आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
बजार

उकालो लाग्दै सुनको मूल्य, ३ वर्षमै ४६ हजार बढ्यो

बिहीबार, १० जेठ २०८१, १२ : २४
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । पछिल्लो तीन वर्षको अवधिमा सुनको मूल्य तोलामा ४६ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७८ सालको जेठदेखि २०८१ सालको जेठसम्म आइपुग्दा प्रतितोला ४६ हजार रुपैयाँभन्दा बढीले मूल्य बढेको हो ।

तथ्यांकअनुसार २०७८ जेठ पहिलो साता छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ थियो । त्यसयता निरन्तररुपमा बढ्न थालेको सुनको मूल्यले यतिबेला दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ ।

यसपछि २०७९ जेठ पहिलो सातासम्म आइपुग्दा सुनको मूल्य बढेर प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो । सो अवधिमा तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा यो ४ हजार रुपैयाँको मूल्यवृद्धि थियो ।

यसैगरी २०८० सालको जेठसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला लाखभन्दा माथि पुग्यो । २०८० को जेठ पहिलो साता सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ कायम भयो । यस्तै सो अवधिमा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ थियो । यो २०७९ सालको जेठको तुलनामा १४ हजार ५०० रुपैयाँको वृद्धि थियो ।

२०८० सालको जेठयता भने सुनको मूल्य अनियन्त्रित बन्दै बढेको छ । २०८१ को जेठ महिनासम्म आइपुग्दा सुनको मूल्य १ लाख ३८ हजार रुपैयाँभन्दा माथि पुगेको छ । यो कीर्तिमानी मूल्य प्रतितोला १ लाख ४१ हजारबाट तल झरे पछिको हो ।

२०८१ जेठ ७ गते सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० सम्म पुगिसकेको छ । यो अहिलेसम्मकै कीर्तिमानी मूल्य हो । यस्तै योबिचमा चाँदीको मूल्यले समेत फड्को मारेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य समेत निरन्तर बढ्दा सर्वसाधारण उपभोक्ताको पहुँच बाहिर पुग्ने छाँट देखिएको छ । २०८१ को जेठमा चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँसम्म पुगेको छ । जुन, २०८० को जेठमा १३ सय ७५ रुपैयाँ थियो । यो एक वर्षको अवधिमा ५२५ रुपैयाँसम्मको वृद्धि हो ।

यस्तै २०७९ को जेठमा चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ थियो भने २०७८ को जेठमा २०७८ जेठमा भने १३ सय ५० रुपैयाँ थियो । यो २०७९ को तुलनामा ९० रुपैयाँले बढी हो । यस्तै २०७९ को तुलनामा २०८० जेठ अवधिमा १३५ रुपैयाँले मूल्य बढेको थियो ।

कोभिड–१९ महामारीपछि विश्वभरका केन्द्रीय बैंकले सुनमा लगानी बढाइरहेका छन् । यस्तै लगत्तै सुरु भएको रुस–युक्रेन युद्धपछि झनै सुनमा लगानी गर्ने र थुपार्ने प्रचलन बढ्यो ।

यसपछि इजरायल–प्यालेस्टाइनबिच भइरहेको युद्धले समेत सुनको र चाँदीको मूल्यमा उछाल ल्याउन मद्दत गर्‍यो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्दा नेपालमा स्वतः प्रभाव पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप