अदालत, प्रहरी, प्रशासन, बैंक वितीय संस्था सबैसँगको विश्वास गुम्दै गएको छ । यो विश्वासलाई पुर्नस्थापित गर्ने पर्छ । यसको सबैभन्दा बढी जिम्मेवारी सरकार सञ्चालन गर्नेले नै हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप