शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम

शुक्रबार, २२ जेठ २०८३, १७ : ०७
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्सतर्फ बागमती प्रदेशले सर्वाधिक ११ स्वर्ण पदक जितेको छ ।
  • यस पटकको एथलेटिक्समा २ व्यक्तिगत र १ टिम स्पर्धा गरी जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् ।
  • तेक्वान्दोमा बागमतीले ५ स्वर्ण जित्दा करातेमा कोशी प्रदेशले सर्वाधिक ३ स्वर्ण जितेको छ ।

काठमाडौँ । १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्सतर्फ बागमती प्रदेशले सर्वाधिक ११ स्वर्ण पदक जितेको छ । बागमतीले स्वर्णका साथै ७ रजत र ५ कांस्य पदक पनि आफ्नो नाममा गर्‍यो ।

एथलेटिक्सका विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । जसमा सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो । त्यसैगरी लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्य, गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जिते । प्रतियोगितामा कोशी प्रदेश स्वर्णविहीन बन्दै समान २–२ रजत र कांस्य पदकमा चित्त बुझाउन बाध्य भयो भने मधेश प्रदेशले कुनै पनि पदक जित्न सकेन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम दिनको खेलमा ८ स्पर्धाको फाइनल प्रतिस्पर्धा भएको थियो । छात्र २ सय मिटर दौडमा लुम्बिनीका भगवानदास लोहार २२.६४ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो भए । सोही स्पर्धाको छात्रातर्फ लुम्बिनीकै गरिमा चौधरीले २७.३७ सेकेन्ड समय निकाल्दै स्वर्ण जितिन् । छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही ९ मिनेट २०.१ सेकेन्डका साथ पहिलो बने भने छात्रातर्फ लुम्बिनीकी अन्जुली मल्लले ११ मिनेट ०३.६ सेकेन्डमा दूरी तय गर्दै स्वर्ण हात पारिन् ।

छात्र ट्रिपलजम्पमा सुदूरपश्चिमका विक्रमनाथले १३.५५ मिटर जम्प गर्दै पहिलो स्थान बनाए । सोही स्पर्धाको छात्रातर्फ बागमतीकी अनिशा थारुले ११.१० मिटर जम्प गरेर स्वर्ण जितिन् । ४ गुणा १ सय मिटर रिलेको छात्रतर्फ लुम्बिनी र छात्रातर्फ बागमती प्रदेश शीर्ष स्थानमा रहे ।

तीन जुनियर राष्ट्रिय कीर्तिमान

यस पटकको एथलेटिक्समा २ व्यक्तिगत र १ टिम स्पर्धा गरी जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले १.८६ मिटर जम्प गर्दै नयाँ कीर्तिमान कायम गरे । छात्रा ४ सय मिटर दौडको हिट चरणमा बागमतीकी भगवती खड्काले ५८.९४ सेकेन्डमा दूरी पूरा गर्दै कीर्तिमान रचिन् । भगवतीले कीर्तिमानी विधासहित प्रतियोगितामा कुल ४ स्वर्ण जित्न सफल भइन् । उनले ४ सय मिटर दौडबाहेक ८ सय मिटर दौड, ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेकी हुन् ।

यसैगरी छात्रा ४ गुणा ४ सय मिटर रिलेमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकी प्रदेशको टोलीले ३ मिनेट २७.९ सेकेन्डमा दूरी तय गर्दै नयाँ कीर्तिमान स्थापित गर्‍यो ।

तेक्वान्दो र करातेको नतिजा

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको तेक्वान्दो प्रतियोगितामा बागमतीले ५ स्वर्ण जित्दै आफ्नो दबदबा कायम राख्यो । कुल १२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिम र मधेश प्रदेशले समान २–२ स्वर्ण जिते । कोशी, गण्डकी र लुम्बिनीले समान १–१ स्वर्ण हात पार्दा कर्णाली प्रदेश भने स्वर्णविहीन बन्यो ।

कीर्तिपुरस्थित कभर्डहलमा सञ्चालन भएको कराते प्रतियोगितामा कोशी प्रदेशले सर्वाधिक प्रदर्शन गर्दै समान ३–३ स्वर्ण, रजत र कांस्य पदक जित्यो । कुल १२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले ३ स्वर्ण र ५ कांस्य तथा सुदूरपश्चिमले ३ स्वर्ण र ४ कांस्य पदक हात पारे । करातेतर्फ बागमतीले २ स्वर्ण जित्दा मधेश प्रदेशको भागमा १ स्वर्ण पर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप