आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटन

नेपाल घुम्न विदेशी पर्यटकको ओइरो, दुई महिनामै भित्रिए १ लाख ७६ हजार

सबैभन्दा धेरै पर्यटक भारतबाट, पछ्याउँदै चिनियाँ
शनिबार, १९ फागुन २०८०, २२ : २०
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । सन् २०२४ को सुरुदेखि नै नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपाल घुम्ने लक्ष्यसहित हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या यो वर्षको पहिलो महिनादेखि नै बढ्दो स्थितिमा छ । गत वर्ष सन् २०२३ को जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

यो वर्ष २०२४ को जनवरी र फेब्रुअरीमा मात्रै १ लाख ७६ हजार ५२६  विदेशी नेपाल आइसकेका छन् ।

२०२४ को फेब्रुअरी महिनामा ९७ हजार ४२६ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन विभाग (हवाई माध्यम) मार्फत नेपाल घुम्न आएका हुन् ।

बोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको फेब्रुअरीमा २४ हजार १७१ जना बढी पर्यटक नेपाल आएका हुन् । अघिल्लो वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ जना विदेशी नागरिक हवाई माध्यमबाट नेपाल भित्रिएका थिए ।

यस्तै, सन् २०२४ को जनवरी महिनामा विदेशबाट नेपाल घुम्नका लागि ७९ हजार १०० जना आए । जबकि, सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना मात्रै विदेशी नेपाल घुम्न आएका थिए । यो २०२३ को जनवरीको तुलनामा २४ हजारले बढी हो । स्थलमार्ग हुँदै नेपाल आउनेको सङ्ख्या यसमा जोडिएको छैन ।

यो तथ्याङ्कले कोरोना महामारीको वर्षदेखि घट्न थालेको नेपालको पर्यटन बजार पुनः लयमा फर्कन थालेको देखिन्छ ।

image (1)

  • कुन देशबाट कति पर्यटक ?

नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्याको शीर्ष स्थानमा दक्षिण छिमेकी भारत छ । भारतबाट मात्रै यो दुई महिनामा ५० हजार पर्यटक नेपाल आएका छन् । भारतबाट धेरैजसो धार्मिक पर्यटक नेपाल भित्रने गर्छन् । उनीहरू नेपालको लुम्बिनी, मुक्तिनाथ, पोखरा, पशुपतिनाथ लगायतका धार्मिकस्थलको दर्शन गर्ने लक्ष्यसहित आउँछन् । यस बाहके नेपालको पहाडी र हिमाली क्षेत्रले समेत भारतीय पर्यटकलाई लोभ्याउँदै आएको छ ।

यसपछि, १६हजार ४४७ जना पर्यटक चीनबाट आएका छन् । जनवरी र फेब्रुअरी महिनामा नेपाल भित्रने धेरै पर्यटकको सङ्ख्याको दोस्रो स्थानमा चिनियाँ छन् । तर, चीन र भारतबिचको पर्यटकको भिन्नता भने फराकिलो छ । यस्तै, धेरै पर्यटक भित्रिने मुलुकको सूचीको तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट यस अवधिमा १६ हजार १३६ जना पर्यटक भित्रिएका छन् ।

हालसम्मको अवधिमा चीन र अमेरिकाबाट भित्रने पर्यटकको सङ्ख्या उस्ताउस्तै छ । यसपछि थाइल्याण्डबाट दुई महिनाको अवधिमा ९ हजार ४१८ जना पर्यटक नेपाल भित्रिएका छन् । थाइल्याण्डबाट विशेष गरी नेपालको लुम्बिनी भ्रमणमा पर्यटक आउने गर्छन् । यस्तै, संयुक्त अधिराज्यबाट ८ हजार पर्यटक आउँदा बंगलादेशबाट ७ हजार ७०० पर्यटक नेपाल आएका छन् ।

अस्ट्रेलियाबाट ६ हजार, दक्षिण कोरियाबाट ३ हजार ८००, भुटानबाट २ हजार २२९, जापानबाट १ हजार ५६८ जना भित्रिएका छन् । यस्तै, म्यानमारबाट ३ हजार, जर्मनीबाट २ हजार ५०० जना पर्यटक घुम्नका लागि नेपाल आएका छन् ।

  • सन् २०२३ मै भित्रिएका थिए १० लाख पर्यटक

सार्वजनिक भइरहेका पछिल्ला तथ्याङ्क नेपालको पर्यटन व्यवसाय र व्यवसायीको पक्षमा छ । सन् २०२३ भरमा १० लाखभन्दा धेरै विदेशी नेपाल घुम्नका लागि आएका थिए । सरकारले सन् २०१९ मा फैलिएको महामारीपछि पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सन् २०२३ मा १० लाखभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । जुन, लक्ष्य पुरा भइसकेको छ ।

सन् २०१९ मा विश्वभरबाट १२ लाखभन्दा धेरै पर्यटक नेपाल आएका थिए । तर, भ्रमण वर्ष २०२० अघि नै विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ध्वस्त बन्यो । तर, यतिबेला पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको तथ्याङ्कहरूले देखाएको छ । सन् २०१९ पछि गत वर्ष पहिलो पटक १० लाख पर्यटक नेपाल भित्रेका थिए । तर, २०२४ को जनवरी र फेब्रुअरीमा सन् २०२३ को तुलनामा अत्यधिक पर्यटक आइरहेका छन् । यो दुई महिनामा मात्रै १ लाख ७६ हजारभन्दा बढी पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।

  • बन्दै पर्यटन पूर्वाधार

विदेशी पर्यटकलाई तान्नका लागि विमानस्थलपछि चाहिने सबैभन्दा महत्त्वपूर्ण पूर्वाधारका रूपमा होटल चाहिन्छ । तर, नेपालमा यतिबेला झन्डै १८० भन्दा बढी तारे होटल सञ्चालनमा रहेको पर्यटन विभागको तथ्याङ्क छ । यी सबै होटलमा गरी ११ हजारभन्दा बढी कोठा छन् । नेपालमा पहिलो पटक सन् २०२९ मा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो ।

सोल्टी होटल स्थापनाको ५१ वर्षको अवधिमा नै उल्लेख्यरुपमा नेपालमा होटल स्थापना भइसकेका छन् । नेपालमा स्वदेशी र विदेशी लगानीमा स्तरीय होटल स्थापनामा हुनुको पछाडि ‘भ्रमण वर्ष २०२०’को महत्त्वपूर्ण भूमिका पाइन्छ । भ्रमण वर्ष घोषणा भएपछि उल्लेख्य मात्रामा विदेशी चेन होटल स्थापनाको लहर चल्यो । नेपालमा सञ्चालनमा रहेकामध्ये पछिल्लो २ वर्षको अवधिमा नै करिब १०० होटल सञ्चालन र सञ्चालनको तयारीमा रहेको विभागको तथ्याङ्क छ ।

सरोकारवालाहरूको अनुसार नेपालको पर्यटन पूर्वाधारले प्रतिवर्ष ३० लाख पर्यटकको आवागमन धान्न सक्छ । होटल संघ नेपालको तथ्यांकअनुसार नेपालमा सञ्चालित सबै होटल र होमस्टे गरी प्रतिवर्ष ३० लाख पर्यटक धान्ने पूर्वाधार तयार भए पनि यसको ५० प्रतिशत क्षमतामा मात्रै पर्यटक पर्यटक भित्रिन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप