मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
वर्ष समीक्षा

२०८० मा विदेश मामिला : नक्सा विवाददेखि इजरायली भूमिमा नेपालीको मृत्युसम्म

शनिबार, ०१ वैशाख २०८१, ०९ : ३३
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले २०८० साल नेपालका लागि त्यति फलदायी देखिएन । २०८० कै सुरुवातदेखि अन्तर्राष्ट्रिय सम्बन्धमा खटपट भएको थियो ।

नक्सा विवाद
भारतीय संसद भवनमा राखिएमो नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको नामसमेत उल्लेख भएपछि नेपालमा त्यसको कडा आलोचना भएको थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी चलिरहेको बेला उक्त नक्सा सार्वजनिक भएपछि जनस्तरबाट समेत व्यापक विरोध भएको थियो ।

वैशाख १० गते बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पनि यसबारे कुरा उठेको थियो । त्यसको जवाफमा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारेमा भारतसँग कुरा गर्ने बताएका थिए । तर प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहँदा यस विषयमा खासै चर्चा भएन ।

भारतले नक्साको बचाउ गर्दै ‘सांस्कृतिक नक्सा’ भएको प्रतिक्रिया जनाएको थियो । नक्सामा कुनै देशको भूगोललाई समावेश नगरिएको भन्दै उसले अनौपचारिक प्रतिक्रिया जनाएको थियो । जेठ १९ गते राप्रपा नेपालले नेपालस्थित भारतीय दूतावास अगाडि भारतको नक्सा जलाएको थियो ।

जेठ २५ गते भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी देश नेपाल र बंगलादेशमा विवाद नरहेको दाबी गरेका थिए । असार ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतको संसद् भवनमा नेपाली भूभागसहित नक्सा राखेको विषयलाई कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका थिए । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भारतीय संसद्मा कपिलवस्तु राखेर कुँदिएको चित्रबारे प्रधानमन्त्रीले भारतसँग कुरा गर्नुपर्ने बताएका थिए ।

यति हुँदा हुँदै पनि भारतले त्यो नक्सा सच्याएन । पछि नेपालले पनि चासो लिन छाड्यो । नेपालले चुच्चे नक्सा जारी गर्दा पनि यस्तै टिप्पणी भएको थियो । तर भारतले हालसम्म नेपालको त्यो नक्सालाई मान्यता दिएको छैन ।

चीनले जारी गरेको नयाँ नक्सामा पनि नेपालको चुच्चे नक्सालाई समेटेको छैन । चीनले आफ्नो नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कयौँ क्षेत्र आफ्नो सीमामा देखाएपछि भारतले त्यसको विरोध गरेको थियो । चीनसँग यो नक्साको विवाद भइरहँदा प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणको तयारीमा थिए ।

परराष्ट्र मन्त्रालयले पनि भदौ १५ गते विज्ञप्ति जारी गरेर नेपालको नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने धारणा राखेको थियो । चीनले जारी गरेको नक्साको विरोधमा भदौ २२ गते लोसपाले मधेसमा प्रदर्शन गरेको थियो ।

युद्धमा नेपालीको मृत्यु

असोजको दोस्रो हप्तातिर दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भयो । असोज २२ गते प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग भिडियोमार्फत कुराकानी पनि गरेका थिए ।  

त्यसको केही दिनमै पाँच जनाको शव नेपालले प्राप्त गरेको थियो । केही दिनमा अन्यको शव पनि प्राप्त भयो । तर सो हमलामा परी बेपत्ता भएका विपिन जोशीको अवस्था अझै प्रस्ट हुन सकेको छैन ।

तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले इजरायल तथा कतार सरकारसँग यस विषयमा पटकपटक कुरा गरेका थिए । अहिलेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि विपिन जोशीको अवस्था पत्ता लगाउन कूटनीतिक पहल गरेका छन् तर हालसम्म उनको अवस्था अज्ञात नै छ । नेपालले त्यतिबेला इजरायलबाट २५४ जना नेपालीलाई सकुशल उद्धार गरी ल्याएको थियो ।

त्यस्तै रुस–युक्रेन युद्धमा पनि नेपाली मारिएका छन् । रुसी सेनामा नेपालीहरू अवैध रुपमा भर्ना भएका छन् । उनीहरू युद्धमा मारिन थालेपछि मात्र रुसी सेनामा नेपाली रहेको कुरा बाहिर आएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म १९ जना नेपाली युद्धमा मारिएका छन् । रुसी सेनामा रहेका अन्य नेपाली फिर्ता आउन हार गुहार गरिरहेका छन् तर सरकारले फिर्ता ल्याउन सकिरहेको छैन ।

यसका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक प्रयास थाले पनि रुसले आफ्नो सेनामा नेपाली रहेको कुरा औपचारिक रुपमा स्वीकार गरेको छैन ।

युएन महासचिवको भ्रमण

कात्तिक १२ गते संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस चार दिनका लागि नेपाल भ्रमणमा आएका थिए । उनले नेपालमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटघाट गरेका थिए ।

त्यस अवधिमा उनले पोखरालगायत अन्य पर्यटकीय क्षेत्रको भ्रमण पनि गरेका थिए । उनले हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

बोआओ सम्मेलन

चैत १४ गतेदेखि चीनको हाइनान प्रान्तको तटीय सहर बोआओमा सुरु भएको बोआओ फोरम फर एसिया सम्मेलनमा नेपाल सहभागी भएन । सम्मेलन चलिरहेको बेला उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनमै रहे पनि उनी त्यसमा सहभागी भएनन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बोआओ सम्मेलनका लागि चीनले नेपाललाई निमन्त्रणा नै दिएको थिएन । गत वर्ष निमन्त्रणा दिए पनि कोही नगएपछि यसपटक चीनले नेपाल सरकारलाई निमन्त्रणा नै दिएन ।

यद्यपि सो सम्मेलनमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सोपकोटा सहभागी भएका थिए । एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी थिए । नेपाल बोआओको संस्थापक सदस्य हो । विगतका सम्मेलनमा पूर्व राजा, राष्ट्रपति, प्रधानमन्त्री सहभागी भएका थिए । सम्मेलनमा ५० भन्दा बढी देश र क्षेत्रका दुई हजार प्रतिनिधिले भाग लिएका थिए ।

प्रधानमन्त्रीको विदेश भ्रमण

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले २०८० जेठबाट आफ्नो विदेश भ्रमणको सुरुवात गरेका थिए । उनले २०८० मा भारत, अमेरिका, इटाली, दुबई, युगान्डा, चीनको भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणको सुरुवात जेठ १७ गते भारतबाट गरेका थिए । भारतको भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुइको नेतृत्वमा आएको टोलीले भेटघाट गरेको थियो ।

संयोग नै मान्नपर्छ, प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि भारतको दिल्ली पुगेका थिए ।

भारत भ्रमणमा गएकै दिन प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रालाई छुट्टाछुट्टै भेटेका थिए । जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको थियो ।

जेठ १९ गते प्रधानमन्त्री प्रचण्डले भारतको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा विशेष पूजा गरेका थिए । सो पूजापछि प्रधानमन्त्री प्रचण्डको निकै आलोचना भएको थियो । गेरुवा वस्त्र धारण गरेर प्रचण्डले पूजा गरेका थिए । उनी भारतबाट फर्केपछि जेठ २८ मा पशुपतिमा गएर पूजापाठ गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड साउन ६ इटाली पुगेका थिए । उनी ६ दिनपछि स्वदेश फर्केका थिए । उनी फर्केकै दिन माओवादी नेतृ पम्फा भुसालको नेतृत्वमा भारत भ्रमणमा गएका नेताहरू पनि स्वदेश फर्केका थिए ।

प्रधानमन्त्री प्रचण्ड इटली उडेकै दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल इण्डोनेसिया प्रस्थान गरेका थिए । त्यसको चार दिनअघि एमालेका अध्यक्ष केपी शर्मा ओली आम निर्वाचनको पर्यवेक्षणका लागि कम्बोडिया प्रस्थान गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन भदौ ३० गते प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्ड अमेरिका उडेकै दिन जनमत पार्टीका अध्यक्ष सीके राउत पनि अमेरिका गएका थिए । अध्यक्ष राउत अमेरिकाबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादव पनि अमेरिका पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट असोज ५ गते चीन पुगे भने असोज १३ गते चीनबाट नेपाल फर्केका थिए । त्यही दिन प्रधानन्यायधीश र तत्कालीन कानुनमन्त्री धनराज गुरुङ भारतबाट फर्केका थिए । प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीनमा गरी दुई हप्ता लामो विदेश भ्रमण गरेकोमा समेत त्यतिबेला आलोचना भएको थियो ।

मंसिर १३ गते प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई गएका थिए । उनी १६ गते स्वदेश फर्केका थिए ।

माघ ४ गते असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा भाग लिन उनी युगान्डा प्रस्थान गरेका थिए । युगान्डामा प्रधानमन्त्री प्रचण्डले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भारतीय विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड माघ ७ मा युगाण्डाबाट फर्केका थिए । उताबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले फागुनमा गठबन्धन परिवर्तन गरेका थिए । त्यसपछि भारतीय विदेशमन्त्री एस जयशंकरले एक अन्तरवार्तामा भनेका थिए, ‘गठबन्धन परिवर्तन हुँदैछ भन्ने कुराको सङ्केत प्रधानमन्त्री प्रचण्डले युगाण्डामा नै गर्नुभएको थियो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप