मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

आन्विका गिरीको ‘आमाले सक्नुहुन्छ’ पुस्तक पढेँ, मलाई मन पर्‍यो

बिहीबार, २२ चैत २०८०, १३ : २६
बिहीबार, २२ चैत २०८०

वार्षिक परीक्षा सकिएपछि कोर्स बाहिरका किताब पढ्ने गर्छु । बुबाले केही किताब ल्याउनुभयो । तीमध्ये एक थियो, ‘आमाले सक्नुहुन्छ ।’

आन्विका गिरीले लेख्नुभएको यो किताब पढ्नुअघि उहाँको ‘हाम्रो कुरा पनि सुन्नुस्’ भन्ने किताब पढेकी थिएँ । उहाँका किताबमध्ये ‘आमाले सक्नुहुन्छ’ मैले पढेको दोस्रो किताब हो । आमाबुबाले भन्नुभएको थियो, ‘किताब पढेपछि केही कुरा लेख्नु ।’ 

किताब पढेपछि मैले जे बुझेँ लेख्ने कोसिस गरेकी छु । आशा छ, तपाईंहरूलाई मन पर्छ होला । केही अपुग भएमा प्रतिक्रिया पनि दिनुहुनेछ भन्ने आशा गरेकी छु ।

आन्विका गिरीले आफ्नो पहिलो किताब सन् २००५ मा प्रकाशन गर्नुभएको थियो । उहाँका किताबमा हाम्रो जनजीवन, समाज साथै रीतिरिवाजका बारेमा लेखिएका हुन्छन् । सुनसरी जिल्लामा जन्मनुभएकी उहाँले कविता, कथा तथा बालकथा लेख्नुभएको छ । ‘आमाले सक्नुहुन्छ’, ‘पायल पढ्न जान्छे’, ‘लक्षु किन बोल्दिनँ’, ‘ठूलो मान्छे कसरी बन्ने’, ‘लिलीले बिर्सिन्नन्’, ‘लिली रिसाएकी छिन्’, ‘सानीका ज्ञानी कुरा’, ‘मेरी दिदी’, ‘नाक कसरी ठाडो हुन्छ ?’, ‘साथीको न्यास्रो’, ‘सिक्दै सिकाउँदै’, ‘कम्युनिस्ट’, ‘मान्छेको रङ’ लगायत पुस्तक प्रकाशन भएका रहेछन्, यी किताब मैले गुगल गर्दा भेटेकी हुँ । 

‘आमाले सक्नुहुन्छ’ पुस्तकमाथि डा. अरुणा उप्रेतीले भूमिका लेख्नुभएको छ । बालबालिकाले जीवनका समस्यालाई कसरी हेर्छन्, मातापिताको काममा कसरी मद्दत गर्छन्, जीवन भोगाइबाट पाइलैपिच्छे कसरी ज्ञान हासिल गर्दै जान्छन् ? आदि कुरा एउटी बालिकाको माध्यमबाट सरल भाषा र रोचक शैलीमा यस पुस्तकमा प्रस्तुत भएका छन् र यस पुस्तकले नेपाली समाजमा महिलाको स्थिति, लैङ्गिक विभेद, पारिवारिक जिम्मेवारीबारे अनेक ज्ञान पस्किएको छ भन्ने उहाँको प्रतिक्रिया छ । 

यो पुस्तक एउटा सचित्र बालकथाहरूको शृङ्खला हो भन्ने मेरो बुझाइ छ । जसमा छोरा र छोरीबिचको भेदभाव, आमा–बुबाको सङ्घर्ष, दाजुबहिनी र दिदीभाइको माया, बाल्यकालका झगडा, गाउँले जीवन, स्कुलका रमाइला दिन आदिको बारेमा लेखिएको छ । 

साङ्ग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको यस किताबका लागि कुलदीप जंगबहादुर गुरुङले चित्र कोरेका छन्, मलाई पनि चित्रकला खुब मन पर्छ, कहिलेकाहीँ कोर्ने कोसिस पनि गर्छु । 

१८० पेज रहेको किताबमा सातवटा कथाक्रम रहेका छन्, प्रत्येक कथाक्रमभित्र उपक्रम छन् । कथाक्रम १ मा शीर्षकथा ‘आमाले सक्नुहुन्छ’ रहेको छ । जसमा १३ वटा उपक्रम छन् । यी उपक्रममा सानी बालिकाको परिचय, घरमा आएको समस्या र त्यसको समाधान, बालिकाका अभिभावकलाई गरिएको कुटपिट, नयाँ साइकल देख्दा र चढ्दाको खुसी आदि विषयवस्तु रहेका छन् । 

घरमा आएको समस्या बालबालिकालाई पनि सुनाउनुपर्छ, उनीहरू पनि परिवारका सदस्य हुन् भन्ने कुरा मलाई साह्रै चित्त बुझ्यो । भनिन्छ, समस्या जस्तोसुकै भए पनि अरुसँग सेयर गर्दा समाधान निस्कन्छ । त्यसैले घरका समस्या बालबालिकालाई पनि सुनाउनुपर्छ भन्ने लाग्छ । 

मेरो घरमा आमा र बुबाबिच काममा विभेद भएको मैले कहिल्यै देखिनँ, दुवैजना कामकाजी हुनुहुन्छ । दुवैजना घरायसी काममा उसैगरी खट्नुहुन्छ । हामी दिदीभाइमा पनि कुनै फरक व्यवहारको आभास गरेकी छैन मैले तर किताब पढ्दा हाम्रो हजुरआमा र आमाहरूले भोग्नुपरेको दुःखको पाटो थाहा भयो ।

कथाक्रम २ ‘आमाको बचतमा’ नौवटा उपक्रम छन् । जसमा हुरी र पानीले घरमा पुर्‍याएको असर, किताब नयाँ नरहँदाको दुःख, परिवारको आर्थिक अवस्था, जून हेर्ने रहर, आमाले गर्नुभएको बचत आदि छन् । हाम्रो समाजमा घरायसी कुरोमा महिलाले बोल्न पाउँदैनथे, अझै पनि महिलाले घरको बारेमा चासो राख्दा नराम्रो सोचिन्छ । महिलालाई पनि आफ्नो विचार राख्न पाउने अधिकार हुन्छ । महिला र पुरुष बराबरी भनिएको छ । त्यसैअनुरूप महिला सदस्य (आमा)को सहयोगका कारण घरमा समस्या टरेको कथाक्रममा छ । बचत गर्नलाई समेत कथाले सन्देश दिएको छ । 

आमाले सक्नुहुन्छ

कथाक्रम ३ ‘काम जसले गरे नि भो’मा ८ वटा उपक्रम छन् । जसमा बुबाजस्तो आमा, किताबकी पात्रको साथीको आमासँग पैसा नभएको, बुबाले कपाल कोरिदिँदा साथीहरूले जिस्क्याएको, वनभोज जाँदाको अनुभव, बुबालाई घरको काम गर्दा किन अरुले जिस्क्याउँछन् भन्ने प्रश्न, बुबाले घरको काम गर्नुको रहस्य, आफ्नो काम आफैँ गर्नुपर्छ आदि उपक्रम रहेका छन् । 

छोरा र छोरी एकै हुन् । उनीहरूमा विभेद गर्नु हुँदैन । छोरीहरूले घरधन्दा गर्ने तर छोराहरू भने खेलेर बस्ने गर्नु हुँदैन । सबैले सबै काम सिक्नु र जान्नुपर्छ । काम पालैपालो गर्नुपर्छ । घरको काम छोरी मान्छेले मात्रै गर्नुपर्छ भन्ने धारणा राख्नु हुँदैन । कसैले घरको काम गरेको देखेँ भने जिस्क्याउने होइन, आफूले पनि घरको काम गर्ने बानी बसाल्नुपर्छ । 

कथाक्रम ४ ‘आमाले हिसाब जान्नुभयो’मा पाँचवटा उपक्रम छन् । जसमा आमाको हिसाबमा आएको गडबड, पैसा कम हुँदा आमाले छोराछोरीलाई सोधेको, हिसाबमा सय रुपैयाँ बढी हँुदाको पीर, आमाले हिसाब नजानेपछि बहिनीले हिसाब सिकाइदिएको, सधैँ बजार गए पढाइ छुट्छ भनी सम्झाएको आदि छन् । 

कुरा बुझ्दै नबुझी अरुलाई दोष लगाउनु हुँदैन । बिनाकारण आरोप लगाउनु नराम्रो हो । समस्याबाट भागेर समाधान हुने पनि त होइन भन्ने सन्देश यो कथाक्रमले दिएको छ ।

कथाक्रम ५ ‘आमाले बराबरी गर्नुभयो’मा ११ वटा उपक्रम रहेका छन् । जसमा जुडसितल पर्व मनाउँदा दाइले आफ्नो भाग खाना खोसेर भाग्दाको रिस, आमाले फुटबल ल्याउँदा खुसीको सीमा नरहेको, फुटबल कसले खेल्ने भनी झगडा गरेको, आमाले फुटबल खेल्न नियम बनाउनुभएको, कथाकी पात्रले फुटबल खेलमा गोल गर्दाको खुसी, प्रतियोगितामा परिवारको एकजनाले मात्रै भाग लिन पाउने भन्दाको दुःख, कथाकी पात्रले प्रतियोगिताको बेस्ट प्लेयर हुँदाको फुक्र्याइ आदि विषय आएका छन् । छोरा र छोरीबिचको भेदभाव कायम रहेकाले कथाकी पात्रले फुटबल खेल्दा सबैले जिस्क्याएको उदाहरण पनि यस कथाक्रममा छन् । 

कथाक्रम ६ ‘आमाले भन्नुभयो लुक्नुपर्दैन’मा १० वटा उपक्रम रहेका छन् । जसमा अँध्यारोमा डर सबैलाई लाग्छ, कथाकी पात्रको साथी कहाँ गई भन्ने जिज्ञासा, साथी नआउनुको कारण थाहा पाएपछि भेट्न गएको, कारण कसैलाई नभन्नु भन्दा अचम्म मानेको, तँ अब ठुली भइस् भनेर खेल्न नदिँदाको दुखेसो आदि छन् । हाम्रो समाजमा अझै पनि अन्धविश्वास रहेका छन् । कथाकी पात्रकी साथीलाई महिनावारी हुँदा लुकाएर राखिएको तर छोरी महिनावारी हुँदा लुकाउनुपर्छ भनेर कथाकी पात्रका बुबाले भन्दा आमाले नमानेको, अन्धविश्वासको पछि लागेर हुन्न भन्दै आमाले बुबालाई सम्झाएको कथाक्रमको उपक्रममा छ । 

कथाक्रम ७ ‘आमाको दोकान खुल्यो’मा आठवटा उपक्रम छन् । जसमा आफ्नी साथीले चम्किलो र नौलो खालको पेन ल्याउँदा अचम्म मानेको, पात्रलाई पनि त्यो पेन चाहिएको तर पेन महँगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले किन्न नसक्दाको दुःख, घरमा टीभी आउँदाको खुसी, ठूलो टीभी चाहियो भनेर कसैले पनि खाना नखाएको, आमाले टीभी किन्न मान्दा खुसी भएको, आमाले आफ्नै दोकान खोल्नुभएको आदि विषयवस्तु रहेका छन् । 

मेरो घरमा आमा र बुबाबिच काममा विभेद भएको मैले कहिल्यै देखिनँ, दुवैजना कामकाजी हुनुहुन्छ । दुवैजना घरायसी काममा उसैगरी खट्नुहुन्छ । हामी दिदीभाइमा पनि कुनै फरक व्यवहारको आभास गरेकी छैन मैले तर किताब पढ्दा हाम्रो हजुरआमा र आमाहरूले भोग्नुपरेको दुःखको पाटो थाहा भयो, जुन जीवन उपयोगी लागे । 

यस पुस्तकमा गाउँघरको परिवेश आएको छ, यसमा आएका विषयवस्तु हामीजस्ता बालबालिकाको भोगाइजस्तो लाग्छ, तर सहरका बालबालिकाले कसरी सङ्घर्ष गरिरहेका हुन्छन् भन्ने यस पुस्तकमा भेटिएन । युवा अवस्थामा प्रवेश गरेकाहरूले बाल्यकालको स्मरणका लागि र प्रौढ पुस्ताले आफूले गरेको सङ्घर्षको सम्झना दिलाउने पुस्तक हो जस्तो लाग्छ ‘आमाले सक्नुहुन्छ’ ।

समग्रमा मलाई यो किताब उपयोगी लाग्यो । यसले समस्याहरू समाधान गर्न; घर र समाजमा राम्रो वातावरण बनाउन सिकाउँछ । तपाईंले पनि पढ्नुभएको छ कि यो पुस्तक ? थप कुरा मलाई नि बुझाइदिनु ल । 

(सिद्धार्थ मावि हेटौँडा– २ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वरूपा गुरागाईं
स्वरूपा गुरागाईं
लेखकबाट थप