आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

बिहीबार, ३१ जेठ २०८१, १४ : १४
बिहीबार, ३१ जेठ २०८१

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ।

बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए । तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो । सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो । 

बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पानी थुनिएकोभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन  सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। ताप्लेजुङमा अधिकांस क्षेत्रमा बुधबार रातभर वर्षा भएको थियो । वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । केही ठाउँमा पहिराले अलैँचीसहितका बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप