शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी संकट

छद्‍म अडिटरको कारण डुब्दै सहकारी

सरकारी कर्मचारी नै छद्‍म रुपबाट अडिटमा सक्रिय
शुक्रबार, ११ फागुन २०८०, २० : ५९
शुक्रबार, ११ फागुन २०८०

विराटनगर । मोरङ, पथरी शनिश्चरेस्थित हसन्दहको सुनदह वचत तथा ऋण सहकारीमा एक्कासी संकट आइलाग्यो । उक्त सहकारीले बचत फिर्ता दिन नसकेपछि आएको समस्याबारे छुट्टै एउटा टोलीले तीन महिना लगाएर लेखा परीक्षण गर्‍यो ।

लेखा परीक्षणका क्रममा उक्त सहकारीले ९ वर्ष अगाडिदेखि नै गरेको लेखा परीक्षण रिपोर्टमा त्रुटि भेट्टायो ।

९ वर्ष अगाडिदेखि नै रमेश बस्नेत भन्ने व्यक्तिले लाइसेन्स होल्डर लेखा परीक्षकको नक्कली छाप लिएर लेखा परीक्षण गर्दथे । उनले १५ हजार लेखेर ५ हजारमात्रै लेखा परीक्षण शुल्क लिन्थे । लेखा परीक्षण रिपोर्टमा प्रत्येक वर्ष नाफा देखाइन्थ्यो । तर, सहकारी चल्नै नसक्ने भएपछि ९ वर्ष अगाडिदेखिको लेखापरीक्षण गर्दा प्रत्येक वर्ष सहकारी ५–७ लाख घाटामा गएको पाइयो । जम्मा घाटा ६९ लाख रहेको पत्ता लाग्यो ।

अहिले उक्त सहकारीका सञ्चालक समिति अध्यक्ष, व्यवस्थापक तथा अन्य सञ्चालक पक्राउ परेका छन् र उनीहरुमाथि मुद्दा चलाइएको छ ।

मोरङ मिक्लाजुङको चुरेफेरि महिला बचत तथा ऋण सहकारी संस्थामा पनि लामो समयदेखि छद्म लेखा परीक्षकले लेखा परीक्षण गरे । उक्त सहकारीको चार खातामा २६ लाख रुपैयाँ नगद देखिन्छ तर, व्यवहारमा छैन । पैसा नभएपछि सेयर सदस्यहरुको दबाबमा सहकारीको सेफ (भल्ट) खोलेर हेर्दा ५÷६ हजारमात्रै भेटियो । पछि अरु नै लेखा परीक्षकले गएर हिसाब हेर्दा ३८ लाख रुपैयाँ पैसा हुनुपर्ने देखिन्छ तर, पैसा भेटिँदैन ।

त्यसको केही दिनपछि सेफ नै चोरी भयो । चोरीको आरोपमा व्यवस्थापकलाई पक्राउ गरियो । घटना सामसुम बनाउन चोरीको अभिनय भएको सहकारीका एक सेयर सदस्य नै बताउँछन् । उक्त सहकारीमा अहिले समस्या आएको पनि लेखा परीक्षककै कारण भएको जानकारहरु बताउँछन् । किनकि लेखा परीक्षकले चार खाता हेरेनन् । सञ्चालक र व्यवस्थापकले भनेको आधारमा हिसाव राखे । नगद देखियो तर, व्यवहारमा सहकारी नै घाटामा थियो ।

विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारीमा पनि छद्म भेषमा लेखा परीक्षण गर्नेले डुबाएको पत्ता लाग्यो । सहकारीको कारोबार प्रत्येक वर्ष घाटामा हुन्थ्यो । तर, बचतकर्तालाई झुक्याएर बचत संकलन गर्न नाफामा रहेको देखाइयो । ६ करोड बचतलाई लेखा परीक्षकसँग मिलेमतो गरेर ३ करोड देखाइयो । १ करोड ५० लाख कर्जा प्रवाहलाई लेखा परीक्षकसँगको मिलेमतोमै ३ करोड देखाइयो । बाँकी रहेको रकम सञ्चालक समितिमा रहेका अध्यक्ष, सचिव, व्यवस्थापकले मनपरी चलाए ।

अहिले उक्त सहकारीले बचतकर्ता र सेयरधनीलाई फिर्ता दिनुपर्ने रकम ६ करोड ८६ लाख रुपैयाँ अपुग छ । बचतकर्ताको रकम फिर्ता गर्ने रकम नै सहकारीसँग छैन ।

विराटनगरकै जामुनेश्वर बचत तथा ऋण सहकारी संस्थाको पनि अवस्था उस्तै छ । फोनको भरमा कतिपय बैंकका कर्मचारीले लेखा परीक्षण रिपोर्ट बनाए । संस्थामा गएर अवस्था बुझेनन् । चार खाता पनि हेरेनन् । तर, घाटामा गएको सहकारीले बर्सेनि २० प्रतिशत लाभांश भने बाँडिरह्यो । २० प्रतिशत लाभांश दिएको भनेर टोलमा कुरा गरियो, बजारमा हल्ला पिटाइयो । सेयरधनीहरु थप हुँदै गए । सेयरपूँजी पनि बढ्दै गयो । बर्सेनि लाभांश बाँड्दा कागजमा दोब्बर–तेब्बर सेयरपूँजी रकम वृद्धि भएको देखेर दङ्ग भएका सेयरधनीहरु जब सहकारी डुब्यो, अनि छाँगाबाट खसेझैँ भए । उक्त सहकारीमा अहिले ८२ लाख रुपैयाँ अपचलन गरेको पाइयो ।

विराटनगरकै तुलसी बहुउद्देश्यीय सहकारीमा पनि लेखा परीक्षकको मिलेमतोकै कारण सयौँ बचतकर्ताको करोडौँ रकम अहिले डुबिरहेको छ । विराटनगरका आधाजसो बचत तथा ऋणको कारोबार गर्ने सहकारीको समस्या यस्तै छ ।

सहकारीको लेखा परीक्षणबारे सामान्य ज्ञानसमेत नभएकाहरुले सञ्चालकले भनेको भरमा जथाभावी रिपोर्ट लेखिदिँदा समस्या बढिरहेको छ ।

‘लेखा परीक्षण गर्नेलाई समस्या थाहा नभएको होइन । तर, लेखा परीक्षकका कलम र हिसाव हेर्ने आँखामा पैसाको बिटोले पट्टी लगाइदिएपछि जे लेखे पनि भयो । अहिले सहकारीमा आएको समस्या त्यही कारण हो,’ एक सहकारीका लेखा परीक्षक भन्छन् ।

उनले अगाडि भने, ‘एउटा सहकारीमा ८ लाख रुपैयाँ नाफा रहेछ तर १ लाख नाफा राखियो र बाँकी रकम बाँडफाँट गरेको पाइयो । त्यो किन भयो भनेर हेर्दा ३ लाख, ४ लाख रुपैयाँ सेयर हाल्नेहरूलाई सेयर प्रतिशतको आधारमा लाभांश बाँड्न त्यसो गरिएको रहेछ,’ उनले भने ।

एक दशक अगाडिको कुरा सम्झदै एक लेखा परीक्षक भन्छन्, ‘डिभिजन सहकारी कार्यालयमा जिल्लाभरका सहकारी सञ्चालक फायल बोकेर आउँथे र कर्मचारीले लेखा परीक्षण रिपोर्ट बनाइदिन्थे । कर्मचारीले लेखा परीक्षण रिपोर्ट बनाए बापत मोटो रकम लिन्थे । उनीहरुको अनुगमन पनि हुँदैन थियो । तर, उनीहरु बाहेकले लेखा परीक्षण गरेको सहकारीलाई अनुगमनको नाममा दुःख दिइन्थ्यो ।’ तिनै सहकारी अहिले समस्याग्रस्त बन्दै गएको उनको भनाइ छ ।

मोरङमा अहिले पनि १ हजारभन्दा बढी सहकारी छन् । वास्तविक लेखा परीक्षकले फिल्डमै गएर १ सय सहकारी लेखा परीक्षण गर्लान् । तर, अरू सहकारीको लेखा परीक्षण सहकारी रजिष्ट्रार कार्यालय, सहकारी मन्त्रालय र सहकारी विभागका कर्मचारीको मिलेमतोमै भइरहेको जानकारहरु बताउँछन् ।

सञ्चालकले जे भन्यो, अडिटरले त्यही मान्ने प्रवृत्तिका कारण समस्या भएको हो । ३ वर्षभन्दा बढी समय लगातार एउटै संस्थाको अडिट एउटै अडिटरले गर्न नपाउने कानुनी व्यवस्था छ । तर, छद्म अडिट गरेकै कारण धेरै सहकारी बिग्रिएको ती लेखापरीक्षक बताउँछन् ।

लेखा परीक्षकले गलत रिपोर्ट दिएकै कारण समस्या भएको कुरामा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती पनि सहमत छन् । तर, मुख्य जिम्मेवार भने सहकारीका सञ्चालक नै रहेको उनको भनाइ छ ।

‘मुख्य समस्या सहकारी सञ्चालककै हो । तर, सहकारी सञ्चालकले गरेको कमजोरीलाई यो कमजोरी छ, यसले भविष्यमा यस्तो समस्या हुनसक्छ भनेर नबुझाउनु वा समस्या लुकाइदिनु लेखा परीक्षकको पनि समस्या हो,’ उनले भने, ‘लेखा परीक्षकले त्यसरी समस्या नलुकाउने र समस्या देखाउने हो भने धेरै हदसम्म सहकारीका समस्या समाधान हुन्छन् ।’

लेखा परीक्षकहरूको सिण्डिकेटकै कारण पनि सहकारीमा समस्या रहेको पूर्व सचिवसमेत रहेका सहकारी अभियन्ता गोपीनाथ मैनाली बताउँछन् । ‘सीमित मानिस स्वार्थसहित सहकारी क्षेत्रमा प्रवेश गरेको कारण समस्या भयो,’ उनले भने, ‘एउटै अडिटरले लामो समयदेखि एउटै सहकारीको लेखा परीक्षण गरिरहँदा पनि समस्या भएको पाएका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप