बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेशको बजेट

‘कर्णालीको नयाँ बजेट विगतकै निरन्तरता’

सत्तापक्ष सांसदहरूकै आक्रोश : बजेट कर्मकाण्डी, अन्यायपूर्ण र सङ्घीयता विरोधी
शनिबार, ०१ असार २०८१, २० : २२
शनिबार, ०१ असार २०८१

सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट घटेर आएको छ । चालु आर्थिक वर्षको भन्दा नयाँ बजेट करिब दुई अर्बको हाराहारीमा घटेको देखिन्छ । चालु आर्थिक वर्षमा ३३ अर्ब बढीको बजेट ल्याइएकोमा आगामी वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ । 

अर्थमन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभाको १० औँ बैठकमा बजेट प्रस्तुत गरेको उक्त बजेटबारे प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विगतको निरन्तरताका रूपमा बुझेको छ । पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद बेदराज सिंहले बजेटमा कुनै पनि नयाँपना नभएको र विगतकै निरन्तरता भएको बताए ।

रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘एउटा सरकारकै बाध्यता पनि होला, बहुवर्षीय आयोजना सम्पन्न गर्नुपर्ने दायित्व पनि सरकारलाई छ । अर्को बजेट परम्पराकै निरन्तरताका रूपमा कांग्रेसले बुझेको छ ।’ 

बजेटलाई नयाँ, कर्णालीका लागि अनुकूल र उब्जिएका माग समाधान गर्ने गरी बजेट आउने अपेक्षा गरिए पनि त्यसरी नआएको सिंहको भनाइ छ । ‘यो विगतकै दस्ताबेज हो,’ उनी भन्छन्, ‘यही बजेट पनि कार्यान्वयनमा आएको खण्डमा राम्रै हो तर कर्णालीमा बजेट कार्यान्वयनको अवस्था कमजोर नै हुन्छ ।’ 

विगतको बजेटमा राजधानीलाई उपेक्षा गर्ने गरिएको आक्षेप लाग्दै आएकोमा यो पटक बजेटमा राजधानी वीरेन्द्रनगर प्रमुखताका साथ सम्बोधन भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले यसअघि राजधानीको विकासबिना अन्तको सम्भव नहुने बताउँदै आएका थिए । अहिलेको बजेटमा निजी क्षेत्रको सहकार्यमा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा रहेका कटकुवा, लादे, गोठीकाँडा शिद्धपाइला क्षेत्रलाई हिलस्टेशनको रूपमा विकास गरिने, सो आसपासका क्षेत्रमा हाइकिङ्ग तथा पदमार्गका रूपमा प्रवर्द्धन गरिने बताइएको छ । 

यस्तै राजधानीलाई हरियाली सहर बनाउने योजना पनि ल्याइएको छ भने अन्य थुप्रै योजनाहरू समेटिएको देखिन्छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले बजेटमा असन्तुष्टि व्यक्त गरेको छ । पूर्वमन्त्री समेत रहेका सांसद मंगलबहादुर शाहीले बजेटप्रति आफ्नो घोर आपत्ति रहेको प्रतिक्रिया दिए । 

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘बजेटप्रति मेरो घोर आपत्ति छ, असहमति छ, बजेट सङ्घीयता विरोधी, पक्षपातपुर्ण, अन्यायपूर्ण तरिकाले वितरण गरिएको छ ।’ बजेटमा कुनै नयाँ कुराहरू नभएको भनिएका कुराहरू अधिकांश सङ्घीय कार्यक्रममा आएका कुराहरू राखिएको शाहीले बताए ।

उनको बुझाइमा बजेटमा आफ्नै मौलिकता कुनै छैन । अर्को आर्थिक तथा योजना मन्त्रालयबाट विनियोजन भएको वित्तीय हस्तान्तरणमा पनि घोर अन्यायपूर्ण, पक्षपातपूर्ण र सङ्घीयता विरोधी रहेको उनले बताए । बजेटका सङ्घीय कार्यक्रमलाई ल्याएर उतारिएको छ ।  ‘बजेटमा त आफ्नो कार्यक्रम हुनुपर्‍यो नि,’शाही भन्छन् । सत्तारुढ दल नेकपा एमालेका कतिपय सांसदहरूले पनि बजेटमा असन्तुष्टि व्यक्त गरेको देखिन्छ । एमाले प्रमुख सचेतक टेकराज पछाईँले बजेट ठिकै भएको प्रतिक्रिया दिए । उनले त्यस बाहेक थप टिप्पणी गर्न चाहेनन् । 

सत्तारुढ दल एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले बजेट कर्मकाण्डी भएको बताइन् । ‘न हर्ष न बिस्मात जस्तै आयो बजेट,’उनले रातोपाटीसँग भनिन्, ‘आफूले गरेका कर्मकाण्डीहरूलाई कसरी पुरा गर्ने भन्ने लाइनबाट आएको छ । हिजो उनीहरूले कोल्ड स्टोरहरूको योजना बनाए अहिले तिनलाई ल्याएर बजेट अपचलन गर्ने खालको भयो ।’ बजेट नीति, कार्यक्रमसँग लय नमिलेको र मान्छेलाई भ्रमित पार्ने काम भएको उनको भनाइ छ । 

यस्तै राप्रपा सांसद सन्तोषी शाहीले बजेटप्रति पूर्ण रूपमा असहमति जनाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप