मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माटो र बालुवा चोरी प्रकरण : मिलेमतोमा जरिवाना छुट !

१२४८ घनमिटरलाई घटाएर २३३ घनमिटरको मात्रै जरिवाना असुली
बिहीबार, ०३ फागुन २०८०, ०७ : ३३
बिहीबार, ०३ फागुन २०८०

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को सार्वजनिक जग्गाबाट माटो र बालुवा चोरी घटनामा सेजकै कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा जरिवाना समेत छुट गरिएको पाइएको छ ।

सेजले पुस २९ गते  साबिक डुमरवाना गाविस ९ को कित्ता नं ९९ बाट करिब १ हजार २४८ घनमिटर बालुवा र माटो चोरी भएकोले कानुन बमोजिम कारबाहीको लागि सहयोग गरिदिन प्रहरीलाई पहिलो पत्र पठायो ।

तर, सोही घटनामा माघको १७ गते प्रहरीलाई दोस्रो पत्र पठाएर सेजले २३३ दशमलव ३९ घनमिटर मात्रै प्राकृतिक स्रोत साधनको चोरी भएको भन्दै ९३ हजार ३२० रुपैयाँ मात्रै जरिवाना गराएको छ ।  

दुवै पत्रमा सेजका इन्जिनियर पप्पु गिरीले हस्ताक्षर गरेका छन् । एउटै घटनामा ३ साताको अन्तरमा सेजले प्रहरीलाई फरक फरक पत्र पठाएर चोरी तस्करीमा सङ्लनालाई कारबाही गर्न दबाब दिनुको साटो  मिलेमतोमा जरिवाना समेत घटाएर पठाएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । सेजको पहिलो पत्र र दोस्रो पत्रको बिचमा १ हजार १४ घनमिटरको अन्तर छ ।  

  ‘माटो, ढुंगा, बालुवा उत्खनन गरी जमिन चिरा चिरा पारेर नोक्सान गरेको हुँदा लिखित रुपमा पटक पटक सूचना गर्दा पनि अटेरी गरी मिति २०८०÷०९÷१९ गते राति उत्खनन् कार्यमा ना १ त ६६४७ नम्बरको एक्साभेटरले करिब २४ मिटर लम्बाई, १६ मिटर चौडाइ, र ३ दशमलव २५ मिटर गहिराइमा करिब १ हजार २४८ घनमिटर उत्खनन् गर्दागर्दै सेजका कर्मचारी र प्रहरीको सहयोगमा एक्साभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिएकोले कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ,’ पुस २९ गते सेजले प्रहरीलाई पठाएको पहिलो पत्रमा उल्लेख छ ।

 सो घटनामा दोस्रो पत्रमा सोही नम्बरको एक्साभेटरले १७ दशमलव २५ मिटर लम्बाई, ९ दशमलव ०२ मिटर चौडाइ, र १ दशमलव ५ मिटर गहिराइमा २३३ दशमलव ३९ घनमिटर उत्खनन गरी जम्मा ९३ हजार ३२० रुपैयाँ बराबरको क्षति भएकाले उक्त रकम शीर्षक १४२२९ प्रशासनिक दण्ड जरिवाना दस्तुर कोलिनिक कार्यालय कलैयामा जम्मा गर्न अनुरोध गरिएको छ ।

यस विषयमा  सिमरा सेजका इन्जिनियर पप्पु गिरीले माटो चोरीमा धेरै सवारी साधन प्रयोग भएकाले एउटा एक्साभेटरलाई मात्रै जरिवाना गरिएको र बाँकी सवारी साधन खोजी भइरहेको दाबी गरे ।  

‘पहिला कसको गाडीले माटो चोरी गरेको हो भन्ने खोजी गरौँला’ इन्जिनियर गिरीले भने, ‘फिल्डमा गएर हामीले नाप जाँच गरेका छौ, धेरै क्षति भएको छ तर क कसको गाडी प्रयोग भएको थियो पत्ता लागेको छैन ।’

 पुस १९ गते राति माटो चोरी भएपछि सेजले पुस २५ गते पनि प्रहरीलाई पत्र पठाएर  ‘बि ब्लक’ को जग्गाबाट भएको माटो चोरी घटनामा जीतपुर सिमरा उपमहानगर वडा नं १४ की वडाध्यक्ष  चयन गुरुङ्गको रोहवरमा सम्पूर्ण खाल्टाखुल्टी पुर्ने सहमति गर्ने र त्यसका लागि  प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन छोड्ने सहमति भएको जानकारी गराएको थियो  ।

तर इप्रका  सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले कारबाही गर्ने अडान लिएपछि सेजका कर्मचारीले वडाध्यक्षसँगको मिलेमतोमा उत्खनन भएको माटो वालुवाको मात्रा घटाएर कम जरिवाना बुझाएको आरोप लागेको छ ।

सेजको सार्वजनिक जग्गाबाट भएको माटो चोरी यसअघि जीतपुर सिमरा उपमहानगर वडा नं ११ बाट चोरी भएको माटो भन्दा ठुलो परिणाममा रहेको सेजका इन्जिनियर आनन्द भट्टले जनाएका छन् ।  

सेजका अर्का एक इन्जिनियरले भने माटो, बालुवा चोरी घटनालाई ढाकछोप गर्न वडाध्यक्ष गुरुङले सेज कर्मचारीहरूलाई मानसिक रुपमा टर्चर दिएको गुनासो गरेका छन् । यस विषयमा बुझ्न सम्पर्क गर्दा गुरुङ सम्पर्कमा आएनन् ।

सेजको जग्गाबाट चोरी भएको बालुवा, माटो दुधौरा खोलामा अवैध ढङ्गले सञ्चालन भएका बालुवा प्रशोधन उद्योगहरूमा थुपार्ने गरिएको छ । 

se1se2se4

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप