बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आमरण अनसनरत किसान घिमिरे को हुन् ?

बिहीबार, ०६ वैशाख २०८१, २१ : ३०
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । नेपालको कृषि क्षेत्रमा बजारीकरणको समस्या देखिएको छ । कतिपय युवाहरू कृषि क्षेत्रमा व्यवसाय सुरु गरे पनि बजारीकरणको समस्याका कारण सफल हुन सकेका छैनन् । तिनैमध्येका हुन् नुवाकोट ककनी गाउँपालिका–२ का श्रीराम घिमिरे । 

उनले कृषि व्यवसाय गर्ने उद्देश्यले  २०७४/२०७५ सालमा कालिज फार्म सुरु गरेका थिए । करिब ४ रोपनी जग्गा बैंकमा ऋणमा राखेर ककनीको फार्ममा २५ लाख रुपैयाँ लगानी गरे । तर उनले उत्पादन गरेको कालिजले बजार पाउन सकेन । 

‘सुरुमा धेरै कालिज पालेको थिएँ । तर बजार नपाएपछि कम सङ्ख्यामा कालिज पाल्न थालेँ, प्रति कालिज ११ सयदेखि १२ सय रुपैयाँ बिक्री भयो,’ उनले भने, ‘एउटा कालिज उत्पादन गर्न एक हजार रुपैयाँसम्म खर्च लाग्छ । ढुवानी र मेहनत छोडेर यो त दानाको लागत मात्रै हो ।’ 

उनले सुरु गरेको कालिज फार्मसम्म सडकसमेत पुगेको थिएन । कालिज फार्मका लागि आवश्यक पर्ने सामाग्री भरियाबाट ढुवानी गर्नुपर्थ्यो । बजार नपाएर फर्म डुबेपछि घिमिरे यति बेला कृषि क्षेत्र सुधारका लागि विभिन्न माग राख्दै अनसनमा बसेका छन् । श्रीरामले वैशाख १ गतदेखि आमरण अनसन सुरु गरेका हुन् । काठमाडौँको शान्ति वाटिकामा आज छैटौँ दिन अनसनरत घिमिरेको स्वास्थ्य अवस्थासमेत बिग्रिएको छ । 

shree-ram-ghimire1

श्रीरामले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत रकम विनियोजन, कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरूको पूर्ण अनुदानमा व्यवस्था गर्न माग गरेका छन् । 

त्यस्तै किसान कार्डको आधारमा कृषि अनुदानलाई भूमि र भाडामा यातायातको सर्वसुलभता हुनुपर्ने उनको माग छ । यस्तै,  पूर्व पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्न उनले माग गरेका छन् । उनका साथी सरोज घिमिरेले भने, ‘तर कुनै निकायले सुनवाइ गरेको छैन ।’  

कृषिमा व्यवसायमा ऋणको उपलब्धता सहज नभएको घिमिरेले बताए । ‘कुनै कृषि फार्म गर्छु भन्ने बैंकमा ऋणको लागि गयो भने कामको आधारमा ऋण माग गर्दा पाइँदैन,’ उनले भने, ‘श्रीराम मात्रै होइन हामी जो कोही पनि कृषिमा ऋणको लागि बैंकमा प्रस्ताव गर्दा पाउन मुस्किल नै छ ।’

श्रीरामले योजना बनाएर नै काम गर्दा पनि सफल हुन नसकेको सरोजले सुनाए । ‘योजना बनाएर व्यवसाय गर्दा डुबेको छौँ तर सामान्य किसानले योजना बिना नै कार्य गर्दा कसरी सफल हुन्छन् ? ’ उनले प्रश्न गरे । 

ककनीमा कालिज फार्म सञ्चालन गरेका श्रीरामको सात जनाको परिवार छ । सो फार्मबाट परिवार पाल्नुका साथै थप ४ जनालाई रोजगारी दिएका थिए । हाल श्रीरामको कालिज फार्ममा करिब ५० देखि ६० लाख रुपैयाँ खर्च भइसकेको छ । 

युवा किसान श्रीराम घिमिरे दोस्रो पटक आमरण अनसन बसेका हुन् । यसअघि गत वर्ष पनि घिमिरे आमरण अनशनमा बसेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप