शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

शनिबार, २२ वैशाख २०८१, १३ : २३
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ ।  आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन । ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ ।  

कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार लामो समयसम्म कर नतिरेपनि कामपाले ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो । यस विषयमा कामपाले केही दिनअघि स्थलगत अनुगमन गरी विवरण मागेको थियो । यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई सात दिनभित्र विवरण पेस गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्राचार गरिएको प्रमुख काफ्लेले बताए ।

लामो समयसम्म बक्यौता रकम तिर्न आलटल गरेपछि कामपाले पछिल्लो समय रकम चुक्ता गर्न निर्देशन गरेको छ ।  कामपा राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरिएको छ । एउटा वडास्तरीय टोली छ, जसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ । अर्को टोलीमा केन्द्रमा राजस्व विभागस्तरको टोली रहने छ । यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तेस्रो टोलीको व्यवस्था गरिएको छ । 

घर बहालमा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारलाई बुझाउनु पर्ने कानुनी व्यवस्था छ । आरबी कम्प्लेक्समा तीन सय १५ व्यवसायी र पिपुल्स प्लाजामा एक सय ६० व्यवसायी छन्  । “यी व्यवसायीले व्यवसाय कर तिर्नुपर्छ । बहाल अङ्कमा लाग्ने बहाल कर स्थानीय सरकारलाई तिर्ने हो, बहाल आयमा लाग्ने कर सङ्घीय सरकारलाई तिर्ने हो”, काफ्लेले प्रष्ट पारे ।

कामपाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिनेबीचका सर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ । यसबमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक÷एक प्रति लिनुदिनु पर्छ । एक प्रति वडामा बुझाउनुपर्छ । कामपाका अनुसार लामो समयदेखि रु तीन अर्ब १९ करोड बक्यौता रकम असुल गर्नुपर्ने छ । अब नियमित अनुगमन गरी सबै बक्यौता रकम असुल गर्ने कामपाको तयारी छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप