मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी ठगी गर्ने रवि र गृहमन्त्री एउटै हो कि होइन खोज्न संसदीय समिति बनाउनुपर्छ : गगन थापा

मङ्गलबार, ०४ वैशाख २०८१, १७ : १४
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति आवश्यक रहेको सरकारी वकिलकहाँ दर्ता भएको मुद्दाले प्रमाणित भएको बताएका छन् ।

संवाद यात्राका क्रममा कञ्चनपुरमा मंगलबार थापाले संसदीय छानबिन समिति बनाएर गृहमन्त्री रवि लामिछानेबारे खोज्नुपर्ने बताएका हुन् ।

‘प्रहरीले सरकारी वकिल कहाँ मुद्दा दर्ता गर्‍यो । मुद्दा दर्ता गर्दै गर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो,’ थापाले भने, ‘प्रहरीले केलाई आधार बनायो भने सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने थाहा नभएकाले त्यो अनुसार प्रतिवादी बनाउन सकिएन । सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर खोज्नु पर्‍यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ ?’

सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठुला भनिएका व्यक्तिले पनि सोही मुताविकको दण्ड पाउनुपर्ने उनले बताए । 

‘कानुनको शासनको मुख्य कुरा भनेको एउटा सर्वसाधारणले कुनै कुरा गर्दा गल्ती र अपराध मानेर दण्ड पाउँछ भने शक्तिशालीले पनि त्यो कुरा गर्दा गल्ती नै हुन्छ,’ महामन्त्री थापाले भने ।

सजायको पुराना पार्टीका मान्छेले पाउने र नयाँ पार्टीका मान्छेले नपाउने भन्ने नहुने थापाले बताए । ‘आफ्नै पार्टीको होस्, अरू पार्टीको होस्, यो पार्टीको होस् त्यो पार्टी भन्दैनौँ,’ थापाले भने ।

जनतामा लोकप्रिय र सरकारमा शक्तिशाली छु भन्दैमा कानुनभन्दा माथि कोही नहुने उनको भनाइ छ । ‘यो ठाउँमा कांग्रेस, एमाले र माओवादी भए पनि वा नयाँ, पुरानो जुन दलको भए पनि खोज्नुपर्थ्यो,’ थापाले भने, ‘सरकार र प्रतिपक्ष भन्ने कुरा हुन्छ ? जनतामा म लोकप्रिय र सरकारमा शक्तिशाली वा पारिवारिक विरासत छ भनेर कोही पनि कानुनभन्दा माथि हुँदैन ।’

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान हुनुपर्ने माग गर्दै आएको थियो ।

कांग्रेसले सहकारी ठगीको मुद्दा सशक्त ढंगले उठाएपछि वैशाख २ मा सरकारले संसद् अधिवेशन नै अन्त्य गरिदिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप