सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी बजेटबारे प्रह्लाद बुढाथोकीले दिए सुझाव

शुक्रबार, ३० चैत २०८०, १५ : ०२
शुक्रबार, ३० चैत २०८०

 नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकीले बजेट बनाउँदा सरकारले आधार र विशेषताबारे प्रस्ट हुन आवश्यक रहेको टिप्पणी गरेका छन् । आगामी बजेटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरोकारवालाहरूसँग परामर्श गरिरहेको बेला बुढाथोकीले बजेट बनाउँदा तीन पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 

 यस्ता छन् बजेटबारे बुढाथोकीले दिएका सुझाव-

बजेट सरकारको वार्षिक आय–व्ययको विवरण मात्र नभएर मूलतः यो सरकारको गन्तव्यको  दस्ताबेज पनि  हो । त्यसैले बजेट बनाउँदा सरकारले जान खोजेको कता हो  र त्यसका लागि हाम्रो आधार र विशेषता के के छन् भन्ने प्रस्ट हुनु आवश्यक छ। देश  पिछडिएको कृषि अर्थतन्त्रमा आधारित रहेको र देश चलाउन रेमिट्यान्सको भर पर्नु पर्ने अवस्था रहेको स्थितिमा विकासको बजेट बनाउनु आफैँमा एक चुनौतीपूर्ण कार्य हो ।

सुशासन र सामाजिक न्याय सहितको समृद्धिको लक्ष बोकेको सरकारको लागि यो एक अग्नि परीक्षा पनि हो । यो बजेट १६ औँ पञ्चवर्षीय योजनाको तयारीको समयमा रहेको कारण पनि अझ यसको विशेष महत्त्व रहेको छ । बजेट बनाउँदा तीन वटा आयाममा ध्यान दिन आवश्यक छः 

पहिलो– विकासको मोडेल बनाउँदा आफ्नो आधार (धरातल)लाई टेक्ने ,

दोस्रो– विकासको प्रतिफल समाजका सबै पक्षले उपयोग गर्न पाउने अवस्था सिर्जना गर्ने, विकास भनेको भौतिक पूर्वाधार मात्र नभएर आर्थिक सामाजिक पूर्वाधार पनि हो ।

तेस्रो– विकासले जहिल्यै पनि नयाँ नयाँ अन्वेषणमा आधारित भएर अघि बढ्नुपर्छ । यसको लागि  आन्तरिक र बाह्य स्रोतलाई जुटाउन सक्नुपर्छ ।

सरकारको कामको दायरा धेरै हुन्छ । त्यसैले बजेट बनाउँदा हाम्रो विकासको मूल आधारलाई ठम्याउन आवश्यक छ । सरकारको अगाडि स्वाभाविक रूपमा दुई वटा दायित्व हुन्छ । पहिलो पुरानो कामलाई सम्पन्न गर्ने, दोस्रो नयाँ योजनाको थालनी गर्ने ।

दुवैको आफ्नो ठाउँमा महत्त्व छ । पुरानो कामलाई थाती राख्दै जाने र नयाँ नयाँ योजना मात्रै ल्याउने कुराले पनि हामी कहीँ  पुग्दैनौँ । त्यस्तै पुराना योजनामा मात्र सीमित भयौँ भने मुलुकको आजको आवश्यकता पूरा गर्न सक्दैनौँ ।

यी हुन् विकासका चार वटा आधार 

१. कृषि– कृषि हाम्रो जीवनको मूल आधार हो । कृषि हाम्रो संस्कृति हो र हाम्रो सभ्यता पनि हो । कृषिमा व्यवसायीकरण, यान्त्रिकीकरण,औद्योगिकीकरण गरी कृषिमा क्रान्ति ल्याउनु पर्छ । त्यसको लागि प्रविधिको विकास, पुँजी लगानी र जनशक्तिको परिचालन गर्नुपर्छ ।

२. जलश्रोत– जलस्रोतमा हामी विश्वको दोस्रो धनी देश हो । यसको समुचित प्रयोग गर्दै हामी समृद्धिमा अघि बढ्नु छ ।

राज्यले यसलाई महत्वको  साथ हेरेको पनि छ । जलश्रोतमा हामी विश्वको दोस्रो धनी  देश भए पनि एक समय उत्पादन  क्षमतामा सबभन्दा पछाडि भएको कारण उपभोगबाट वञ्चित भइरहनु पर्ने जस्तो विकराल स्थितिबाट आज बिस्तारै विद्युतमा आत्मनिर्भर हुने र  निकासी पनि गर्न सक्नेतिर जाँदै छ । तर हामीले बुझ्ने कुरा के हो भने विद्युत् बेचेर होइन विद्युतको आन्तरिक भरपुर उपयोग गरेर मात्र हामी समृद्ध हुन सक्छौँ ।

३.पर्यटन– हाम्रो विकासको अर्को आधार पर्यटन हो । हाम्रो भूगोल धार्मिक, प्राकृतिक, सांस्कृतिक र सामाजिक अध्ययन अवलोकनको थलो हुनुको साथै यसलाई  शिक्षा र स्वास्थ्यको हबको  रूपमा विकास गर्न र पूर्वीय  दर्शनको ज्ञान आर्जनको केन्द्र बनाउन सकिन्छ । यहाँको हावापानी, वनस्पति  र प्राकृतिक छटा आफैँमा  अनुपम छ । पर्यटन हाम्रो मानवीय उपलब्धि र प्राकृतिक सौन्दर्य विश्वव्यापीकरणद्वारा आय आर्जन गर्ने महत्त्वपूर्ण आधार हो ।

४. वन– वन हाम्रो विकासको अर्को महत्त्वपूर्ण आधार हो । ‘हरियो वन नेपालको धन’ यो हिजोको नारा मात्र होइन ,आज पनि त्यतिकै सार्थक छ । वन पैदावार , जडीबुटी र पर्यावरण यसका मुख्य पक्ष हुन् ।

वन पैदावार(काठ बाँस), जडीबुटी आदि हाम्रो दैनिक जीवनको उपयोगी वस्तुको  श्रोत देखि त्यसमा आधारित उद्योग धन्दाबाट देशको अर्बौँ–खर्बौँको आयस्रोत पनि हो ।

पर्यावरणको आज कत्रो महत्त्व छ भन्ने पर्दैन । पर्यावरणको संरक्षणबिना अब जीवनको सुरक्षा समेत छैन । यसकोलागि वन र वातावरण यसको  महत्त्वपूर्ण पक्ष हो । यसबाट मनग्ये आय आर्जन समेत गर्न सकिन्छ । यी चार पूर्वाधार हाम्रा विकासका मूल आधार हुन् । यसको समुचित विकास गरेर मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ ।

यी चार वटा आधार (पिलर) मध्ये अहिले कृषिमा केन्द्रित हुनु पर्दछ । हाम्रो मुलुक नै कृषि प्रधान देश भएको कारण कृषिको विकासबिना हाम्रो विकास सम्भव छैन । कृषिमा केन्द्रित नभईकन हाम्रो अर्थतन्त्र बन्दैन । अर्थतन्त्र नबनीकन समृद्धि आउँदैन र समाजवादको आधार बन्दैन । तसर्थ कृषिमा आत्मनिर्भर हुने अवस्था निर्माण गर्नुपर्छ । कृषिको समग्र विकासको निम्ति निम्न पाँच वटा विषय तयारी गर्नुपर्छ ।

१. भूमि व्यवस्था–भूमि ऐन मा सुधार ल्याई कृषि योग्य जमिनलाई  चक्कलाबन्दी लागु गरी व्यवसायीक र  सामुहिक उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने । सम्पूर्ण ऐलानी आवादी जमिनलाई जोत भोगको आधारमा दर्ता कायम गरी देशमा लाखौँको सङ्ख्यामा रहेका गरिब किसानहरूको हक सुनिश्चित गर्नु पर्दछ । साथै  किसान मैत्री वातावरण सिर्जना गरी कृषि कर्मलाई मर्यादित बनाउने ।

२. प्राविधिक व्यवस्था–  कृषि विज्ञ व्यापक मात्रामा उत्पादन गरी खेतखेतमा प्राविधिक पुर्‍याउने व्यवस्था गर्नु पर्दछ । (प्रविधिको प्रयोग ः कृषि औजार कारखाना सञ्चालन गरी नेपाल मै सहज रूपमा कृषि उपकरण पाउने व्यवस्था गर्नु पर्दछ ।

३. उत्पादन व्यवस्था– सिँचाइ, मल, बिउ र तटबन्धको समुचित व्यवस्था गर्नु पर्दछ । कृषि बिमा लागू गरी उत्पादन अनुदान र बाली बिमाको सुनिश्चितता गर्नु पर्दछ ।

४. प्रशोधन व्यवस्था– कृषि उत्पादनलाई प्रशोधन गरी उपभोग्य बनाउन कृषिमा आधारित  उद्योग धन्दाहरू सञ्चालन गर्नु पर्दछ ।

५. उपभोग व्यवस्था– भण्डारण र बजारीकरणको सुव्यवस्था गरी उपभोक्ताहरू बिच सुरक्षित, सहज र सुलभ रूपमा पुग्ने व्यवस्था गर्नु पर्दछ ।

(साथै रासन कार्ड लागु गरी सर्वसाधारण जनतामा सस्तो र सुलभ रूपमा रासन पाउने व्यवस्था गर्नु पर्छ ।

यसरी प्राविधिक  शैक्षिक संस्था, उद्योग धन्दा, सिँचाइ व्यवस्था  (नहर, कुलो, बोरिङ) निर्माण, तटबन्ध निर्माण, मल कारखाना स्थापना, बिउ उत्पादन, बिमा कार्यक्रम, शीतभन्डार सञ्चालन, बजार व्यवस्था लगायत यावत क्षेत्रमा गति आउँछ । यसले अर्थतन्त्र चलायमान भई रोजगारी सिर्जना हुनुको साथै कृषिमा आत्मनिर्णय भई अर्बौको विदेशी रकम सञ्चित हुनेछ । यसले आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नेछ ।

यस पटकको बजेट कृषिमा,कृषिको केन्द्र मधेसमा 

देश कृषिप्रधान र मधेस कृषिको केन्द्र भएको कारण र यसै वर्ष १६ औँ पन्चवर्षी योजना पनि आउने लागेकाले मधेसमा कृषि सम्बन्धित राष्ट्रिय गौरवको योजनाको रूपमा  ‘प्रधानमन्त्री कृषि योजना’को  घोषणा गरौँ ।

त्यसमा सबभन्दा पहिले मधेसको सम्पूर्ण कृषि योग्य जमिनमा नहर प्रणालीद्वारा सिँचाइको प्रबन्ध गर्नु पर्दछ । र, नदी तथा खोलाहरूमा तटबन्ध को व्यवस्था गर्नु पर्दछ । त्यसको लागि कोशी देखि गण्डक सम्म चुरे नहर प्रणालीको राष्ट्रिय योजना घोषणा गरौँ । चुरे क्षेत्रमा नहर प्रणाली तयार गरी चुरेको पानी होल्ड गर्ने र कोशी र गण्डकीको पानी ल्याएर उक्त नहरमा जोड्नु पर्छ ।

सुनकोसी– मरिन डाइभर्सन जस्तो २÷३ वटा  योजना अरू बनाएर सिधै चुरेको नहरमा पानी खसाल्ने र चुरे भेगदेखि सिङ्गो तराई मधेसमा सिँचाइ गरी कृषि उत्पादनमा फड्को मार्न सक्नेछ ।  यसले चुरेको संरक्षण र तराई मधेसमा अन्नको भण्डारण दुवै काम गर्नेछ ।

यसले मधेसलाई मात्र होइन सिङ्गो देशलाई महत्त्वपूर्ण योगदान गर्नेछ । कृषि प्रधान देश भएर पनि विदेशबाट अर्बौँको  दाल चामल र तरकारी समेत किनेर खानुपर्ने विडम्बनापूर्ण अवस्थाबाट मुक्ति मिल्नेछ ।

यस पटकको नारा–कृषि हाम्रो जीवन सहारा । कृषिमा क्रान्ति हाम्रो अभिभारा । भन्ने हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रल्हाद बुढाथोकी
प्रल्हाद बुढाथोकी
लेखकबाट थप