बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

यूएईमा घरेलु कामदार पठाउन सरकारले लगाएको प्रतिबन्ध हटाउने तयारी

पाइलट प्रोजेक्टको रूपमा ५ हजार श्रमिक पठाइने
शनिबार, १९ फागुन २०८०, ०६ : ४३
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । संयुक्त अरब ईमिरेट्स (यूएई) मा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गरिने भएको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त प्रतिबन्ध फुकुवा गरेर घरेलु कामदार पठाउने तयारी गरेको हो ।

त्यसका लागि दुवै देशका अधिकारी बिचको छलफल अन्तिम चरणमा पुगेको छ । केही दिनमै यूएईमा घरेलु कामदारका रूपमा नेपालीलाई पठाउन थालिने श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताए ।

यूएईसँग सन् २०१९ मा घरेलु कामदार पठाउने सम्बन्धी सहमति भए पनि नेपालले हालसम्म पठाउन सकेको छैन । यूएईले घरेलु कामदार पठाउन नेपाललाई बारम्बार ताकेता गर्दै आएको थियो ।

नेपालमा २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लागेको थियो । संसदले नै सरकारलाई घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा पठाउन रोक लगाउन निर्देशन दिएको थियो । सोही आधारमा सरकारले घरेलु कामदारको रूपमा श्रमिक पठाउन रोक लगाएको थियो ।

यो बिचमा संसदीय समितिले कामदारको सुरक्षा प्रत्याभूति हुने गरी सम्झौता गरेर घरेलु कामदार पठाउन सकिने व्यवस्था गरेको थियो । सोही आधारमा जोर्डन, साईप्रस लगायतका देशमा सम्झौता गरेर घरेलु कामदार पठाउने गरिएको छ ।

सन् २०१९ मा यूएईसँग गरेको समझदारी भने बल्ल कार्यान्वयनको चरणमा आइपुगेको हो । केही समय अगाडि यूएईको अवुधावीमा ‘अवुधावी डायलग’ आयोजना भएको थियो । उक्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसहितका नेपाली अधिकारी र यूएईका अधिकारीहरूबिच ‘साइडलाइन मिटिङ’ भएको थियो । उक्त बैठकमा यूएईले घरेलु कामदार पठाउने विषयलाई प्राथमिकताका साथ उठाएको थियो । श्रमिकको सुरक्षा ग्यारेन्टीदेखि सिप सिकाउनेसम्ममा प्रतिबद्धता यूएईले जनाउँदै आएको प्रवक्ता पोखरेलले बताए ।

नेपालले घरेलु कामदार पठाउने विषयमा विभिन्न सर्तहरू अघि सारेको छ । नेपालले कामदारको सुरक्षा ग्यारेन्टी, बेसिक सेलरी लगायतका विषयमा प्रतिबद्धता मागेकोमा यूएई सरकार सहमत देखिएको छ ।

यूएईले महिला घरेलु कामदारको रूपमा ल्याउन गर्नुपर्ने सबै काम आफूले गर्ने बताउँदै आएको छ । ‘यूएईमा किन रोकिएको छ, खोल्नुपर्छ भनेर यूएई सरकारले पटक पटक अनुरोध गरेको थियो । उक्त अनुरोधमा हामीले केही बेसिक कुराहरू हुनुपर्छ भनेपछि त्यसमा यूएई सरकार सहमत भएको छ । अब एउटा मोडलमा काम गर्ने भन्ने भएको छ । त्यसपछि खुला हुन्छ,’ प्रवक्ता पोखरेलले भने ।

अवुधावी डायलगमा समेत उक्त कुरा उठेपछि अहिले कुन मोडलमा काम गर्ने भन्ने विषयमा एउटा ड्राफ्ट बनेको उनको भनाइ छ । त्यसलाई अन्तिम रुप दिएपछि कामदार पठाउने प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

नेपालले घरेलु कामदार पठाउने विषयमा विभिन्न सर्तहरू अघि सारेको छ । नेपालले कामदारको सुरक्षा ग्यारेन्टी, बेसिक सेलरी लगायतका विषयमा प्रतिबद्धता मागेकोमा यूएई सरकार सहमत देखिएको छ ।

‘हामीले मुख्यतया बेसिक सेलरीको कुरा, वर्किङ आवरका कुरा, बस्ने होस्टेलका कुरा, राइट टु कम्युनिकेशनका कुरा लगायतका विषय उठान गरेका छौँ । त्यसका लागि यूएईबाट ड्राफ्ट आएको छ । हामीले हाम्रा कुरा राखेर पठाउँछौँ । अनि फाइनल हुन्छ,’ प्रवक्ता पोखरेलले भने । 

यूएई सरकारले इजाजत दिएका कम्पनीहरूमार्फत श्रमिक लगिनेछ । पाइलट प्रोजेक्टको रूपमा ५ हजारको हाराहारीमा नेपाली श्रमिक पठाउन सकिने प्रवक्ता राजीव पोखरेलको भनाइ छ ।

घरेलु कामदारको रूपमा पठाइने श्रमिकलाई तालिम, सिप तथा भाषा अनिवार्य गरिनेछ । त्यसका लागि नेपालमै एक महिनाको अनिवार्य तालिम दिइनेछ । तालिम दिएर दक्ष बनेपछि मात्रै पठाइने उनको भनाइ छ । तालिम दिँदा लाग्ने सम्पूर्ण खर्च समेत यूएई सरकारले नै बेहोर्ने भनिएको छ ।

सिप र भाषाको हकमा यूएईकै मापदण्ड अनुसारको हुने जनाइएको छ । यूएईले भारत, बंगलादेश, श्रीलंका लगायतका अन्य देशबाट समेत घरेलु कामदार लग्दै आएको छ ।

यूएई सरकारले इजाजत दिएका कम्पनीहरूमार्फत श्रमिक लगिनेछ । पाइलट प्रोजेक्टको रूपमा ५ हजारको हाराहारीमा नेपाली श्रमिक पठाउन सकिने प्रवक्ता पोखरेलको भनाइ छ ।

निर्देशिका अनुसार पठाइने छन् कामदार

घरेलु कामदारको रूपमा पठाउन २०७२ सालमा सरकारले ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ बनाएको थियो । उक्त निर्देशिका अनुसार कुनै पनि मुलुकमा घरेलु कामदार पठाउन सम्झौता गर्नुपर्ने भन्ने छ । त्यसका लागि नेपालमा इजाजतपत्र प्राप्त कम्पनीले सम्बन्धित देशमा रहेको इजाजतपत्र प्राप्त कम्पनीसँग सम्झौता गरेको हुनुपर्छ ।

सोही आधारमा नेपालमा घरेलु कामदार पठाउन १५ वटा मेनपावर व्यवसायीसँग लाइसेन्स छ । ती व्यवसायीले २५ लाख रूपैयाँ धरौटी तिरेका थिए ।

घरेलु कामदार सरोकार समाजका अध्यक्ष किसन प्रधानका अनुसार दुवै देशका व्यवसायी बिचको सहकार्यमा नेपालबाट घरेलु कामदार पठाउँदै आएको छ । जोर्डन, साइप्रस लगायतका देशमा सोही निर्देशिका अनुसार कामदार पठाउने गरेको उनको भनाइ छ ।

सम्बन्धित देशमा रहेका कम्पनीले कामदारको डिमाण्ड नेपालका मेनपावर व्यवसायीलाई पठाउँछन् । त्यही आधारमा नेपालका व्यवसायीले घरेलु कामदार पठाउने गरेका छन् । नेपालमा आवेदन दिनेहरूलाई एक महिनाको तालिम दिइन्छ । हाल सम्झौता गरेर पठाउने गरेको देशमा कुनै समस्या नआएको व्यवसायीहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप