आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम– २ र बझाङको उपनिर्वाचनबारे देउवाले लिए 'ग्राउण्ड रिपोर्ट'

सोमबार, १९ चैत २०८०, १८ : ४२
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनका सन्दर्भमा ग्राउण्ड  रिर्पोट लिएका छन् । आफ्नो निवास बूढानीलकण्ठमा सोमबार अपराह्न सभापति देउवाले उपनिर्वाचनका सन्दर्भमा ग्राउण्ड रिर्पोट लिएका हुन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार पदाधिकारीसहित शीर्ष नेताको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्दम्बे लगायतले इलाम—२ र बझाङको ग्राउण्ड रिर्पोट सुनाएका थिए ।

सभापति देउवाले इलामको अध्ययन गर्न महामन्त्री शर्मा, सहमहामन्त्री आङदम्बे र कोशी प्रदेश सभापति उद्धव थापालाई खटाएका थिए ।

बझाङ प्रदेशसभा —१ को अध्ययन गर्न सहमहामन्त्री आङदम्बे, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर पुगेका थिए । उनीहरुले विपक्षीका साथै पार्टी सबल र कमजोर पक्षको विश्लेषणसहितको रिपोर्ट प्रस्तुत गरेका थिए । 

‘आज इलाम र बझाङ गएका साथीहरूसँग बिफ्रिङ लिने काम भयो । आइडिया पनि शेयर भयो,’ उनले भने, ‘अन्य नेताहरूले पनि आ—आफ्नो राय सुनाएका थिए । परिस्थितिको विश्लेषण भयो । उम्मेदवार चयनको निर्णय भोलि हुन्छ ।’

आगामी वैशाख १५ मा हुने इलाम— २ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसले मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् ।

इलाम— २ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ ।

टिकटका लागि मुख्य प्रतिस्पर्धा खड्का र आचार्यबिच देखिन्छ । सभापति देउवा खड्कालाई टिकट दिने मुडमा छन् भने नेता शेखर कोइरालाले आचार्यका लागि लबिङ गरिरहेका छन् । कांग्रेसका मातहत कमिटीले बझाङ प्रदेशसभा (१) का लागि १० जनाको नाम सिफारिस गरेको छ । जसमा सत्यराज भण्डारी,  विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ ।

बझाङ प्रदेशसभा १ मा जगत जोशी र अभिषेक सिंहबिच टिकटका लागि हानथाप छ । जोशी कांग्रेसका पुराना नेता हुन् भने सिंह यसअघि निर्वाचित स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा हुन् । इलाम र बझाङको अध्ययन गरेका नेताहरूले उम्मेदवारका आकांक्षीहरुको बलियो र कमजोर पक्षको सुनाएका प्रवक्ता महतले बताए ।

एमालेले इलाम— २ मा सुहाङ नेम्बाङ, रास्वपाले मिलन लिम्बु, राप्रपाले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जितबहादुर राई, जनमतले पे्रमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएका छन् । यस्तै पहिचानवादी समूहले डकेन्द्र थेगिमलाई स्वतन्त्र उम्मेदवारका रूपमा अगाडि सारेको छ ।

यस्तै बझाङ प्रदेशसभामा एमालेले दमनबहादुर भण्डारी, एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र प्रदेश कमिटीले इलाम— २ मा धिरेन्द्र शर्मा र बझाङ प्रदेशसभा १ का लागि जनक बुढाको नाम सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप