बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एप्पलले बन्द गर्‍यो विद्युतीय कारकाे काम

बुधबार, १६ फागुन २०८०, १४ : ३०
बुधबार, १६ फागुन २०८०

क्यालिफोनिर्या । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल इंक एक दशकदेखि विद्युतीय कार बनाउन लागि परेको थियो । यो कम्पनीको इतिहासको सबैभन्दा महत्वकांक्षी परियोजनाहरुमध्ये एक थियो । तर अहिले आएर कम्पनीले यो परियोजना त्यागेको छ । 

कम्पनीले यस परियोजनामा काम गरिरहेका कर्मचारीहरूलाई परियोजना बन्द गर्न लागिएको जानकारी आन्तरिक रुपमा गराएको भन्दै अज्ञात स्रोतलाई उद्धृत गरेर ब्लुम्बर्गले समाचार छापेको छ ।

यस परियोजनामा करिब २ हजार कर्मचारी कार्यरत छन् । कर्मचारीहरूलाई यो जानकारी परियोजनाका जिम्मा पाएका कम्पनीको सीओओ जेफ विलियम्स र केभिन लिञ्चले गराएका थिए । कम्पनीले यो परियोजनाका कार्यरत कर्मचारीहरूको संख्या घटाउने र कयौँ कर्मचारीलाई कृत्रिम बौद्धिकता एकाईमा सार्ने बताइएको छ । यो परियोजनामा सयौंको संख्यामा हार्डवेयर इञ्जिनियर र कार डिजाइनरहरू पनि छन् । यिनीहरूलाई पनि एप्पलका अन्य टिममा सरुवा गर्न सकिने बताइएको छ ।

कति कर्मचारी कटौती हुन्छ भन्ने चाहिँ स्पष्ट छैन । यस मामिलामा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन । एप्पलले सन् २०१४ देखि विद्युतीय कार बनाउन अर्बौँ डलर लगानी गरिरहेको थियो । 

एप्पलका अधिकांश वरिष्ठ अधिकारीहरूले परियोजना बन्द गर्ने निर्णय हालैका हप्ताहरूमा गरेको स्रोतले बताएको छ । यसको आधिकारिक घोषणा हुन बाँकी छ । कम्पनीले बनाउने कार निकै महँगो हुने देखिएको थियो । एप्पलका अधिकांश प्रडक्टको प्रोफिट मार्जिन यसमा नपाइने देखिएपछि कम्पनीले यस्तो निर्णय गरेको विश्लेषण गर्न थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप