बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दक्षिण चीन सागरमा बढ्दो तनावले वार्ता गर्न बाध्य बनाइरहेको छ चीन र अमेरिकालाई ?

सोमबार, १० असार २०८१, १६ : ३२
सोमबार, १० असार २०८१

वासिङ्टन डीसी । आपसी सम्बन्धमा यावत् विवाद र प्रतिस्पर्धा हुँदाहुँदै पनि दक्षिण चीन सागरमा उत्पन्न  विवादलाई निरुत्साहित गर्न हिजोआज चीन र अमेरिकाले पहिला भन्दा बढी नै नियमित रूपमा कुराकानी गरिरहेको चीनका लागि अमेरिकी राजदूतले बताएका छन् ।

 चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले यस हप्ताको सुरुमा बेइजिङमा बीबीसी संवाददाता लौरा बिकरसँग कुरा गरेका थिए । कुराकानीका क्रममा उनले भने, ‘हामी दुवै देशका सेनाहरू दक्षिण चीन सागर र ताइवान स्ट्रेटमा एकअर्काको एकदमै नजिक तैनाथ छन् । यस्तो अवस्थामा कसैले पनि कुनै गलत सङ्केत दिन चाहँदैनन् ।’

साउथ चाइना सी द्वन्द्व हुने निकै खतरनाक क्षेत्र बनेको छ । सो सागरमा चीनको दाबीले ताइवान र फिलिपिन्ससँग मात्र नभएर यी दुबैका सबैभन्दा शक्तिशाली मित्र अमेरिकासँग पनि तनाव बढाएको छ । हालैका महिनाहरूमा त्यहाँ कयौँ पटक चीन र फिलिपिन्सका डुङ्गा एक अर्काको अति निकट आएका थिए । विवादित सामुद्रिक क्षेत्रमा दुवै देशका नौसेनाले एक अर्कासँग लुकामारीको खतरनाक खेल खेलिरहेको जस्तो देखिन्छ । दुई देशबिचको भिडन्तको सबैभन्दा ताजा घटनामा चिनियाँ तटरक्षक सैनिकहरूले फिलिपिनी जहाजमा चढेर सैनिकहरूलाई बन्चरो र चक्कुले आक्रमण गरेका थिए ।

किन बढ्यो चीन र अमेरिकाको सम्बन्धमा तनाव ?

अमेरिकाले यस क्षेत्रमा फिलपिन्सदेखि जापानसम्मको साथमा सैन्य गठबन्धन बनाएको छ । अमेरिकाले बारम्बार दक्षिण चीन सागरमा आफ्ना सहयोगी देशको अधिकार रक्षा गर्ने बताइरहेको छ । युक्रेनमाथि रुसको आक्रमण, स्वशासित ताइवानमा चीनको दाबी र व्यापार युद्धका कारण पहिलेदेखि नै चीनसँगको अमेरिकाको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो ।

 दक्षिण चीन सागरमा चीनको दाबीले अमेरिकासँग उसको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।  द्वन्द्वका यी मुद्दाहरूमा दुई देश अझै पनि पूर्ण रूपमा विभाजित रहेको अमेरिकी राजदूत बर्न्सले बताएका छन् । तर जतिबेला सम्भव हुन्छ त्यतिबेला दुवै पक्षलाई एकै ठाउँमा ल्याएर वार्ताको प्रयास गर्नु अति आवश्यक रहेको उनको भनाइ छ ।

‘दुई देशका सेनाबिच सञ्चार बढाउन चीन सरकार सहमत भएको छ र यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । यदि तपाईँ कुनै पनि प्रकारको दुर्घटनाबाट बच्न चाहनुहुन्छ भने पक्कै पनि निरन्तर कुराकानी गरिरहनु पर्छ । किनभने कुनै पनि प्रकारको गलत बुझाइले द्वन्द्वलाई पूर्वाग्रही बनाउन सक्छ ।’ ६८ वर्षका कूटनीतिज्ञ बन्र्सले भनेका छन् । चीन र अमेरिकाबिचको तनाव केही कम भएको छ । तर यसै वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनले सम्बन्धमा पुनः दरार आउने सम्भावना देखिएको छ । हाम्रो चुनावमा कुनै खालको हस्तक्षेप नगर्न चीनलाई आफूहरूले चेतावनी दिएको उनले बताएका छन् ।

राष्ट्रपति चुनावमा चीनको हस्तक्षेप गर्न सक्ने आशङ्काले अमेरिका ‘अत्यधिक चिन्तित’ रहेको पनि उनले बताए । यसअघि यस वर्षको सुरुमा एफबीआई अधिकारीहरूले चुनावको समयमा अमेरिकी जनताबिच चीनले द्वन्द्व बढाउने प्रयास जारी राख्ने र अनलाइन संसारमा गलत सूचना फैलाउन सहयोगी बन्न सक्ने बताएका थिए । चिनियाँ अधिकारीहरूले आफ्नो देश विरुद्ध साइबर आक्रमण गरिरहेको प्रमाण एफबीआईसँग भएको उनले बताए । सरकार प्रायोजित साइबर आक्रमणको आरोप चीनले सधैँ अस्वीकार गर्दै आइरहेको छ । बरु आफू  नै त्यस्ता अपराधको सिकार भएको उसको भनाइ छ ।

चीनविरुद्ध कठोरता देखाउने प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावी अभियानमा चीनप्रति को भन्दा को कठोर बन्ने भनेर देखाउन एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । दुवैले यो रणनीतिबाट धेरै भोट बटुल्ने आशा गरेका छन् । मे महिनामा राष्ट्रपति बाइडेनले चीनमा बनेका विद्युतीय कार, सोलार प्यानल र अन्य सामानमा अतिरिक्त व्यापार महसुल लगाउने घोषणा गरेका थिए । जसका कारण अहिले चीनमा बनेका धेरै कम विद्युतीय कारहरू अमेरिका प्रवेश गर्न सकिरहेका छन् । घरेलु राजनीतिक दबाबका कारण बाइडेन प्रशासनले चीनमाथि यी व्यापार करहरू लगाएको कुरा निकोलस बन्र्सले अस्वीकार गरेका छन् । यो एक आर्थिक कदम भएको र यसको उद्देश्य अमेरिकी नागरिकको रोजगारी बचाउनु भएको उनको तर्क छ ।

यसैबिच चीनले भने अमेरिकाले एकतर्फी रूपमा व्यापार कर लगाएमा अमेरिकामाथि जस्ताको तस्तै व्यवहार गर्ने चेतावनी दिएको छ । यद्यपि, दुईबिच यस्तो प्रतिद्वन्द्व रहिरहँदा केही आशा जगाउने घटनाक्रमहरू पनि भएका छन् । बीबीसीसँग कुराकानी गर्नु अघि बर्न्सले चीनको जलवायु प्रतिनिधिसँग कुरा गरेका थिए । अमेरिका र चीन विश्वमै सबैभन्दा उत्सर्जन गर्ने देश हुन् । यी दुई देशले हानिकारक उत्सर्जन कम गर्ने उपाय खोजिरहेको उनले बताएका थिए । फेन्टानिल नामको लागू औषधलाई अमेरिका छिर्नबाट रोक्न चीनसँग ‘उच्चस्तरीय वार्ता’ भइरहेको छ । यी सबै कुरालाई निकोलस बर्न्स धेरै महत्त्वपूर्ण भनेका छन् ।

चिनियाँहरू विरुद्ध कठोर व्यवहारको आरोप

अमेरिकी राजदूतका अधिकांश भेटघाट चिनियाँ मन्त्रीहरूसँग हुने गरेको छ । राष्ट्रपति सी जिनपिङलाई भेट्ने अवसर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनजस्ता नेताहरूको भ्रमणमा मात्रै जुर्छ । दुवै देशले आफ्ना बिचमा ‘नागरिकको आवागमन’ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । चीनमा अध्ययन गर्न आउने अमेरिकी विद्यार्थीको सङ्ख्या सन् २०११ मा १५ हजारबाट घटेर अहिले ८ सयमा झरेको बेला यस्तो प्रतिबद्धता आएको छ । सी चिनफिङले आगामी पाँच वर्षमा कम्तीमा ५० हजार अमेरिकी विद्यार्थी अध्ययनका लागि चीन आउने आशा गरेका छन् । ‘दुई देशका नागरिकहरूबिच सञ्चार र सहयोग अभिवृद्धि गर्ने हाम्रो सबैभन्दा ठुलो इच्छा हो’, गत वर्ष नोभेम्बरमा अमेरिकाको भ्रमण गर्दा सीले सान फ्रान्सिस्कोमा भनेका थिए ।

‘स्यान फ्रान्सिस्कोमा शिखर सम्मेलन पछि, चिनियाँ सुरक्षा बल वा सरकारी मन्त्रालयहरूले आफ्ना नागरिकहरूलाई अमेरिकी दूतावासमा कूटनीतिक कार्यक्रममा भाग लिनबाट रोकेको ६१ अलग घटनाहरू भइसकेको छ । उनले आफ्ना नागरिकलाई अमेरिका भ्रमणमा जानबाट रोकेका कयौँ घटना पनि भएका छन् । यसका कारण दुवै देशका जनतालाई नजिक ल्याउन हामीलाई निकै गाह्रो भएको छ,’ बर्न्स भन्छन् । अर्काेतर्फ, अमेरिकी सीमा अधिकारीहरूले आफूहरूलाई अनुचित व्यवहार गरेको आरोप चिनियाँ विद्यार्थी र शैक्षिक विद्वानहरूले लगाएका छन् ।

वासिङ्टनस्थित चिनियाँ दूतावासले यस सम्बन्धमा औपचारिक उजुरी समेत दर्ता गराएको थियो र अमेरिकी अधिकारीहरूले चिनियाँ नागरिकलाई अनावश्यक सोधपुछ गरेको आरोप लगाएको थियो । अमेरिकी अधिकारीहरूले चिनियाँहरूलाई अनावश्यक दुःख दिएको, भिसा रद्द गरिदिएको, अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ नागरिकहरूलाई वैध कागजातहरू हुँदाहुँदै पनि अमेरिका पुग्ने बित्तिकै देश निकाला गरिएको दूतावासको गुनासो छ ।

युक्रेन युद्धले बढाएको तनाव

अमेरिकाले चीन भ्रमणमा जाने आफ्ना नागरिकका लागि ‘तेस्रो तह’को एडभाइजरी जारी गरेको छ, जसमा उनीहरूलाई आफ्नो यात्रामा ‘पुनर्विचार’ गर्न अनुरोध गरिएको छ । यो एड्भाइजरी एक अर्काका देशका मानिसहरूलाई एक अर्काको नजिक ल्याउने अनुनयको विपरीत भएको बर्न्स मान्दैनन् । यो एक सावधानी मात्रै भएको उनको जिकिर छ । चीनको जेलमा कयौँ अमेरिकी नागरिक कैदमा रहेको र उनीहरूलाई थुनेर कानुनी कारबाही गर्नु गलत भएको उनले बताएका छन् । आफूले चिनियाँ जेलमा रहेका अमेरिकी नागरिकहरूलाई भेटिरहेको अनि उनीहरूलाई रिहा गर्न चाहेको उनको भनाइ छ ।

चीनले धेरै अमेरिकी नागरिकलाई आफ्नो देश छाडेर जान प्रतिबन्ध लगाएको बताइएको छ । एयरपोर्टमा उनीहरूको राहदानी जफत गरेर राखेर चीन छोड्न नदिने उनको भनाइ छ । चीनले केही देशलाई १५  दिनसम्म चीन भ्रमणमा आउँदा भिसा नलाग्ने देशको सूचिमा राखेको छ । यो सूचिमा अमेरिका छैन । सम्बन्ध सुधार भएपछि चीनले हालै मात्र अस्ट्रेलियालाई यो सूचीमा राखेको थियो । पछिल्लो समय चीन र अमेरिकाबिचको सम्बन्ध सामान्यतया तनावपूर्ण रहँदै आएको छ । दुई देशका आम नागरिकहरू बिचको सम्पर्क सुधार्ने लक्ष्य सजिलो हो । तर, अहिले अमेरिका र चीनलाई यो उद्देश्य हासिल गर्न यति कठिन भएको छ कि यो दुवै देशमा एक अर्काप्रति अविश्वासको प्रतीक बनेको छ ।

चीन र अमेरिकाबिच बढ्दो तनावको सबैभन्दा ठुलो कारण चाहिँ युक्रेन युद्ध हो । युद्धको मैदानमा रुसको सफलतालाई चीनले मात्र अङ्कुश लगाउन सक्छ भन्नेमा अमेरिका विश्वस्त छ । युक्रेनमा रुसी आक्रमणमा चीनको समर्थन असह्य हुने बन्र्सले बारम्बार बताइरहेका छन् । ‘यो युद्धमा चीन तटस्थ छैन । चीनले आफ्नो वास्तविक रङ्ग देखाउँदै छ । उसले रुसलाई सहयोग गरिरहेको छ । आज जब पुटिनले युक्रेनका जनतामाथि यो बर्बर युद्ध थोपरिरहेका छन्, चीनले उनलाई समर्थन गरिरहेको छ चिनियाँ कम्पनीहरूले रुसमा के–कस्ता सामानहरू पठाइरहेका छन् भन्ने हामीलाई थाहा छ र यी खेपले युक्रेन युद्धलाई निरन्तरता राख्ने रुसी प्रयासमा कस्तो प्रभाव पारिरहेको छ भन्ने पनि हामीलाई थाहा छ ।’ उनले भनेका छन् ।

सहज छैन अगाडिको यात्रा

युक्रेन युद्धमा रुसलाई हजारौँ चिनियाँ कम्पनीहरू सहयोग गरिरहेको बर्न्स बताउँछन् । उनले भने, ‘अमेरिकाले ठुलो सङ्ख्यामा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ र यदि रुसलाई सघाउनबाट चिनियाँ सरकार पछि हटेन भने हामी थप प्रतिबन्ध लगाउन तयार छौँ ।’ रुसलाई प्रतिबन्धको असर छल्न सघाउने चिनियाँ कम्पनीमाथि थप प्रतिबन्ध लगाउने धम्की इटलीमा गएको हप्ता बसेको जी–७ को बैठकमा सदस्य देशका नेताहरूले दिएका थिए । चीनले यी चेतावनीहरूलाई अहङ्कार, पूर्वाग्रह र झूटले भरिएको बयान भनेको थियो ।

तर पनि केही मानिसहरू यसलाई सन् २०२२ ताका दुई देशको सम्बन्धको तुलनामा सुधार नै भन्छन् । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आक्रोशित चीनले अमेरिकासँगको मन्त्रिपरिषद्स्तरीय सबै वार्ता रोकेको थियो । त्यसपछि सन् २०२३ मा विदेशमन्त्री एन्टोनी ब्लिन्केन चीन भ्रमणमा आउने बेलामा पनि चीन र अमेरिकाबिचको सम्बन्ध थप बिग्रियो ।  अमेरिकाले उत्तरी अमेरिकाको आकाशमा उडिरहेको चिनियाँ जासुस बेलुनलाई खसालेपछि ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्द गरे । गत वर्ष नोभेम्बरमा जो बाइडेन र सी जिनपिङको सान फ्रान्सिस्कोमा भेटघाट भएको बेलामा अमेरिका र चीनबिचको सम्बन्ध केही स्थिर बन्यो ।

राजदूतको रूपमा आफ्नो कार्यकालको पहिलो दुई वर्ष अत्यन्तै कठिन रहेको र चिनियाँ अधिकारीहरूसँग उनको निकै कम कुराकानी भएको बन्र्स बताउँछन् । अहिले दुई देशबिचको सम्बन्ध ‘तुलनात्मक रूपमा राम्रो’ भएको उनको भनाइ छ । तर अगाडिको यात्रा धेरै गाह्रो देखिएको उनले बताएका छन् । ‘अहिले दुई देशबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ र यो अवस्था आगामी लामो समयसम्म जारी रहनेछ । उनी बताउँछन् ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप