सडक अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राख्न माग

बुटवल । रुपन्देहीको बेलबास–बेथरी सडक लामो समय अलपत्र पारेपछि स्थानीयले ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका छन् ।
स्थानीय संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारअन्तर्गतको सडक विकास पूर्वाधार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै हालको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग गरेको हो ।
संघर्ष समितिका संयोजक विजय ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सडक समयमा पूरा नहुँदा दुर्घटनामा परेर ४ जनाको मृत्यु गएकाले तत्काल सडक पूरा गराउन माग गरेको छ ।
बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालमा ठेक्का सम्झौता भई काम अघि बढेको थियो । बेताहानीदेखि नहरपुरसम्मको सडक खण्ड कालोपत्र भएको छैन ।
चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का भएको थियो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसक्दा उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन ।