बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप खेल्न टोली घोषणा गर्‍यो न्युजिल्यान्डले

सोमबार, १७ वैशाख २०८१, १३ : २२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । न्युजिल्यान्ड क्रिकेट बोर्डले आगामी आईसीसी टी–२० विश्वकपका लागि आफ्नो टोलीको घोषणा गरेको छ । न्युजिल्यान्डले १५ सदस्यीय टोलीको घोषणा गरेको हो । कप्तानको जिम्मेबारी केन विलियम्सनलाई दिइएको छ । 

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । 

टी–२० विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रासवेल, मार्क चापम्यान, डेभोन कनवे, लोकी फर्गुसन, म्याट हेनरी, ड्यारल मिचेल, जिम्मी निसाम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर, ईश सोढी, टिम साउथी र बेन सियर्स (रिजर्व खेलाडी) रहेका छन् ।

न्युजिल्यान्डले हालै पाकिस्तानविरुद्ध पाँचवटा टी–२० खेलको शृंखला खेलेको थियो । यद्दपि, पाकिस्तान भ्रमणका क्रममा न्युजिल्यान्डका सबै सिनियर खेलाडी टोलीमा सहभागी थिएनन् । कप्तान केन विलियम्सन पनि अहिले भारतमा इन्डियन प्रिमियर लिग खेलिरहेका छन् ।  विलियम्सन हाल गुजरात टाइटन्समा आबद्ध छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति मे १ तारिखलाई तोकेको छ । तर, न्युजिल्यान्डले त्योभन्दा अगाडि नै टोलीको घोषणा गरेको हो । 

आगामी विश्वकपमा न्युजिल्यान्ड समूह ‘सी’ मा परेको छ । उक्त समूहमा आयोजक वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा पनि रहेका छन् । न्युजिल्यान्डले आफ्नो पहिलो खेल जुन ७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा अनुभवी र युवा खेलाडीको समिश्रण रहेको छ । टोलीमा विलियम्सन, बोल्ट, साउथी, मिचेजजस्ता अनुभवी खेलाडी छन् भने चापम्यान, रचिन रविन्द्रजस्ता युवा खेलाडीलाई पनि स्थान दिइएको छ । 

रचिन रविन्द्रले त यसअघि न्युजिल्यान्डबाट एकदिवसीय विश्वकप पनि खेलेका थिए । रचिन पनि हाल भारतमा इन्डियन प्रिमियर लिग खेलिरहेका छन् । उनी चेन्नई सुपर किङ्समा आबद्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप