मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कवि कला सेरेङको ‘कलाका अन्तर्मन’ र ‘अतीतका यादहरू’ सार्वजनिक

बिहीबार, १० फागुन २०८०, १७ : ४१
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीति भिडियो ‘अतीतका यादहरू’ सार्वजनिक भएको छ । शनिवार आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले उक्त कृति सार्वजनिक गरेका हुन् । अढाई दशकदेखि कर्मथलो हङकङमा रहनुभएका सेरेङको यो पहिलो कृति हो ।

पुस्तक कृतिभित्र १ सय १५ शीर्षकका गीत तथा कविता रहेका छन् । परदेशमा रहँदा घर देशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन् । मातृभूमि नेपालको वन पाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिँचेको मातृभूमिप्रति माया, मायाप्रीतिका शब्द उनिएका छन् । कविले भनेकी छिन्–

पुर्खाले सिँचेको मातृभूमिप्रति 

धेरै माया जाग्दो रहेछ

अर्काको भूमिमा एकजना नेपाली हुनु

नेपालीपनमा बाँच्न चाहनु नै 

आफ्नोपनको खोजी गर्नु रहेछ.... 

जीवनभर अर्काको भूमिमा 

श्रम बेच्नेहरूलाई पनि 

स्वदेशको माटो प्यारो लाग्दो रहेछ....

कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको बताए । ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उनको भनाइ छ, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ ।’ विनोद चोङबाङले संयोजन गर्नुभएको कृतिमा डा.दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेख्न गरेका छन् ।  

यसैगरी कला सेरेङको ‘अतीतका यादहरू’ गीति भिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिएका छन् भने प्रसिद्ध गायिका अन्जु पन्तले गाएकी छन् । उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ ।

परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ । त्यसमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गरेका छन्। सीएम सुनुवार वाम्बुले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायकसमेत हुन् । सीएमले थुप्रै म्युजिक भिडियो अभिनय समेत गरेका छन् । 

त्यस्तै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले नेपाली कला र  संस्कृतिको जगेर्ना प्रवासमा रहेका नेपालीहरूले संरक्षण गरिरहेको दाबी गरेका छन् । आफ्नो अमेरिका भ्रमणमा अमेरिका बस्ने नेपालीहरूले नेपाली मौलिकता, कला र संस्कृतिको जगेर्ना गरेका देख्दा आफूलाई खुसी लागेको धारणा व्यक्त गरे ।

पुस्तककी लेखिका सेरेङलाई कविता लेख्नमा निरन्तरता दिन उनले सुझाएका छन् । धेरै सर्जकहरू आफ्नो कर्मलाई निरन्तरता नदिँदा छायामा परेको तर्फ इन्किंत गर्दै राईले त्यसबाट पाठ सिक्न अनुरोध गरे ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, कलाकार, फिल्म निर्माता र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्ने सबैले यस्ता कामले निरन्तरता पाउनुपर्ने बताएपछि कवियत्रीले आफूले कला साहित्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप