शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा

सोमबार, २८ फागुन २०८०, १२ : ४७
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । कथालयले कृषा ताम्राकारको बाल चित्रपुस्तक ‘म उड्न सकेँ’  तथा “I wish I could Fly” बजारमा ल्याएको छ । पुस्तकमा पन्छीजस्तै बनेर स्वतन्त्र भई आकाशमा उड्न चाहने एक जिज्ञासु बालकलाई मुख्य पात्र बनाइएको छ । पुस्तकका सबै चित्र लेखक ताम्राकारले नै बनाएकी हुन् ।

आमाबाले खुसी बनाउन खोजे पनि रोइरहने सानो बालक भने चरीजस्तै बन्न चाहन्छ । ‘मलाई चरीजस्तै बनाइदिनु’ भन्दै ऊ अभिभावकसामु गनगन गरिरहन्छ । तर, मान्छे चरीझैँ कसरी उड्न सक्छ र ! आकाशमा चरी उडेको देखेर एक दिन ऊ दुई हात फैलाउँदै चिरबिर गर्दै पछ्याउँदै दगुर्दै जान्छ । यत्तिकैमा ऊ बाबाजीले तपस्या गरिरहेको ठाउँमा पुग्छ । चरीजस्तै बन्ने तीव्र हुटहुटीले लखेटेको बालकले आफूलाई चरीजस्तै बनाइदिन बाबाजीसामु आग्रह गर्छ । बाबाजी मन्त्र जप्न थाल्छन् । जब एक छिनपछि आँखा खोल्छन्, उनी आफै छक्क पर्छन् । 

के बाबाजीले उसको इच्छा पूरा गरे होलान् ? बालक आकाशमा स्वच्छन्द उड्ने चरी बन्यो होला त ? कथा आश्चर्यजनक ढङ्गले अघि बढ्छ । कथालाई लयबद्ध रूपमा प्रस्तुत गरिएकाले लय हाल्दै वाचन गर्न र अभिनय गर्दै पढ्न पनि सकिन्छ । पुस्तकमा समाविष्ट चित्र पनि निकै आकर्षक छन् । 

लेखक कृषा ताम्राकार भन्छिन्, ‘मेरो कथाको अन्त्य पाठकको सुरुवात हो’ त्यसमा मलाई खुसी लाग्छ । ‘म उड्न सकेँ’ लेखक र चित्रकारको रूपमा उनको पहिलो पुस्तक हो । तर यस भन्दा पहिला ‘य:मरि’ लगायत उनका अरू दुई चित्र पुस्तकहरू प्रकाशित छन् । यस बाहेक, उनले आफ्नो कलात्मक प्रतिभा धेरै चित्र पुस्तकहरूमा दिएकी छिन् । उनी बालबालिकालाई चित्रकला पनि सिकाउँछिन्  ।

पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित छन् I  यस पुस्तकको नेपाली अनुवाद कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले गरेकी हुन् भने, सम्पादन चर्चित कवी विप्लव प्रतीकले गरेका हुन् । 

यो चित्रकथा पाँच वर्षमाथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकमाथि छलफल गर्न तथा सात वर्षमाथिका बालबालिकाले आफै पढ्न उपयुक्त छ I पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप