बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई

शुक्रबार, ०७ वैशाख २०८१, १० : २९
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच खेल हुँदैछ । खेल लखनउपस्थित अटल बिहारी बाजपेई क्रिकेट स्टेडियम (ईकाना) मा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा खेल्न लागिएको यो ३४औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा लखनउ र चेन्नई दुबैले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।

चेन्नई आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । चेन्नईले जारी आईपीएलमा जितसँगै आफ्नो यात्रा प्रारम्भ गरेको थियो । आफ्नो पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो । त्यो जारी आईपीएलको उद्घाटन खेल पनि थियो ।

चेन्नईले आफ्नो दोस्रो खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हराएको थियो । तेस्रो खेलमा भने चेन्न्ईको टोली दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको थियो । चौथो खेलमा पनि चेन्नईको टोली सनराइजर्स हैदराबादसँग ६ विकेटले हारेको थियो ।

त्यसपछिको दुई खेलमा भने चेन्नईले लगातार जित हात पारेको छ । चेन्नईले आफ्नो पाँचौँ खेलमा कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गरेको थियो । यसअघि खेलिएको छैटौँ खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको थियो ।

यसैगरी लखनउले यसअघि खेलिएको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । लखनउ ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । लखनउले सिजनको सुरुआत हारबाट गरेको थियो ।

लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । लखनउले दोस्रो खेलमा पञ्जाब किङ्सलाई २१ रनले र तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८ रनले पराजित गरेको थियो ।

चौथो खेलमा लखनउले गुजरात टाइटन्समाथि ३३ रनको जित हासिल गरेको थियो । त्यसपछिका दुई खेलमा भने लखनउको टोली लगातार पराजित भएको थियो । लखनउ आफ्नो पाँचौँ खेलमा दिल्ली क्यापिटल्ससँग ६ विकेटले र छैटौँ खेलमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले हारेको थियो ।

हेड टु हेडमा बराबरको अवस्था

इन्डियन प्रिमियर लिगमा हालसम्म लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये एक खेलमा लखनउ र एक खेलमा चेन्नईले जित हात पारेका छन् । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । हालसम्म यी दुई टोलीबिच लखनउमा एक खेल खेलिएको छ । त्यही खेल अनिर्णित रुपमा सकिएको थियो ।

लखनउको सर्वाधिक रन निकोलस पुरनको नाममा

लखनउ जाइन्ट्सको टोली केएल राहुलको कप्तानीमा छ । जारी सिजनको आईपीएलमा लखनउका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले हालसम्म ६ खेलमा टोलीका लागि कुल दुई सय २३ रन बनाएका छन् ।

लखनउका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा कप्तान केएल राहुल दोस्रो स्थानमा आसिन छन् । उनले यो सिजन कुल दुई सय चार रन बनाएका छन् । लखनउका लागि सर्वाधिक विकेट लिने बलर भने यश ठाकुर हुन् । उनले सात विकेट लिइसकेका छन् ।

चेन्नईको सर्वाधिक विकेट मुस्तफिजुर रहमानको नाममा

इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिवम दुबे हुन् । उनले हालसम्म टोलीका लागि ६ खेल खेल्दै कुल दुई सय ४२ रन बनाइसकेका छन् । यसक्रममा शिवमले दुई अर्धशतक पनि प्रहार गरेका छन् ।

चेन्नईका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा रुतुराज गायकवाड दोस्रो स्थानमा छन् । उनले ६ खेलमा दुई सय २४ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर मुस्तफिजुर रहमान हुन् । उनले हालसम्म पाँच खेल्दै १० विकेट लिइसकेका छन् ।

खेलमा फर्कन सक्छन् मयंक यादब

जारी आईपीएलको सुरुआती खेलहरुमा लखनउ सुपर जाइन्ट्सका तिब्रगतिका बलर मयंक यादबले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । त्यसपछि उनी स्वास्थ्य समस्याका कारण मैदानमा देखिएका छैनन् । गुजरात टाइटन्सविरुद्धको खेलमा उनले एक ओभरमात्र बलिङ गर्न सकेका थिए ।

त्यसपछि दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा भने उनी मैदानमा देखा परेका थिएनन् । तर, चेन्नईविरुद्ध शुक्रबार हुने खेलमा भने उनी मैदानमा देखिने सम्भावना रहेको छ । उनी यसअघि नै अभ्यासमा फर्किइसकेका छन् । उनले हालसम्म तीन खेलमा ६ विकेट लिएका छन् ।

स्पिन बलरलाई साथ दिने पिच

लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच शुक्रबारको खेल हुने अटल बिहारी बाजपेई क्रिकेट स्टेडियमको पिच खासगरी स्पिन बलरलाई सहयोग पु¥याउने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा कम रन बन्ने गरेको देखिन्छ ।

यो स्टेडियममा हालसम्म आईपीएलको १० खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा पहिले ब्याटिङ गर्ने टोली र तीन खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । एक खेल भने अनिर्णित रुपमा सकिएको छ । यो स्टेडियममा बनेको उच्च स्कोर आठ विकेट गुमाएर एक सय ९९ रन हो । उक्त स्कोर यसै वर्ष पञ्जाबविरुद्ध लखनउले बनाएको थियो ।

छैन वर्षाको सम्भावना

इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच खेल हुने दिन शुक्रबार लखनउको आकाश बादलले ढाकेको हुनेछ । तर, वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार लखनउको तापक्रम २५ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, मार्कस स्टोइनिस, दीपक हुद्दा, निकोलस पुरन, आयुष बदोनी, कुणाल पाण्ड्या, रवि विस्नोई, यश ठाकुर, सामर जोसेफ र मोहसिन खान । इम्प्याक्ट प्लेयर : प्रेरक मांकड ।

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिनक्या रहाने, ड्यारल मिचेल, शिवम दुबे, समिर रिजवी, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), शार्दुल ठाकुर, मुस्तफिजुर रहमान र तुषार देशपाण्डे । इम्प्याक्ट प्लेयर : मथिशा पाथिराना । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप