सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए

शुक्रबार, १४ वैशाख २०८१, ११ : ३४
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नक्कली चिकित्सक, नक्कली प्रहरी बनेर ठगी गरेका समाचार बेलाबेला प्रकाशमा आइरहन्छन् । तर नक्कली पाइलट फेला परेको घटना विरलै पाइन्छन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक नक्कली पाइलट पक्राउ परेका छन् । ती व्यक्ति पाइलटको पोसाक लगाएर एयरपोर्टमा घुमिरहेको अवस्थामा फेला परेका थिए ।
सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ)ले नियन्त्रणमा लिएर ती नक्कली पाइलटलाई दिल्ली प्रहरीको जिम्मा लगाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार २५ अप्रिलमा एयरपोर्टको ‘स्काइवाक’ नजिकै एक व्यक्ति पाइलटको पोसाकमा घुमिरहेको अवस्थामा फेला परेका थिए । सोधपुछका क्रममा ती व्यक्तिले आफूलाई सिंगापुर एयरलाइन्सको पाइलट बताएको अधिकारीहरूको भनाइ छ । उनको घाँटीमा एक परिचयपत्रसमेत झुण्डिएको थियो ।

आरोपित २४ वर्षीय संगीत सिंह रहेको बताइएको छ । उनी भारतकै गौतमबुद्धनगर निवासी रहेको भारतीय सञ्चारमाध्यमहरूले खुलाएका छन् ।

उनले बिजनेस कार्ड मेकर एपबाट सिंगापुर एयरलाइन्सको पाइलटको नक्कली परिचय पत्र बनाएको खुलासा भएको छ । उनले द्वारका क्षेत्रबाट पाइलटको पोसाक खरिद गरेको पत्ता लागेको अधिकारीहरूको भनाइ छ ।

सोधपुछका क्रममा संगीत सिंहले सन् २०२० मा मुम्बईबाट एक वर्षको एभिएसन हस्पिटालिटी कोर्स अध्ययन गरेको बताएका छन् । उनले आफू पाइलट रहेको भन्दै परिवारलाई समेत झुट बोल्दै आएको खुलासा भएको छ । दिल्ली प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप