सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभा अध्यक्षमा कांग्रेस–माओवादीको रस्साकस्सी : एकीकृत समाजवादी र जसपा कसको पक्षमा ?

शुक्रबार, १८ फागुन २०८०, १८ : १५
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष पदका लागि सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच रस्साकस्सी देखिएको छ । माओवादी केन्द्रले स्थायी समिति बैठकबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ भने कांग्रेसमा राष्ट्रियसभा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आन्तरिक तयारी थालेको छ ।

उनीहरूको रस्साकस्सीले प्रमुख सत्ता साझेदार जनता समाज पार्टी र नेकपा एकीकृत समाजवादीमा चिन्ता र चासो बढेको छ । गठबन्धनको भविष्यमाथि सङ्कट उत्पन्न हुन नदिन जसपा र एकीकृत समाजवादी मध्यस्थकर्ताको भूमिकामा देखिएका छन् । राष्ट्रियसभा अध्यक्षमा जसपा र एकीकृत समाजवादी निर्णायक शक्तिका रूपमा रहेका छन् ।

फागुन २९ मा राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने भए पनि गठबन्धनभित्र औपचारिक छलफल भने भएको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनको बैठक बस्दा राष्ट्रियसभा अध्यक्षको विषय सहजै टुङ्गिने बताए ।

‘गठबन्धनको बैठक बसेको छैन । बाहिर आएजस्तो कांग्रेस र माओवादीबिच त्यस्तो रस्साकस्सी होला जस्तो लाग्दैन । गठबन्धन इमानदारिता र विश्वासको आधारमा चल्ने हो ,’ उनले भने , ‘कांग्रेस र माओवादीका बिचमा यसअघि भएको कुरामा उहाँहरू इमानदार बन्नुपर्छ ।’

गठबन्धनमा अविश्वासको सङ्कट देखिएको हो भन्ने प्रश्नमा यादवले भने, ‘कुन दिन नेपालको राजनीतिमा सङ्कट थिएन ? दुई—तिहाइको, तीन चौथाइको सरकार हुँदा पनि संकटै देखियो । यो सङ्कटको ग्रहण नेपालको राजनीतिबाट कहिले हट्ने हो । हामी पनि हैरान छौँ ।’

यतिबेला वर्तमान सत्ता गठबन्धन जोगाउन माओवादी र कांग्रेसले कम्प्रोमाइज गरेर जानुपर्ने उनको भनाइ छ । ‘गठबन्धनमा हरेक कुराको छलफल हुनुपर्छ । एक अर्काको भावना बुझ्नुपर्छ  । सामुहिक निर्णय गर्नुपर्छ । हामीले गठबन्धनको साझा उम्मेदवार बनाएर जाऔँ भन्नेमा छौँ,’ यादवले भने, ‘कम्प्रोमाइज गरेर जानुपर्छ । दुवैले कम्प्रोमाईज गर्नुपर्छ । त्यसमा सरकारको नेतृत्व गरेकाले माओवादी बढी जिम्मेवार बन्नुपर्छ ।’

यस्तै एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रियसभा निर्वाचनअघि नै सिटौलालाई अध्यक्ष बनाउने सहमतिमा नयाँ कुरा गर्न नहुने बताए । ‘राष्ट्रियसभा अध्यक्ष माग्न त हामीले पनि मागेका छौँ । कांग्रेस र माओवादीमा एकले अर्कालाई दिन गाह्रो भयो भने हामीलाई दिनुहोस् भनेका छौँ । सिटौलाजीलाई राष्ट्रियसभामा लैजानु पूर्व प्रचण्ड, शेरबहादुर, माधव नेपालबिचको सहमतिमा आज नयाँ कुरा ल्याउनुहुँदैन,’ उनले भने ।

राष्ट्रियसभा अध्यक्षमा माओवादीले बार्गेनिङ लागि मात्र दाबी गरेको उपाध्यक्ष पाण्डेको बुझाइ छ । ‘सहमति अनुसार शेरबहादुर देउवा तयार नहुँदा गत वर्ष पुस १० मा कोर्स नै अर्कैतिर गएको थियो । नयाँ कुरा गर्न खोज्दा यो पनि त्यस्तै हुन सक्छ ,’ उनले भने, ‘तर, राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी बार्गेनिङ मात्रै होला जस्तो लाग्छ । गठबन्धनभित्र छलफल हुँदा सिटौलाको नाममा माओवादीले ठुलो विमति राख्छ जस्तो लाग्दैन ।’

पाण्डेका अनुसार प्रधानमन्त्रीले संवैधानिक परिषदमा माओवादीको उपस्थिति गराउन राष्ट्रियसभा अध्यक्षमा दाबी गर्नुपर्ने दबाब पार्टीबाट आएको बुधवारको भेटमा एकीकृत समाजवादीका नेताहरूलाई सुनाएका थिए ।  ‘मेरो पार्टीका साथीहरूले एउटा संवैधानिक पद हामीले पाउनै प-यो नि भन्ने कुरा छ । साथीहरूले दबाब बढाइराखेका छन् । यस्तै छ भन्नुभएको थियो,’ पाण्डेले भने । तर, आफूहरूले राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा शीर्ष तहमा भएको सहमति पालना गरेर जाँदा राम्रो हुने सुझाव दिएको उनको भनाइ छ ।

 ‘कांग्रेस गठबन्धनको संस्कृति विकास गरेर जानुप-यो । गठबन्धन अफाप भएको हो भने छोडेर बाहिर निस्किनुप-यो । विशिष्ट परिस्थितिमा बनेको गठबन्धनप्रति सबै प्रतिबद्ध हुनुपर्छ ,’ उनले भने ।

 प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रियसभा निर्वाचनअघि सिटौलाका सन्दर्भमा जनाएको सहमतिबाट ब्याक हुने संकेत देखाएका छन् । पछिल्लो समय भिन्न राजनीतिक घटनाक्रमको विकास भएको भन्दै माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष उम्मेदवार गराउने निर्णय गरेको  प्रधानमन्त्री प्रचण्डको भनाइ छ  ।

‘घटनाक्रम भिन्न ढङ्गले तरिकाले अघि बढेको छ,’ बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग प्रधानमन्त्री प्रचण्डले भनेका थिए ,‘त्यो परिस्थितिमा सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको भूमिका, संविधान निर्माण प्रक्रियामा खेलेको सकारात्मक भूमिकाको पृष्ठभूमिमा यदि सिटौलाजी आउने हो भने सकारात्मक ढङ्गले सोच्न सकिन्छ भनेकै हो ।’

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनको परिणाम, कांग्रेस महासमिति बैठकमा उठेको गठबन्धनको विषय, सशस्त्र द्धन्द्ध र हिन्दु राष्ट्रको एजेन्डामाथिको छलफलले माओवादी आक्रोशित बनेको प्रचण्डको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

 माघ ११ मा भएको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस उम्मेदवार सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी चम्वादेवी कार्की पराजित भएकी थिइन् । कांग्रेसको बेइमानीका कारण आफ्नो उम्मेदवार पराजित भएको माओवादीको निष्कर्ष छ ।यहीबिच महासमिति बैठकका क्रममा कांग्रेसका गतिविधिले झस्किएको माओवादी राष्ट्रियसभा अध्यक्ष दाबी गर्ने ठाउँमा पुगेको नेताहरू बताउँछन् ।

यद्यपि माओवादीले स्थायी समिति बैठकबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिखितै रूपमा भने गरेको छैन। यता कांग्रेस सभापति शेरबहादुर देउवा भने सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन गठबन्धनमा समस्या नहुनेमा विश्वस्त छन् । 

उपसभापति र महामन्त्रीसँग बुधवारको छलफलमा देउवाले राष्ट्रियसभा अध्यक्षको दाबीबाट माओवादी ब्याक नहुने ब्रिफिङ गरेका थिए । 

कांग्रेस महामन्त्री गगन थापाले सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने कुरामा कुनै अलमल नरहेको दाबी गरे । ‘राष्ट्रियसभा अध्यक्ष सिटौलालाई बनाउने हो भन्ने कुरा प्रचण्ड आफैले हामीहरू भएको बैठकमा भन्नु भएको छ । त्यहाँ माधव नेपाल र उपेन्द्र यादव पनि हुनुहुन्थ्यो । प्रचण्डले शेखर कोइरालालाई बोलाएर पनि भन्नु भएको छ । सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने कुरामा अलमल छैन,’ उनले रातोपाटीसँग भने । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप