सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
विचार

बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र

सोमबार, ०१ असार २०८३, ०७ : ११
सोमबार, ०१ असार २०८३

सारांश

  • बाँदरको सङ्ख्या अनियन्त्रित रूपमा बढ्दा किसानको बालीनाली नष्ट हुनुका साथै ग्रामीण जीवनयापनमा गम्भीर असर परेको छ।
  • समस्याको दीर्घकालीन समाधानका लागि बाँदरको जनसङ्ख्या नियन्त्रणको वैज्ञानिक व्यवस्थापन आवश्यक छ, जसका लागि खुला बहसको खाँचो छ।
  • राज्यले नागरिकको सुरक्षा र जीविकोपार्जनको संरक्षण गर्नुपर्ने दायित्व निर्वाह गर्दै बाँदर व्यवस्थापन कार्यविधि समयानुकूल परिमार्जन गरी स्थानीय समुदायको सहभागितामा लागू गर्नुपर्छ।

ब्रह्माण्डमा प्राण भएका जीवहरूमा मानव जाति, पशुपन्छी तथा अन्य जीवहरू पर्दछन्। मानवमा विकसित बुद्धि, भाषा, संस्कृति र सामाजिक सङ्गठनको क्षमता भएकाले उसले अन्य जीवहरूलाई आफ्नो दृष्टिकोण र आवश्यकताअनुसार वर्गीकृत गर्दै आएको छ। पशुपन्छीलाई खाद्ययोग्य र अखाद्य, हिंसक र अहिंसक, घरपालुवा र जङ्गली, दुर्लभ र सामान्य, उपयोगी र हानिकारक जस्ता विभिन्न श्रेणीमा विभाजन गरेको छ भने पशुपालन असङ्ख्य मानिसहरूको जीविकोपार्जनको प्रमुख साधन बनेको छ।

पशुपन्छीको संरक्षण, सिकार, बलि तथा व्यवस्थापनको विषयमा विश्वभर मतभेद छन्। एक पक्षले पशु अधिकार र करुणाको पक्षमा आवाज उठाउँछ भने अर्को पक्षले मानव आवश्यकता, जीविकोपार्जन, कृषि उत्पादन र वन्यजन्तु व्यवस्थापनलाई प्राथमिकता दिन्छ।अर्कोतिर मानव समाजमा जनावरप्रतिको दृष्टिकोण एकरूप हुँदैन। कसैलाई कुनै जनावर अत्यन्त प्रिय लाग्न सक्छ भने अर्कोलाई त्यही जनावर मन नपर्न सक्छ। कतिपय मानिसहरू जनावरप्रति विशेष लगाव राख्छन् भने कतिपयलाई त्यति चासो नै हुँदैन।

पृथ्वीमा कुनै पनि प्रजातिको अत्यधिक जनघनत्वले वातावरण, पारिस्थितिक प्रणाली (इकोसिस्टम) र प्राकृतिक सन्तुलनमा असर पार्न सक्छ। मानव जातिको जनसङ्ख्या वृद्धि पनि विभिन्न प्राकृतिक विपत्ति, महामारी, दुर्घटना, युद्ध तथा अन्य कारणहरूले प्रभावित हुँदै आएको छ। अर्कोतर्फ परिवार नियोजन, बन्ध्याकरण, शिक्षा र जनचेतनामूलक कार्यक्रममार्फत जनसङ्ख्या वृद्धिलाई नियन्त्रण गर्ने प्रयास पनि विश्वभर भइरहेको छ।

प्रकृतिमा सबै पशुपन्छीहरूको आफ्नै स्थान र महत्त्व छ। तर कुनै एक प्रजातिको असन्तुलित वृद्धि भएर मानव समुदायको जीवनयापन, जीविकोपार्जन र आर्थिक गतिविधिमै गम्भीर असर पर्न थालेमा त्यसको वैज्ञानिक व्यवस्थापन आवश्यक हुन्छ।

वैज्ञानिक व्यवस्थापन भन्नाले भावना र आस्थाभन्दा माथि उठेर तथ्य, अनुसन्धान र यथार्थका आधारमा निर्णय लिनु हो। संरक्षणको अर्थ कुनै प्रजातिलाई अनियन्त्रित रूपमा बढ्न दिनु होइन; मानव, वन्यजन्तु र प्रकृतिबिच सन्तुलन कायम गर्नु नै यसको उद्देश्य हो।

विश्वका धेरै विकसित देशहरूले वन्यजन्तु व्यवस्थापनका लागि धेरै उपायहरूमध्ये जनसङ्ख्या नियन्त्रणका नीतिहरू पनि अपनाएका छन्। कुनै प्रजातिको सङ्ख्या अत्यधिक वृद्धि भएर वातावरणीय सन्तुलन, कृषि उत्पादन वा मानव जीवनमा प्रतिकूल असर पर्न थालेमा वैज्ञानिक अध्ययनका आधारमा त्यसको व्यवस्थापन गरिन्छ। 

उदाहरणका लागि अमेरिकामा हिरणको अत्यधिक सङ्ख्या नियन्त्रणका लागि नियन्त्रित सिकार कार्यक्रम सञ्चालन गरिन्छ भने क्यानडा र बेलायतमा पनि आवश्यकताअनुसार कानुनी तथा वैज्ञानिक उपायहरू अपनाइन्छन्। अस्ट्रेलियामा कङ्गारु नियन्त्रणका लागि त्यहाँको सरकारले ‘कङ्गारु व्यवस्थापन योजना’ अनुसार हरेक वर्ष हवाई सर्वेक्षण मार्फत कंगारूको जनसङ्ख्या अनुमान गरी निश्चित सङ्ख्यामा कङ्गारु मार्न पाइने गरी कोटा तोकिन्छ । त्यहाँ यस्ता निर्णय भावना वा आस्थाका आधारमा होइन, वातावरणीय सन्तुलन, मानव हित र वैज्ञानिक तथ्यका आधारमा गरिन्छन्।

नेपालका धेरै गाउँ–बस्तीहरू आज एउटा गम्भीर समस्याबाट पीडित छन्—बाँदर आतङ्क। यो समस्या अब केवल किसानको बाली नष्ट हुने विषयमा सीमित छैन; यसले ग्रामीण जीवन, खाद्य सुरक्षा, स्थानीय अर्थतन्त्र र बसाइसराइसम्म प्रभाव पार्न थालेको छ। कतिपय ठाउँमा किसानले वर्षभरि गरेको मेहनत केही घण्टामै बाँदरको समूहले नष्ट गरिदिन्छ। बाली जोगाउन दिनरात पहरा दिनुपर्ने अवस्था छ। धेरै किसान खेती गर्न निरुत्साहित भएका छन्। कतिपय स्थानमा खेतीयोग्य जमिन बाँझो बस्न थालेको छ।

बाँदरलाई माया गर्नु र किसानको जीवन बचाउनु एकअर्काका विरोधी विषय होइनन्। तर किसानहरूको श्रम, उत्पादन र जीविकाको संरक्षण गर्नु राज्यको दायित्वभित्र पर्दछ। त्यसैले विगतमा पनि बाँदर नियन्त्रणका लागि विभिन्न उपायहरू अपनाइए। ती उपायहरू दीर्घकालीन रूपमा प्रभावकारी हुन सकेनन्। बाँदरको सङ्ख्या बढ्दै गयो र समस्या झन् जटिल बन्दै गयो। जबसम्म बाँदरको जनसङ्ख्या नियन्त्रणको मूल प्रश्न सम्बोधन हुँदैन, अन्य ससाना उपायहरूले दीर्घकालीन समाधान दिन सक्दैनन्।

यदि केही वर्षभित्र बाँदरको जनसङ्ख्या अझ तीव्र रूपमा वृद्धि भई जङ्गलमा आहारको अभावका कारण गाउँबस्ती हुँदै सहरसम्म प्रवेश गरेर व्यापक क्षति पुर्‍याउने अवस्था आयो भने त्यसबेला बाँदरको जनसङ्ख्या नियन्त्रणको विषय अनिवार्य रूपमा उठ्नेछ। समस्या भयावह बनेपछि मात्र उपाय खोज्नुको सट्टा आजै दीर्घकालीन समाधानतर्फ अग्रसर हुनु बुद्धिमानी हुनेछ। समयमै गरिएको व्यवस्थापनले भविष्यको ठुलो सङ्कट टार्न सक्छ।

आज वास्तविक प्रश्न उठाउनुपर्ने समय आएको छ—के हामी बाँदरको जनसङ्ख्या नियन्त्रणको विषयमा खुला बहस गर्न तयार छौँ? नेपालमा बाँदरको जनसङ्ख्या नियन्त्रणको कुरा उठ्नासाथ कतिपयले यसलाई धार्मिक वा भावनात्मक विषय बनाइदिन्छन्। परिणामस्वरूप वास्तविक समाधानबारे बहस नै हुन सक्दैन। 

बाँदरको रूप हनुमानजीसँग मिल्ने भएकाले कतिपयले यस विषयलाई धार्मिक दृष्टिकोणबाट हेर्ने गर्छन्। तर संकटमोचक , आदर्श, शक्ति र सेवाभावका प्रतीक हनुमानजीलाई कृषि उत्पादन नष्ट गर्ने र जनजीवन प्रभावित गर्ने बाँदरसँग तुलना गर्नु उचित हुँदैन। मानव जातिमै पनि सबैको शारीरिक बनावट मिल्दोजुल्दो हुन्छ, तर कोही मानवता, सेवा र सदाचारको मार्गमा हिँडेर माधव (भगवान) सरह सम्मानित हुन्छन् भने कोही दुष्कर्मका कारण दानवसरह बन्दछन् ।

मानव समाजमा नियम र कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई अपराधको प्रकृतिअनुसार आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय दिइन्छ। राज्यले आफ्ना नागरिकको सुरक्षा र हितका लागि ठुलो मूल्य चुकाउन पनि पछि हट्दैन। कुनै आतंककारी समूहले व्यक्ति वा  गाउँ बस्ती कब्जा गरेमा त्यसबाट मुक्ति दिलाउन राज्यले आवश्यक कदम चाल्छ। तर बाँदर आतङ्कका कारण मानव बस्ती उजाडिने, खेतीपाती नष्ट हुने, जनजीवन संकटमा पर्ने र नागरिकहरू विस्थापित हुने अवस्थामा राज्य मुखदर्शक भएर बस्न मिल्दैन। नागरिक जीवन, सम्पत्ति र जीविकोपार्जनको संरक्षण राज्यको सर्वोच्च दायित्व हो।

बाँदर आतंकबाट प्रत्यक्ष पीडित नभएका केही समूहहरू भन्छन्—“पृथ्वीमा बाँच्ने अधिकार जनावरहरूको पनि छ”। निस्सन्देह छ। तर गाउँबस्ती उजाड्ने र किसानलाई विस्थापित गर्ने अधिकार कुनै प्रजातिलाई हुँदैन। 

प्रत्यक्ष पीडा भोगिरहेका स्थानीय समुदायहरूको अनुभव र बाहिरबाट हेरिने दृष्टिकोण एउटै हुन सक्दैन।

अन्ततः गाउँघरमा बाँदर पीडित बुढापाकाले बाँदर आतंकको सन्दर्भमा भन्ने गर्छन्—“जसलाई पर्छ, उसैले बुझ्छ; जसले भोगेको हुँदैन, उसले पीडा बुझ्दैन।”

बँदेलले खेतीपातीमा पुर्‍याउने क्षतिको नियन्त्रणका लागि सरकारले नियम, कानुन र कार्यविधि बनाई कार्यान्वयन गरिसकेको छ। त्यही अनुभव र आधारलाई टेकेर बाँदर व्यवस्थापन कार्यविधिलाई समयानुकूल परिमार्जन गरी प्रभावकारी रूपमा लागू गर्नुपर्छ। यस क्रममा बाँदर आतंकबाट प्रत्यक्ष प्रभावित गाउँबस्तीका जनताको धारणा बुझी बहुमतको निर्णयलाई  महत्त्व दिँदै कार्यान्वयनमा ल्याइनुपर्छ। स्थानीय आवश्यकता र परिस्थितिअनुसार  निर्णय गर्ने अधिकार स्थानीय तह र समुदायलाई दिन सके मात्र यस समस्याको व्यावहारिक र दिगो समाधान सम्भव हुनेछ।

मानवजातिले  विधि, विधान तथा कानुनी प्रक्रिया पूरा गरी मृत्युदण्डलाई समेत स्वीकार गरेको  अवस्थामा , वैज्ञानिक आधार र कानुनी कार्यविधि अनुसार बाँदरको जनसङ्ख्या नियन्त्रण गर्नु अपराध मानिनु हुँदैन।

बाँदर संरक्षण गरौँ, तर किसानलाई विस्थापित गरेर होइन। जैविक विविधता जोगाऔँ, तर ग्रामीण जीवन र कृषि प्रणाली नै समाप्त हुने मूल्यमा होइन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. ऋषिकेशनारायण श्रेष्ठ
डा. ऋषिकेशनारायण श्रेष्ठ
लेखकबाट थप