बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कुशवाहा हत्या प्रकरण

हत्या गरिएका बाराका क्याम्पस प्रमुख कुशवाहाको भेटियो ‘मृत्युकालीन घोषणा’

पूर्व सैनिक जवान सुरेन्द्र कुशवाहामाथि अनुसन्धान सोझियो
शनिबार, ०१ असार २०८१, १८ : २९
शनिबार, ०१ असार २०८१

वीरगन्ज । बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या अघि उनले मृत्युकालीन घोषणा गरेको भिडियो क्लिप प्रहरीले हात पारेको छ । आफूलाई गोली प्रहार भएपछि घाइते अवस्थामा उनले आफूमाथिको घटनाको बारेमा सर्वसाधारण मार्फत भिडियो रेकर्ड गराएको भेटिएपछि प्रहरीलाई अनुसन्धानको नजिक पुग्न सहज भएको छ । 

व्यक्तिगत रिसइबीका कारण गाउँकै एकजनाले हत्या गरेको उक्त भिडिओ क्लिपबाट खुलासा भएको हो । गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाले आफूलाई मार्ने व्यक्तिको बारेमा भिडियोमा बोलेका छन् । 

डाईङ डिक्लेरेशन अर्थात मृत्युकालीन घोषणामा उनले गाउँकै सुरेन्द्र कुशवाहाले गोली हानेको बताएका छन् । गोली लाग्दाको बखत भएको भिडिओ रेकर्डबारे जानकारी पाइसकेको प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताएका छन् ।   

बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मृतकले गोली लागेपछि घाइते रहँदाकै अवस्थामा बोलेका कुराहरुको भिडिओ रेकर्ड प्राप्त भएको पुष्टि गरे । 

रातोपाटीसंग कुरा गर्दै निमित्त प्रजिअ भट्टराईले भने, ‘घाइते भइसकेपछि उहाँले प्रष्टरुपमा आफूमाथि गोली प्रहार गर्ने व्यक्तिको नाम नै लिनुभएको छ, जुन भिडिओ एसपी साहेबसँगै हामीलाई पनि प्राप्त भएको छ । त्यो भिडियोमा मृतक कुशवाहाले गाउँकै सुरेन्द्र कुशवाहाले आफूमाथि गोली चलाएको प्रष्ट रुपमा बोलेका छन् ।’ 

‘त्यसकारण यो घटनाको अनुसन्धान लगभग अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने । उनका अनुसार अरू विभिन्न पाटोबाट अनुसन्धान गर्दा पनि मृत्युकालीन घोषणामा नाम लिएका व्यक्ति आपराधिक पृष्ठभूमिकै रहेको पाइएको छ । 

नाम लिएका व्यक्ति नै अपराधी रहेको अनुसन्धानले निर्क्योल निकालेको निमित्त प्रजिअ भट्टराईको भनाइ छ । अब अपराधीलाई समाउने कार्य मात्र बाँकी रहेको निमित्त प्रजिअ भट्टराई ले बताए । 

आरोपित कुशवाहा भूपू आर्मीको जवान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

व्यक्तिगत रिसिइवीका कारण भूपू आर्मीका जवानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । यसअघि पनि एउटा हत्याको घटनामा उनको नाम जोडिएको प्रहरीको भनाई छ । 

बाराका प्रहरी प्रमुख खड्काले पनि कुश्वाहा हत्या प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । 

एसपी खड्काले भने– ‘कुश्वाहालाई गोली लागिसकेपछि उनले सबै जानकारी आफूलाई गराए, तर अनुसन्धान चलिरहेको हुनाले त्यसबारेमा अहिले खुलासा गर्न सकिँदैन । तैपनि प्रहरी अनुसन्धानको नजिक पुगिसकेको छ ।’

हत्या आरोपी कुशवाहा फरार रहेकोले उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । अहिलेसम्म प्रहरीले ५ जनालाई हत्यामा संलग्न रहेको आशङ्कामा पक्राउ गरेको छ । 

मृतक कुशवाहाको आदर्श कोतवाल नगरपालिका वडा नम्बर २ खजुरिया निवासी हुन् । हिजो साँझ गाउँमा रहेको आफ्नो पोखरीको माछा मार्नका लागि घर गएका थिए । 

सदरमुकामतर्फ फर्किने क्रममा अज्ञात समूहले चलाएको एक राउन्ड गोली लागि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

प्रमाण ऐन २०३१ को दफा ११ मा ‘मृत्युकालीन घोषणा’ को बारेमा व्यवस्था रहेको छ, जसमा कुनै मरेको व्यक्तिले आफूले मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेका कुरा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप