आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : कोशीमाथि सुदूरपश्चिको रोमाञ्चक जित

आइतबार, ०९ वैशाख २०८१, १३ : १९
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको आइतबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको छ । वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो दोस्रो जित हो ।

तेस्रो खेल खेलेको सुदूरपश्चिम प्रदेश एक खेलमा पराजित भएको थियो । जारी प्रतियोगितामा सबैभन्दा कमजोर देखिएको कोशी प्रदेशले भने लगातार तेस्रो हार भोगेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ओपनर ब्याट्सम्यान अभिषेक पालले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए ।

म्यान अफ दि म्याच घोषित अभिषेकले ६० रन बनाए । उनले केवल ४१ बलमा तीन छक्का र पाँच चौका पनि प्रहार गरे । दीपक बोहराले पनि अविजित ३२ रनको योगदान गरे । उनले २९ बलमा पाँच चौका प्रहार गरे । अर्का ओपनर गजेन्द्र बोहराले पनि टोलीको खातामा २९ रन थपे । उनले २६ बलमा एक छक्का र तीन चौका प्रहार गरे ।

कोशी प्रदेशका बलर ज्ञानेन्द्र श्रेष्ठ र अंकित सुवेदीले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको कोशीका लागि श्रवण यादबले अविजित ४६ र ओपनर मिनाष थापाले ३४ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।

श्रवणले केवल २७ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए । समिर कार्कीले २२ र दीपेश कँडेलले अविजित २१ रन जोडे । सुदूरपश्चिम प्रदेशका बलर नारायण जोशीले दुई विकेट लिए । नरेन साउद र वसन्त खत्रीले पनि एक–एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप