सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

आईपीएलमा आज : पहिलो विजेता राजस्थानलाई उपाधिविहीन दिल्लीको चुनौती

बिहीबार, १५ चैत २०८०, १० : ४८
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार दुई फरक इतिहास बोकेका टोली राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदै छ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।

राजस्थान रोयल्स आईपीएलको इतिहासमा पहिलो उपाधि विजेता टोली हो । अर्कोतिर, दिल्ली क्यापिटल्सले हालसम्म आईपीएलको उपाधि चुम्न सकेको छैन । जारी संस्करणमा पनि यी दुई टोलीबिच केही भिन्नता देखिएको छ ।

जारी प्रतियोगितामा राजस्थान र दिल्ली दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । तर, राजस्थान आफ्नो पहिलो खेलमा विजयी भएको थियो भने दिल्लीले पहिलो खेलमा हार बेहोरेको थियो । आफ्नो पहिलो खेलमा राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई २० रनले हराएको थियो । दिल्ली क्यापिटल्स भने आफ्नो पहिलो खेलमा पञ्जाब किङ्ससँग चार विकेटले पराजित भएको थियो । 

घरेलु मैदानमा ६ वर्षपछि जितको खोजी

यी दुई टोलीबिच अर्को रोचक पक्ष पनि छ । पछिल्लो ६ वर्षयता राजस्थान रोयल्सले आफ्नो घरेलु मैदानमा दिल्लीलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१८ मा राजस्थानले आफ्नो घरेलु मैदानमा दिल्लीलाई हराएको थियो । 

सन् २०१९ मा राजस्थानको घरेलु मैदानमा खेलिएको खेलमा दिल्ली विजयी भएको थियो । त्यसयता यी दुई टोली राजस्थानको घरेलु मैदानमा भिड्न लागेको यो पहिलो पटक हो । समग्रमा भने दिल्लीविरुद्ध घरेलु मैदानमा राजस्थान रोयल्सले ६६.६७ प्रतिशत खेल जितेको इतिहास छ । 

हेड टु हेडमा छैन धेरै अन्तर

आईपीएलमा हालसम्म राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच कुल २७ खेल खेलिएको छ । त्यसमध्ये १४ खेलमा राजस्थान रोयल्स विजयी भएको छ । बाँकी १३ खेलमा भने दिल्ली क्यापिटल्स विजयी भएको छ ।

राजस्थानको घरेलु मैदानमा हालसम्म यी दुई टोलीबिच कुल ६ खेल खेलिएको छ । त्यसमध्ये राजस्थान रोयल्सले चार खेलमा सफलता हात पारेको छ । जयपुरमा खेलिएको बाँकी दुई खेलमा भने दिल्ली क्यापिटल्स विजयी भएको छ ।

राजस्थानका संजु सामसनको नाममा सर्वाधिक रन

आईपीएलको जारी सिजनमा संजु सामसन राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले लखनउ सुपर जाइन्ट्सविरुद्धको पहिलो खेलमा अविजित ८२ रन बनाएका थिए । यस क्रममा उनले केवल ५२ बलको सामना गरी ६ छक्का र तीन चौका पनि हिर्काएका थिए ।

यसका अतिरिक्त टोलीका लागि रियान परागले पनि ४३ रनको योगदान गरेका थिए । उनले केवल २९ बलमा तीन छक्का र एक चौका प्रहार गरेका थिए । जारी सिजनको आईपीएलमा राजस्थानका लागि सर्वाधिक विकेट लिने बलर ट्रेन्ट बोल्ड हुन् । उनले पहिलो खेलमा दुई विकेट लिएका थिए ।

दिल्लीका कुलदीपको नाममा सर्वाधिक विकेट

जारी सिजनको आईपीएलमा कुलदीप यादव दिल्ली क्यापिटल्सका लागि सर्वाधिक विकेट लिने खेलाडी हुनु । उनले आफ्नो पहिलो खेलमा दुई विकेट लिएका थिए । कुलदीपसँगै खलिल अहमदले पनि पञ्जाबविरुद्धको खेलमा दुई विकेट लिएका थिए ।

ब्याटिङमा भने पहिलो खेलमा कुनै पनि खेलाडी चल्न सकेका थिएनन् । दिल्लीका लागि साई होपले सर्वाधिक ३३ रन बनाएका थिए । तल्लो क्रमका ब्याट्सम्यान अविषेक पोरेलले पनि अविजित ३२ रन बटुलेका थिए । समग्रमा दिल्लीको ब्याटिङमा सुधार देखिएको छ । 

यसका अतिरिक्त कप्तान रिसव पन्तको पुनरागमन पनि दिल्लीका लागि सुखद पक्ष हो । सन् २०२२ को डिसेम्बर २९ मा रिसव कार दूर्घटनामा परेका थिए । त्यसपछि उनी लामो समय मैदानमा फर्कन सकेका थिएनन् । तर, अहिले कप्तानको पुनरागमनले दिल्ली केही उत्साही देखिएको छ ।

यसैगरी दिल्ली क्यापिटल्सका दक्षिण अफ्रिकी बलर एनरिच नोर्जे पनि आईपीएलमा सहभागिता जनाउन भारत आइसकेका छन् । राजस्थानविरुद्धको खेलमा उनी पनि मैदानमा ओर्लने सम्भावना देखिन्छ ।  

जयपुरको सन्तुलित पिच

राजस्थान र दिल्लीबिच खेल हुने जयपुरस्थित सवाई मानसिंह स्टेडियमको पिच सन्तुलित प्रकृतिको छ । यहाँको पिचले ब्याट्सम्यान र बलर दुबैलाई उत्तिकै सहयोग पुर्‍याउँदै आएको छ । खेलको सुरुआती केही ओभरमा तीव्र गतिका बलरलाई सहयोग पुग्न सक्छ । 

यो स्टेडियमको पिच तुलनात्मक रुपमा ठुलो भएकाले बाउन्ड्रीका लागि ब्याट्सम्यानले केही सङ्घर्ष गर्नुपर्ने देखिन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको ५३ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले १९ खेल जितेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने ३४ खेल जितेका छन् । राजस्थान र दिल्लीबिचको खेल रात्रिकालीन भएकाले टस जित्ने टोलीले पहिले बलिङ गर्ने सम्भावना देखिन्छ । 

चर्को गर्मी, छैन वर्षाको सम्भावना

राजस्थान र दिल्लीबिच खेल हुने दिन बिहीबार जयपुरमा चर्को गर्मी हुने देखिन्छ । मौसम विज्ञान विभागका अनुसार, उक्त दिन वर्षाको कुनै सम्भावना छैन । बिहीबार जयपुरको तापक्रम २५ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने समाचारमा जनाइएको छ । 

सम्भावित टोली 

राजस्थान रोयल्स : संजु सामसन (कप्तान, विकेटकिपर), यशस्वी जैसवाल, जस बट्लर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गर र सन्दीप शर्मा ।

दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान, विकेटकिपर), डेभिड वार्नर, मिचेल मार्स, साई होप, रिकी भुई वा अविषेक पोरेल, अक्षर पटेल, सुमित कुमार वा ललित कुमार, कुलदीप यादव, खलिल अहमद, एनरिच नोर्जे र इशान्त शर्मा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप