सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समान ज्याला

क्रिकेट खेलाडीको पारिश्रमिकमा विभेदको आरोप

क्यान भन्छ, ‘रहर होइन, हाम्रो पनि सीमा र बाध्यता छन्’
बुधबार, १६ फागुन २०८०, ११ : ३१
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को गत सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकले महिला तथा पुरुष खेलाडीको वर्गीकरणलाई अनुमोदन गर्दै केन्द्रीय सम्झौतामा अनुबन्धित खेलाडीहरूको पारिश्रमिक पनि निर्धारण गरेको छ । क्यानको कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीलाई पाँच–पाँच समूहमा विभाजन गरेको छ । सोही अनुरूप, खेलाडीको पारिश्रमिक पनि निर्धारण गरेको हो । 

तर, क्यानले सार्वजनिक गरेको पुरुष र महिला खेलाडीको पारिश्रमिकका भने निकै ठुलो अन्तर देखिन्छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडी मासिक एक लाख रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था गरिएको छ भने महिलातर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडी त्यसको आधा ५० हजार रुपैयाँ मात्र मासिक पारिश्रमिक पाउने निर्णय गरिएको छ ।

क्यानको उक्त निर्णय सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट महिला खेलाडीमाथि विभेद गरिएको टिप्पणी सार्वजनिक हुँदै आएका छन् । यस्तो टिप्पणी गर्नेमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि लिएर सामान्य क्रिकेटप्रेमीसमेत रहेका छन् ।

‘समान कामको लागि समान ज्याला । आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो ! नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा १८ समानताको हकको उपधारा (४) मा प्रष्ट लेखिएको छ ः समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन । अनि कसरी गर्न मिल्छ क्यानले पुरुष र महिला खेलाडीलाई यस्तो विभेद ? सेम ! सेम !!,’ पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा पोष्ट गरेका छन् ।

भट्टराईको ट्वीटमा थुप्रैले प्रतिक्रिया जनाएका छन् । धेरैले उनको टिप्पणीप्रति सकारात्मक धारणा राखेका छन् । कतिपयले पुरुष र महिला खेलाडीको विभेदकारी तलबमान तत्काल सच्याउन क्यानसँग माग पनि गरेका छन् ।

यस्तै एक सामाजिक सञ्जाल प्रयोगकर्ता सरीताले लेखेकी छन्, ‘पुरुष र महिला खेलाडीको विभेदकारी तालबमान ! महिलालाई तिमीहरु दोस्रो दर्जाकै हौ भनेर यसरी विभेद गर्ने नेपाल क्रिकेट संघको यस्तो अलोकतान्त्रिक निर्णय तुरुन्तै खारेज गर ! महिला र पुरुष खेलाडीको तलब, सुविधा बराबर बनाऊ !’

423455233_323104890261702_86823812288887392_n

क्यान बैठकले पुरुषतर्फ ३० र महिलातर्फ १९ जना खेलाडीको वर्गीकरणलाई अनुमोदन गरेको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् ।

ग्रेड ‘बी’ मा कुशल मल्ल, गलशन झा, भीम सार्की, ललित राजवंशी, आरिफ शेख र अविनाश बोहरा रहेका छन् । पुरुषतर्फ ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी रहेका छन् । ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् ।

पुरुषकै इमर्जिङतर्फ कोशी प्रदेशका दिपेश कँडेल, मधेश प्रदेशका रुपेश सिंह, बागमती प्रदेशका रिजन ढकाल, गण्डकी प्रदेशका विपिन खत्री, लुम्बिनी प्रदेशका देव खनाल, कर्णाली प्रदेशका अर्जुन घर्ती र सुदूरपश्चिम प्रदेशका हेमन्त धामी रहेका छन् ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीलाई मासिक एक लाख, ग्रेड ‘बी’ मा रहेका खेलाडीलाई मासिक ७० हजार, ग्रेड ‘सी’ मा रहेका खेलाडीलाई मासिक ५५ हजार, ग्रेड ‘डी’ मा रहेका खेलाडीलाई मासिक ३५ हजार र इमर्जिङ खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि क्यानले लिएको छ ।

यो हाम्रो रहर होइन, बाध्यता हो । महिला र पुरुष खेलाडीको पारिश्रमिक समान बनाउने विषयमा हामीले पनि छलफल गरिरहेका छौँ । अवस्था सधैँ यस्तो नरहने विश्वास पनि दिलाउन चाहन्छौँ ।

यसैगरी महिलातर्फ ग्रेड ‘ए’ मा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता रानामगर रहेका छन् । ग्रेड ‘बी’ मा कविता कुँवर छिन् । ग्रेड ‘सी’ मा पूजा महतो र अश्मिना कर्माचार्य छन् । ग्रेड ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र बिन्दू रावल छन् । इमर्जिङ समूहमा सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबी पोदार, सृष्टी जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन रहेका छन् ।

महिलातर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ५० हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले मासिक ३५ हजार, ग्रेड ‘सी’ मा रहेका खेलाडीले मासिक ३० हजार, ग्रेड ‘डी’ मा रहेका खेलाडीले मासिक २५ हजार र इमर्जिङ समूहमा रहेका खेलाडीले मासिक २० हजार पारिश्रमिक पाउने निर्णय पनि क्यानले गरेको छ ।

श्रम ऐन–२०७४ को दफा ७ को उपदफा (१) मा भनिएको छ, ‘लिङ्गको आधारमा श्रमिकबिच समान मूल्यको काम (इक्वल भ्यालु अफ वर्क) को लागि पारिश्रमिकमा भेदभाव गर्न हुँदैन ।’ तर सोही दफाको उपदफा (२) मा भनिएको छ, ‘उपदफा (१) को प्रयोजनको लागि समान मूल्यको काम हो होइन भन्ने कुरा सम्बन्धित कामको प्रकृति, काम गर्न लाग्ने समय र परिश्रम, सीप तथा कामबाट प्राप्त हुने उत्पादनको आधारमा निर्धारण गरिने छ ।’

क्यानले भने विभिन्न मापदण्डका आधारमा खेलाडीको पारिश्रमिक निर्धारण गरिएको तथा महिला र पुरुष खेलाडीबिच विभेद गर्ने कुनै सोच नरहेको दाबी गरेको छ । क्यानले आफ्ना लागि देशको प्रतिष्ठा बढाउने हरेक खेलाडीको महत्त्व समान रहेको दाबी गरेको छ ।

‘क्यानले पुरुष र महिला खेलाडीले खेल्ने प्रतियोगिता र अन्तर्राष्ट्रिय वरीयताका आधारमा खेलाडीको पारिश्रमिक निर्धारण गरेको हो । अहिलेको अवस्थामा महिला खेलाडीको तुलनामा पुरुष खेलाडीले बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने हुन्छ । आईसीसीको वरीयताले पनि यसमा भूमिका खेल्छ । हाम्रा लागि सबै खेलाडी समान हुन् । महिला र पुरुष खेलाडीबिच विभेद गर्ने हाम्रो कुनै नीति छैन,’ क्यानका केन्द्रीय सदस्य सुदीप शर्मा भन्छन् ।

यसका अतिरिक्त आईसीसीले पठाउने अनुदानले पनि खेलाडीको पारिश्रमिकमा फरक पार्ने उनको दाबी छ । ‘खेलाडीको पारिश्रमिक निर्धारण गर्दा हामीले आईसीसीबाट प्राप्त हुने अनुदान रकमको सीमाभित्र पनि बस्नुपर्ने हुन्छ । आईसीसीबाट बजेट नै सोही अनुरूप पठाइएको हुन्छ । यो हाम्रो रहर होइन, बाध्यता हो । महिला र पुरुष खेलाडीको पारिश्रमिक समान बनाउने विषयमा हामीले पनि छलफल गरिरहेका छौँ । अवस्था सधैँ यस्तो नरहने विश्वास पनि दिलाउन चाहन्छौँ,’ शर्मा भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप