बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा सरोकार

शिक्षक नेताहरूलाई प्रश्न : पढाउन छाडेर किन राजनीति गर्दै हिँड्नुहुन्छ ?

आइतबार, १८ चैत २०८०, १४ : ३८
आइतबार, १८ चैत २०८०

काठमाडौँ । विद्यार्थीलाई पढाउन छाडेर शिक्षकहरू राजनीतिक दलको झोला बोकेर हिँडेको आरोप लाग्ने गरेको छ । विभिन्न दल निकट शिक्षक संघ–संगठनमा आबद्ध शिक्षकहरूले यस्तो आरोप झेल्दै आएका छन् ।

यस्तो आरोप खेपिरहेका शिक्षक संघ संगठनका शिक्षक नेताहरूले विद्यालयको पठनपाठन कसरी व्यवस्थापन गर्दै आएका छन् ? उनीहरूले दैनिक पढाउनुपर्ने विषय उनीहरूको अनुपस्थितिमा कसले पढाउँछ ? यस्ता प्रश्न आम अभिभावक तथा सरोकारवालाको चासोको विषय बन्ने गरेको छ ।

नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सुनिश्चित गरिएको छ । धारा ३४ को उपधारा ३ मा प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हकको व्यवस्था छ ।

सोही आधारमा शिक्षकहरूले ट्रेड युनियनको अधिकार पाइरहेका छन् । मौलिक हकको आधारमा शिक्षा नियमावली २०५९ ले शिक्षक युनियन सम्बन्धी व्यवस्था गरेको छ । नियमावलीको नियम १८७ मा शिक्षक युनियन सम्बन्धी व्यवस्था गरेको छ, जसमा शिक्षकले प्रचलित कानुन बमोजिम शिक्षक युनियन खोल्न पाउने व्यवस्था छ । त्यसका लागि शिक्षा मन्त्रालयबाट सिफारिस लिनुपर्ने हुन्छ ।

नेपालको संविधान, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा ट्रेड युनियन नियमावली २०५० को प्रावधानमा टेकेर शिक्षक कर्मचारीहरू संगठित भएका हुन् । उनीहरूले आफ्ना हक हितका लागि संगठन खोलेको दाबी गरेका छन् ।

photos (1)

सबै शिक्षक कर्मचारीका संगठनको प्रतिनिधित्व गर्ने छाता संस्थाको रूपमा नेपाल शिक्षक महासङ्घ छ । सरकारले महासङ्घ मार्फत शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै आएको छ ।

गत असोज १ गतेदेखि शिक्षक कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै देशभरका सामुदायिक विद्यालय बन्द गरेर उनीहरूले काठमाडौँ आएर सरकारलाई खबरदारी गरे । त्यो बेला एक साता जति विद्यालय बन्द भए ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विभिन्न शिक्षक तथा कर्मचारीका संघ संगठन सक्रिय छन् । विभिन्न राजनीतिक दल निकटका शिक्षक कर्मचारीका संघ संगठन छन् । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ, नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतका शिक्षक संघ संगठन छन् ।

विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ । महासङ्घ लगायत शिक्षक संघ संगठनका पदाधिकारीहरूले अघि सारेका माग सम्बोधन गराउन भेटघाटलाई तीव्रता दिइरहेका छन् । उनीहरूले प्रधानमन्त्रीदेखि शिक्षामन्त्री, शिक्षा समितिका सभापति लगायतलाई भेटेर सरकारसँग भएको सहमतिका विषयमा अवगत गराउँदै आएका छन् ।

यी गतिविधिमा संलग्न हुन शिक्षक प्रतिनिधिहरू विद्यालयको पठनपाठनलाई समेत रोकेर जानुपर्ने हुन्छ । यस्तो अवस्थामा विद्यालयको पठनपाठन कसरी व्यवस्थापन गर्छन् ? विभिन्न शिक्षक संघ संगठनका पदाधिकारीहरूलाई यसबारे प्रश्न गरेका छौँ ।

  • ‘सरकारले नै काजमा खटाएको छ’

नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले आफूहरूलाई सरकारले नै काजमा खटाएको बताए । ऐनमा भएको व्यवस्था अनुसार नै महासङ्घ स्थापना भएको भन्दै उनले शिक्षा मन्त्रालयले नै महासङ्घका अध्यक्ष र महासचिवलाई काजमा खटाउने गरेको बताए ।

महासङ्घका पदाधिकारीलाई काठमाडौँमा पायक पर्ने विद्यालयमा काजमा खटाएर आफू कार्यरत विद्यालयमा सरकारले नै अन्य शिक्षक खटाएको उनको भनाइ छ ।

‘हामी त नेपाल सरकारले दिएको काजमा छौँ । महासङ्घका पदाधिकारी नेपाल सरकारको काजमा छौँ । अरू साथीहरू त महासङ्घको कार्यक्रम हुँदा मात्रै आउने हो, नत्र स्कुलमै हुनुहुन्छ,’ महासचिव सुवेदीले भने ।

शिक्षा नियमावलीमा नेपाल शिक्षक महासंघका अध्यक्ष र महासचिवलाई काज दिने उल्लेख छ । सोही आधारमा आफूहरू काजमा खटिएर महासङ्घको काम गरिरहेको उनको भनाइ छ ।

‘हरेक ठाउँका छलफलमा जानुपर्छ । आफ्ना कुराहरू राख्नुपर्‍यो । अर्काका कुरा सुन्नुपर्‍यो । कोही न कोहीले त संस्थाको जिम्मा लिनुपर्‍यो । संस्थाको तर्फबाट प्रतिनिधित्व गर्नुपर्‍यो,’ महासचिव सुवेदीले भने, ‘सभा सम्मेलनहरू भइरहेका हुन्छन् । त्यो अध्यक्ष र महासचिवले गर्ने हो । स्कुलमा पढाउनका लागि आन्तरिक व्यवस्थापन गरेर मिलाएका हुन्छौँ ।’

महासङ्घका अन्य पदाधिकारीहरू आवश्यक परेको खण्डमा मात्रै उपस्थित हुने गरेको र अन्य समयमा विद्यालयमै हुने उनले बताए । 

नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीले आफू आवश्यक परेको खण्डमा मात्रै बाहिर जाने गरेको बताइन् । नत्र पठनपाठनमै व्यस्त हुने गरेको उनको भनाइ छ ।

photos (5)

‘समय परिवेश अनुसारको हुन्छ नि । हिजो राजनीतिक परिवर्तन हुँदा शिक्षकका पनि एक खालका भूमिका रहन्थ्यो । त्यो भन्दा पछाडि अहिलेको अवस्थामा शिक्षक संगठनका कार्यक्रमहरू शनिबार गर्ने गर्छौँ । बिदाको दिन पारेर गर्छौँ । त्यस्तै अनलाइन मार्फत गर्छौँ । संगठनका सम्मेलनहरू पनि अधिकांश बिदाको दिन गर्छौँ,’ उनले भनिन् ।  

पढाइलाई कुनै प्रकारको बाधा नपर्ने गरी शिक्षकका हकहितका कार्यमा अघि बढ्दै गरेको पराजुलीको भनाइ छ । वडास्तरीय तथा पालिकास्तरीय बैठक गर्नुपर्दा शुक्रबार पढाइ सकेर वा बिदाको दिन पारेर गर्ने गरेको उनले बताइन् । ‘म पनि एउटा विद्यालयको प्रधानाध्यापक हो । संगठनको लिडरसिपले पहिला आफ्नो विद्यालयलाई अब्बल बनाउनुपर्छ, त्यसपछि मात्रै संगठन हो भन्ने मेरो व्यक्तिगत धारणा हो । मेरो विद्यालयले आफ्नो क्षेत्रमा राम्रो स्थान बनाएको पनि छ,’ उनले भनिन् ।

महासङ्घको सहअध्यक्ष भएपछि उनको सट्टामा सरकारले नै शिक्षण सिकाइ अनुदान शिक्षकको व्यवस्था गरिदिएको छ । पहिलाजस्तो नेताको झोला बोकेर हिँड्ने अवस्था अहिले नरहेको उनले बताइन् । उनले भनिन्, ‘पढाइलाई डिस्टर्ब गर्ने भन्ने छैन । कक्षा खाली गराउने भन्ने नै हुँदैन । अभिभावकले गुनासो गर्ने खालको काम गर्दैनौँ । अहिले पढाउने कुरामा कुनै समस्या हुँदैन ।’

नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी साँखुमा रहेको भाग्योदय माविमा अध्यापनरत छन् । विद्यार्थीको पठनपाठनमा कुनै समस्या नहोस् भनेर उनले आफ्नै तलबबाट पारिश्रमिक दिने गरी अर्को शिक्षक राखेका छन् ।

‘म भाग्योदय मावि साँखुमा पढाउँछु । अर्को शिक्षक पनि हुनुहुन्छ । मैले पूरा तलब खानुपर्ने हो । तर, अर्को शिक्षक राखेर मेरो तलब उहाँलाई दिने गरेको छु,’ अधिकारीले भने ।

व्यक्तिगत स्वार्थ नभइ ट्रेड युनियनको आन्दोलनमा लागेको भन्दै उनले शिक्षक संगठनको जिम्मेवारी सम्हाल्दा स्वाभाविक रूपमा स्कुलमा गएर पढाउन नसकिने भएकाले अर्को शिक्षक नियुक्त गरिएको बताए । आफ्नो फुर्सद भएको बेला आफूले पढाउने र व्यस्त भएको बेला अर्को शिक्षकले पढाउने गरेको उनको भनाइ छ ।

स्थायी नियुक्ति लिएका बाहेक शिक्षक कर्मचारीको हकमा भने त्यस्तो सुविधा देखिँदैन । उनीहरू विद्यालयमा नियमित गएर पढाउनैपर्ने हुन्छ । बिदाको समय पारेरमात्रै उनीहरूले आफ्ना क्रियाकलाप गर्दै आएका छन् । राहत, अस्थायी, बालविकास लगायतका शिक्षकले पठनपाठनलाई बाधा नपर्ने गरी संगठनका गतिविधि गर्दै आएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीले आफूहरू विद्यालयमा पठनपाठनमै व्यस्त हुने गरेको बताए । ‘हामीभन्दा बाहेकका सबै शिक्षक नेता काजमा छन् । राहत, अस्थायी, बालविकास लगायतका शिक्षकहरूले पढाउनै पर्छ । हामीले विद्यालयमा पठनपाठन गराएर नै बाह्य काममा निस्किने गरेका छौँ,’ अधिकारीले भने ।  

आन्दोलनको कार्यक्रममा जाँदा वर्षभरि पाउने बिदा कटाएर जाने गरेको उनको भनाइ छ । त्यो भन्दा बाहेक संघ संगठन, महासङ्घका पदाधिकारीहरूले तलब खाने तर अध्यापन नगराउने गरेको उनको आरोप छ । 

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारी ललितपुरमा बस्छन् । उनी कपिलवस्तुको जनज्योति माविमा कार्यरत हुन् । तर संगठनको राष्ट्रिय अध्यक्ष भइसकेपछि नेपाल सरकारले नै उनलाई ललितपुरको बालविनोद माविमा काज दिएको छ ।

photos (4)

कपिलवस्तुमा भने उनको ठाउँमा अर्को शिक्षकले पढाउँछन् । उनी बालविनोद माविमा हाजिर भएको आधारमा कपिलवस्तुमा राखिएका शिक्षकले तलब पाउने गरेका हुन् ।

‘म यहाँ हाजिर भएको प्रमाण उता लैजान्छु । त्यही आधारमा साथीहरू तलब खानुहुन्छ,’ भण्डारीले भने । शिक्षकको हक हित तथा शिक्षाका सवालमा निरन्तर लागिराख्नुपर्ने भएकाले शिक्षा मन्त्रालयले नै काज दिएको उनको भनाइ छ । उनको प्रत्येक ३÷३ महिनाको काज हुने गरेको छ ।

‘मैले अरू शिक्षक साथीहरूलाई मेरै तलब दिएर पढाउन लगाएको छु । म बाहिर रहेको बेलामा मेरो ठाउँमा मेरै तलब खानेगरी अर्को सरले पढाउनुहुन्छ । नेपाल सरकारले नै मलाई काज दिएको छ,’ भण्डारीले भने ।

संगठनको काम भएको खण्डमा बाहिर जाने गरेको भन्दै उनले अन्य समयमा स्कुलमै पढाउने गरेको बताए । ‘१० देखि ४ बजेसम्म राजनीति गर्नेलाई कारबाही गर्नुपर्छ । बिहान ९ बजेसम्म र बेलुका ४ बजेपछि हामी आफ्नो काम गर्न स्वतन्त्र हुन्छौँ । अरू छुट्टै किसिमको राजनीति गर्दैनौँ । कुनै पार्टीका झोला बोकेर हिँड्ने काम गर्दैनौँ,’ भण्डारीले भने, ‘स्कुलमा कुनै पनि राजनीतिक दलको गुणगान नगाई नितान्त पाठ्यक्रमको आधारमा पठनपाठन गराउँदै आएका छौँ ।’

अहिले गुणस्तरीय शिक्षा आवश्यक रहेको भन्दै त्यसका लागि शिक्षकहरूले नै पहल थाल्नुपर्ने भण्डारीको भनाइ छ । यसका लागि कुनै पनि सम्झौता नगर्ने उनले प्रस्ट पारे । ‘शिक्षकको इज्जत कहाँ छ, प्रभावकारी शिक्षण जहाँ छ’ भनेर नै नियमित रूपमा सिकाउने गरेको उनले बताए । ‘बालबालिकाको भविष्यमाथि कुठाराघात गर्ने काम गर्नुहुन्न,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप