किसानको चेतावनी– सिंहदरबारभित्र गाईभैंसी बाँधेर आन्दोलन गर्छौँ
काठमाडौँ । दुग्ध उत्पादक किसानले सिंहदरबारभित्र गाईभैंसी बाँधेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुग्ध उत्पादक किसानका विभिन्न संगठनले आफ्ना मागलाई बेवास्ता गरे सिंहदरबारभित्रै गाईभैंसी बाँधेर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
दुग्धसँग सम्बन्धित विभिन्न माग राखेका उनीहरुले आन्दोलनमार्फत सरकारलाई ध्यानाकर्षण गराउने जनाएका छन् । नेपाल दुग्ध व्यवसायी संघका अध्यक्ष विश्वराज घिमिरेले भने, ‘हाम्रा माग पूरा नहुँदासम्म आन्दोलन रोक्ने छैनौँ, माग पूरा भएनन् भने सिंहदरबारभित्र गाईभैंसी बाँधेर आन्दोलन गर्न बाध्य हुनेछौँ ।’
कुल उत्पादनको ५० प्रतिशत दुधमात्र बजारमा जाने तर लामो समयदेखि प्रतिदिन ५ देखि ६ लाख लिटर दुध बिक्री हुन नसकेको उनको भनाइ छ । ‘छिमेकी मुलुक भारतबाट अवैध रुपमा कच्चा दुध तथा दुग्धजन्य पदार्थ आयात भइरहेका कारण नेपाली किसानले उत्पादन गरेको दुध बिक्री भइरहेको छैन,’ उनले भने ।
लम्पी स्किन रोगको महामारीका कारण ६९ हजारभन्दा बढी पशु मरेको र १५ लाख ३६ हजार १८० पशु संक्रमित हुँदा दुधको अभाव हुने अनुमान गरिए पनि मिल्क होलिडे हुने अवस्था सिर्जना हुनुले भारतबाट अनौपचारिक रूपमा दुध आयात भइरहेको पुष्टि गरेको उनको भनाइ छ ।
लम्पी स्किन रोगका कारण ७५ अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोर्न बाध्य भएका किसानले दुधको करिब ६ अर्ब रुपैयाँ बराबरको बक्यौता पाउन बाँकी रहेको घिमिरे बताउँछन् ।
दुग्धजन्य वस्तु बिक्री हुन नसकेको, बिक्री भएको दुधको भुक्तानी नपाएको राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताए । यस विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनले उल्लेख गरे ।
‘दुग्ध उत्पादक किसानहरूले भोग्नु परेका समस्याका बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘हामीले किसानहरूले दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा व्यहोर्नु परेका समस्या समाधान गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छौँ, तर यस उपर सम्बोधन नहुँदा हामी ठुलो समस्या र पीडा बेहोर्न बाध्य भएका छौँ ।’
नेपालमा दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको छ । यस्तै करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न रहेको र कुल ग्राहस्थ उत्पादनमा दुधको योगदान ६ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ ।
दुधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न उनीहरुले माग गरेका छन् ।
यस्तै दुधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न, बिक्री नभएको दुधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दुध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत उनीहरुले १६ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।
घोषित आन्दोलनका कार्यक्रममा फागुन १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म चक्काजाम गर्ने, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने उल्लेख छ ।
यस्तै फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरी माग पुरा नभएसम्म निरन्तर जारी रहने उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण