शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

क्यानद्वारा खेलाडीको वर्गीकरण अनुमोदन, सबैभन्दा बढी पारिश्रमिक पाउनेमा रोहितदेखि आसिफसम्म

सोमबार, १४ फागुन २०८०, १५ : १०
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । सेन्ट्रल कनट्र्याक्टमा रहने महिला तथा पुरुष क्रिकेट खेलाडीहरूको वर्गीकरणलाई अनुमोदन गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) केन्द्रीय समितिको तीन दिने बैठक सोमबार सम्पन्न भएको छ । क्यान बैठकले पुरुषतर्फ ३० र महिलातर्फ १९ जना खेलाडीको वर्गीकरणलाई अनुमोदन गरेको छ । क्यानका अनुसार, पुरुषतर्फ ग्रेड ‘ए’ मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् ।

पुरुषतर्फ ग्रेड ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित राजवंशी, आरिफ शेख र अविनाश बोहरा रहेका छन् । पुरुषतर्फ ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी रहेका छन् ।

यसैगरी पुरुषतर्फ ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् । इमर्जिङतर्फ कोशी प्रदेशका दिपेश कँडेल, मधेश प्रदेशका रुपेश सिंह, बागमती प्रदेशका रिजन ढकाल, गण्डकी प्रदेशका विपिन खत्री, लुम्बिनी प्रदेशका देव खनाल, कर्णाली प्रदेशका अर्जुन घर्ती र सुदूरपश्चिम प्रदेशका हेमन्त धामी रहेका छन् ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीलाई मासिक एक लाख, ग्रेड ‘बी’ मा रहेका खेलाडीलाई मासिक ७० हजार, ग्रेड ‘सी’ मा रहेका खेलाडीलाई मासिक ५५ हजार, ग्रेड ‘डी’ मा रहेका खेलाडीलाई मासिक ३५ हजार र इमर्जिङ खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि क्यानले लिएको छ ।

यसैगरी महिलातर्फ ग्रेड ‘ए’ मा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता रानामगर रहेका छन् । ग्रेड ‘बी’ मा कविता कुँवर छिन् । ग्रेड ‘सी’ मा पूजा महतो र अश्मिना कर्माचार्य रहेका छन् । ग्रेड ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र बिन्दू रावल रहेका छन् ।

महिलातर्फ इमर्जिङ समूहमा सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबी पोदार, सृष्टी जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन रहेका छन् ।

महिलातर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ५० हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले मासिक ३५ हजार, ग्रेड ‘सी’ मा रहेका खेलाडीले मासिक ३० हजार, ग्रेड ‘डी’ मा रहेका खेलाडीले मासिक २५ हजार र इमर्जिङ समूहमा रहेका खेलाडीले मासिक २० हजार पारिश्रमिक पाउने निर्णय पनि क्यानले गरेको छ ।

यसैगरी क्यानको बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजकमा मनोनयन गर्ने निर्णय पनि लिएको छ । बैठकले विक्रम विष्टलाई प्राविधिक समितिको संयोजक, धिरेन्द्र सावदलाई विकास समितिको संयोजक र प्रदिप मजगैयालाई महिला क्रिकेट विकास समितिको संयोजकमा मनोनयन गर्ने निर्णय लिएको छ ।

यसैगरी बैठकले नेपाल ‘ए’ टिमको मुख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई र प्रशिक्षकमा पूर्वअन्तर्राष्ट्रिय खेलाडी कलाम अलीलाइै नियुक्त गर्ने निर्णय पनि गरेको छ । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार, बैठकले यू–१९ टोलीको प्रशिक्षकको जिम्मेवारी महेशप्रसाद रिजाललाई दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले उमेर समूहको प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको (यू–१९ र यू–१६) उमेर पहिचानका लागि विभिन्न मापदण्ड बनाई कडाइका साथ लागू गर्ने निर्णय पनि गरेको छ । बैठकले नेपालमा आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकप प्रतियोगिता–२०२७ को तयारीका लागि मिसन–२०२७ अन्तर्गत यू–१६ महिला अन्तर स्कुल क्रिकेट प्रतिभा पहिचान एवं प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गर्ने निर्णय पनि लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप