भारोत्तोलनमा सरितालाई स्वर्ण
काठमाडौँ । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन् । महिला ६७ केजीमाथि सरिताले ६५ केजी भार वहन गरिन् ।
बागमती प्रदेशकी सङ्गीता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउँदै क्रमशः रजत र स्वर्ण हात पारे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीकी अनुकला राई पहिलो भइन् । अनुले ४२ केजी वजन उचालिन् ।
कोशीकै सम्झना वन दोस्रो तथा गण्डकीकी शर्मिला विश्वकर्मा तेस्रो भइन् । सम्झनाले ४० तथा शर्मिलाले ३६ केजी भार वहन गरे ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण जितिन् । २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापा दोस्रो भइन् ।
दुई दिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा ३ गरी ७ स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन् । अन्तिम दिन मंगलबार पुरुषतर्फ ४ स्पर्धाको फाइनलमा हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण