बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
सङ्घर्षका कथा

एक समयका टिकट चेकर, अहिले वितरण गर्छन् करोडौँका फिल्म

शनिबार, १७ चैत २०८०, १५ : २५
शनिबार, १७ चैत २०८०

काठमाडौँ । भनिन्छ– सङ्घर्ष नै जीवन हो । सङ्घर्षका क्रममा पनि मानिसका लागि सधैँ समय एकनास हुँदैन । कसैका लागि कुनै समय प्रतिकूल हुन्छ र कुनै समय अनुकूल हुन्छ । सङ्घर्षले नै मानिसलाई सफल तुल्याउँछ ।

नेपाली फिल्म क्षेत्रमा यतिबेला एक सफल वितरक मानिएका रोहित कट्टेल पनि सङ्घर्षको एक पर्यायवाची नाम हो । जीवनको एउटा कालखण्ड उनले निरन्तर सङ्घर्षमा बिताए । परिणामस्वरुप उनी आज यो उचाइमा स्थापित हुन सफल छन् ।

२०६१/२०६२ सालमा फिल्म हलमा टिकट चेकिङ गरेर जीविकोपार्जन गर्ने उनी जीवनमा केही गर्न चाहन्थे । उनी हमेसा अवसरको खोजीमा हुन्थे । यही खोजीले उनलाई फिल्म वितरकको भूमिका निर्वाह गर्ने हुटहुटी जगायो । तर उनका सामु चुनौतीका चाङ कम थिएनन् । हलमा टिकट चेक गर्दै हिँड्ने ठिटोले फिल्म वितरणको जिम्मा लिन्छु भन्दा लाखौँ रुपैयाँ लगानी गरेर फिल्म बनाएका निर्माताहरूले पत्याउन् पनि कसरी ? आफ्नो लगानी जोखिममा पार्न कसले पो चाहन्थ्यो ?

तर, कट्टेलले हिम्मत हारेनन् । जसोतसो उनले उपत्यकाको केही हलमा फिल्म वितरणको जिम्मेवारी लिए । त्यसपछि देशको पश्चिम क्षेत्रका हलहरूमा उनले कदम बढाए । फिल्म ‘द लास्ट किस’ मार्फत उनले देशभरिका हलमा वितरण यात्रा थाले । उनी अहिले फिल्मका राम्रा वितरकमा पर्छन् ।

पहिले फिल्म दिन नपत्याउने निर्माता अहिले उनलाई करोडौँ लगानी गरेको फिल्म जिम्मा दिन धाउँछन् । वितरणमा राम्रा हलमा, उचित शोसहित फिल्म लाग्ने विश्वास दिलाउन उनी सफल छन् । त्यसैले फिल्म दर्ता र घोषणा हुनासाथ निर्माता अन्य कामभन्दा पहिले वितरणका लागि कट्टेलसँग सम्पर्क गर्न पुग्ने गरेका छन् ।

rohit kattel (2)

यही चैत ३० गते प्रदर्शनमा आउने ‘रेड सुटकेस’ को वितरणको जिम्मेवारी कट्टेलकै काँधमा छ । ‘नाङ्गो गाउँ’, ‘बिहेपास’, ‘हात्तीछाप’ लगायत यो वर्ष उनले १५ फिल्म वितरण गरिसकेका छन् । अर्को वर्ष (२०८१)मा झन् बढी फिल्म छ उनको । ‘खजुरे ब्रो’, ‘लन्डन टु पेरिस’, ‘पूजार सार्की’, ‘घर ज्वाइँ’, ‘कारसाङ’, ‘पिताम्बर’, ‘दुखी आत्मा’, ‘गाउँनै रमाइलो’ लगायत फिल्म वितरणको जिम्मेवारी उनले पाइसकेका छन् । यति नै सङ्ख्यामा थप फिल्म पनि हातलाग्ने उनको अनुमान छ ।

  • त्यसपछि फिल्म लाइन

सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँपालिका–३ का रोहितलाई सानोमा फिल्ममा रुचि थिएन । चञ्चले स्वभावका उनी नयाँ ठाउँ घुम्न रुचाउँथे । २०६० मा उनी १६ वर्षे किशोर थिए । उनको गाउँमा भर्खर कच्ची मोटरबाटो पुगेको थियो । गाउँमा सीमित मानिससँग काठमाडौँ घुमेको अनुभव थियो । उनीहरूको कुरा सुनेपछि कट्टेललाई काठमाडौँ छिर्न पाए हुन्थ्यो भन्ने लाग्यो ।

काठमाडौँको हावापानीसँग परिचित भइसकेका उनी गाउँ पुगे पनि किन बस्न सक्थे र ! एकडेढ महिनामै फेरि काठमाडौँ छिरे ।

सानैदेखि राम्रो खानपिन र लवाइखुवाइमा हुर्किएका उनलाई घरबाट काठमाडौँ छिर्ने अनुमति त्यसै मिल्दैन थियो । त्यसमाथि देशमा सङ्कटकाल थियो । बजारैमा घर, गाउँका हर्ताकर्ता उनका बाबु त्यहाँका व्यवसायीका सुखदुःखका साथी थिए । त्यसैले उनको बुबाको ज्वारीकोटमा २०/२५ हजार रुपैयाँ टुट्दैन थियो । बुबाकै खल्तीबाट १५ हजार रुपैयाँ झिकेर उनी काठमाडौँ छिरे ।

‘काठमाडौँ छिरेपछि आफन्तकहाँ जाने कुरो भएन । गाउँ फर्काइदिने डर थियो,’ कट्टेलले भने, ‘खल्तीमा पैसा हुन्जेल बस्ने र खाने समस्या नभएकाले साथीभाइ भेट्ने, घुम्ने गरेँ ।’ घरबाट ल्याएको पैसा २०/२२ दिनमै सकिएको उनले सुनाए ।

त्यसपछि उनलाई घरको यादले सताउन थाल्यो । त्यसैले वीरेन्द्र सैनिक अस्पतालमा रहेका आफ्नै दाइलाई भेट्न पुगे उनी । तर दाइ पश्चिम सरुवा भइसकेका थिए ।

‘सैनिक अस्पतालमा दाइको साथीसँग भेट भयो । उहाँलाई मैले गाउँबाट भागेर आएकोदेखि पैसा सकिएको सबै समस्या भनेँ’, कट्टेलले भने, ‘साँझ परिसकेका कारण दाइको साथीले त्यो दिन त्यहीँ बस्ने र खाने व्यवस्था गर्नुभयो ।’ भोलिपल्ट दाइको साथीले गाडीको व्यवस्था गर्दै हजार रुपैयाँ दिएर गाउँ फर्काएको उनले सम्झिए ।

काठमाडौँको हावापानीसँग परिचित भइसकेका उनी गाउँ पुगे पनि किन बस्न सक्थे र ! एकडेढ महिनामै फेरि काठमाडौँ छिरे । काठमाडौँ छिरेपछि चिनजानको एक दाइसँगै नयाँ बानेश्वरको शिवर्दशन हल नजिक कोठामा बस्न थाले । त्यो क्रममा उनी शिवर्दशन हल बारम्बार जान्थे । त्यहाँ फिल्मकर्मी र कलाकारको आवातजावात बाक्लो थियो । त्यही क्रममा फिल्म क्षेत्रमा काम गर्ने रहर आफूमा जागेको उनले बताए ।

‘फिल्म क्षेत्रमा कामगर्ने रहरले एकजना साथीमार्फत गुण हलमा टिकट चेकरको रूपमा काम गर्न थालेँ ।’ कट्टेलले भने । उनले त्यो समय फिल्म ‘म तिमी बिना मरिहाल्छु’ चलेको बताए । उनले भने, ‘त्यसपछि नेपालगञ्ज, कुस्मा, लालबन्दी, सुदूर पश्चिमका हलमा काम गरे ।’ सुदूरपश्चिममा बस्दा त्यहाँका केही हलमा फिल्मको वितरण समेत गरेको उनले सुनाए ।

  • जन्मियो आरआर फिल्मस्

सुदूरपश्चिमबाट फिल्म वितरणको थोरै जानकारीपछि उनी फेरि काठमाडौँ छिरे । काठमाडौँमा उनको भेट वितरक सुनिल मानन्धरसँग भयो । मानन्धर देशभर फिल्म वितरण गर्थे । मानन्धरले उनलाई उपत्यका बाहिरको बिलिङ हेर्न जिम्मा दिए । बिलिङ हेर्ने क्रममा उपत्यका बाहिरको हलसँग उनको सम्बन्ध राम्रो भयो ।

त्यही क्रममा उनी मानन्धरले थाहा नपाउने गरी ४/५ स्टेशनका लागि फिल्म फिक्समा लिन्थे । त्यसरी गर्दै जाँदा पश्चिम क्षेत्रका पूरै हलमा उनी काम गर्न थाले । यही समय उनी फिल्मको पोष्टरसमेत टाँस्थे । सोही क्रममा उनको भेट रत्न श्रेष्ठसँग भयो । रत्न उनीभन्दा सिनियर थिए । रत्न पूर्व क्षेत्रका स्टेसनमा फिल्म वितरण गर्थे ।

‘रत्नले आफ्नो फिल्म पश्चिम क्षेत्रमा चलाउन मलाई दिनुहुन्थ्यो । पूर्वी क्षेत्र आफैँ हेर्नुहुन्थ्यो’, कट्टेलले अगाडि थपे, ‘एकदिन रत्नले एउटा फिल्म आएको छ । अल नेपाल हामी गरौँ भन्नुभयो ।’

rohit kattel (3)

त्यो फिल्म ‘द लाष्ट किस’ फिल्म भएको उनले खुलाए । यो फिल्म कतिपय हलले लगाउन नमाने पनि आफूले राम्रो पैसा कमाएको उनले बताए ।

‘द लाष्ट किस’बाट राम्रो आम्दानी भएपछि उनले रत्नसँगको सल्लाहमा दुवैका नामको अगाडि अक्षरबाट २०६८ मा ‘आरआर फिल्मस्’ दर्ता गरे । त्यसपछि उनले यो क्षेत्रमा पछाडि फर्किएर हेर्नु परेन । एकपछि अर्को फिल्म गर्दै अहिलेसम्म दुई सय फिल्मको वितरण गरिसकेका छन् उनले ।

वितरणका लागि अहिले उनी निर्माणकै क्रममा फिल्ममा २० लाखदेखि एक करोडसम्म लगाउँछन् । लगानी गर्ने त्यो पैसा यहीँबाट कमाएका हुन् उनले ।

‘वितरणको सुरुको समय फिल्म माग्दा पनि दिँदैनथिए । अहिले लिनुस् भनेर हानथाप गर्छन्,’ उनले भने । रत्नसँग उनको सहकार्य जारी छ । फिल्म क्षेत्रमा पहिलो प्रोजेक्टबाटै खटपट भएर सहकार्य छुटेको थुप्रै उदाहरण छन् । रत्नसँग उनको सहकार्य भने वितरणबाट निर्माणसम्म पुगेको छ ।

‘रत्न दाइ मनमा पाप नभएको व्यक्ति हो । कहिलेकाहीँ एक लाखसम्म मैले चलाए पनि केही भन्नुहुन्न’, उनले बलियो मित्रताको कारण खोतले, ‘म पनि उहाँजस्तै हो ।’ दुवैको स्वभाव मिलेकाले मित्रता लामो समय टिकेको हुनसक्ने उनले बताए ।

वितरणका लागि अहिले उनी निर्माणकै क्रममा फिल्ममा २० लाखदेखि एक करोडसम्म लगाउँछन् । लगानी गर्ने त्यो पैसा यहीँबाट कमाएका हुन् उनले । कहिलेकाहीँ एकै समय धेरै फिल्ममा लगानी गर्नुपर्दा ऋण लिने गरेको उनी बताउँछन् ।

  • म पनि निर्माता

रोहित कट्टेल पछिल्लो समय फिल्म वितरकका अलावा निर्माताको रूपमा पनि परिचित छन् । ‘कृष्ण लिला’ र ‘बिहेपास’ उनले निर्माण गरेका फिल्म हुन् । यीमध्ये ‘कृष्ण लिला’ले उनलाई नराम्रोसँग डुबायो । ‘बिहेपास’ले लगानी कभर गरेको उनले बताए ।

rohit kattel (1)

वितरणका लागि फिल्म थुप्रै थिए । निर्माणमा आउने उनको केही सोच थिएन । सन् २०१९ मा कोरोनाले सबै हल बन्द भयो । फिल्मको प्रदर्शन रोकियो । यो समय के गर्ने त भनेर निर्माणमा हात हालेको उनले बताए ।

‘एक करोडमा फिल्म बनाएका निर्माताले ६ महिनामा ३ करोडसम्म हात पारेको देखेको थिएँ’, उनी भन्छन्, ‘सोही कुराले पनि फिल्म बनाएँ ।’

उनले फिल्म क्षेत्र रोज्दा उनको बुबाको सपना भने अधुरो रह्यो । बुबाले उनलाई सरकारी जागिरे बनाउन चाहन्थे ।

छायाङ्कन, सम्पादन, प्रिपोडक्सनलगायत विभिन्न कर्मले पनि फिल्ममा लगानी गर्न प्रेरित गरेको उनले सुनाए । फिल्म निर्माणबाट चर्चा राम्रो भए पनि उनले कमाउन भने सकेनन् । तैपनि निर्माणको प्यास भेटिएको छैन । अर्को वर्ष नयाँ फिल्म बनाउने तयारीमा छन् उनी ।

‘मेरो अहिलेसम्मको अनुभवमा हरेक ८/१० वर्षमा फिल्मको माहौल र ट्रेन्ड चेन्ज हुन्छ’, उनी अनुमान लगाउँछन्, ‘अब केही समयमा फिल्ममा नयाँ ट्रेन्ड भित्रिन्छ ।’ भित्रिएको नयाँ ट्रेन्डमा आफ्नो फिल्म बन्ने उनले बताए ।

  • छैन सपना

करिब २ दशक फिल्म क्षेत्रमा बिताएका उनले यहाँबाट नाम, दाम, इज्जत सबथोक पाएका छन् । त्यो हिसाबले खुसी हुनपर्ने हो उनी । तर छैनन् । कारण, दिन प्रतिदिन बिग्रँदो फिल्म क्षेत्रको अवस्था हो ।

‘म फिल्ममा व्यवसाय गर्न आएको हो । त्यही गर्न पाए पुग्छ’, उनले थपे, ‘सपना देखेर के गर्नु ? त्यो पूरा नहुने देखे पनि यो क्षेत्र छोड्न सक्दिनँ ।’ फिल्म क्षेत्र अहिले आफ्ना लागि नसा भएको उनले सुनाए ।

उनले फिल्म क्षेत्र रोज्दा उनको बुबाको सपना भने अधुरो रह्यो । बुबाले उनलाई सरकारी जागिरे बनाउन चाहन्थे । किनभने गाउँ घरमा भ्यालु सरकारी जागिरकै जो छ । सरकारी जागिर गर्न नसके पनि परिवारको नाम राख्ने काम भने आफूले गरिरहेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप