सिड्नीमा ‘मुन्धुम मन्थन’ कार्यक्रम सम्पन्न
सिड्नी । किरात याक्थुङ चुम्लुङ, सिड्नी र शब्दाङकुर बुक्स एण्ड पब्लिकेशन को संयुक्त आयोजनामा अस्ट्रेलियाको सिड्नीमा ‘मुन्धुम मन्थन’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सुरुवातमा किरात याक्थुङ चुम्लुङ, सिड्नीका अध्यक्ष शशिकला सुब्बाले आगन्तुकहरूलाई स्वागत गर्दै अस्ट्रेलियामा याक्थुङ लिम्बुहरूको मुन्धुममा आधारित मौलिक संस्कृतिको संरक्षण गर्दै मुन्धुमको ज्ञान तथा संस्कृतिको हस्तान्तरण आवश्यक रहेको बताएका हुन् ।
यस अवसरमा याक्थुङ लिम्बुहरूको मौलिक बाजा च्याब्रुङ र च्याब्रुङ नाचको उत्पत्ति र वर्तमान अभ्यासको बारेमा जितमान लिम्बुले जानकारी दिएका थिए भने प्रकाशचन्द्र निङ्लेखुले याक्थुङ लिम्बुहरूको धान नाच र पालमको उत्पत्ति एवम् लिम्बु भाषाबाट राखिएका लिम्बुवान क्षेत्रका विभिन्न स्थानका नामहरूका बारेमा चर्चा गरेका थिए ।
अतिथि वक्ता भोगेन्द्र लिङदेनले याक्थुङ लिम्बुहरूको नाम्सामी र केसामी मुन्धुमको बारेमा चर्चा गर्दै मिथकहरूले आदिम कालदेखि वर्तमान समयसम्म समाजलाई अगाडि बढाउने माध्यमको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको कुरामा जोड दिएका थिए ।
कार्यक्रमकै सिलसिलामा याक्थुङ लिम्बु जातिको मुन्धुम र मुन्धुममा आधारित साँस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने प्रमुख लक्ष्य लिएर स्थापना गरिएको सेक्मुरी फाउन्डेसनको लागि शोमा निङ्लेखु र कायरा निङ्लेखुको तर्फबाट रु. एक लाख पचास हजार र शशिकला सुब्बाको तर्फबाट एक लाख एक रूपैयाँ बराबरको अक्षय कोष खडा गरिएको जानकारी दिँदै सेक्मुरी फाउन्डेसनका महासचिव भोगेन्द्र लिङ्देनले उक्त रकमबाट याक्थुङ लिम्बु जातिको मुन्धुम, मिथक, भाषा, साहित्य, संस्कृति र इतिहासको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न फेलोसिप स्थापना गरिने बताए ।
सिड्नीस्थित् एसबरी सिनियर सिटिजन्स सेन्टरमा स्थानीय समय अनुसार साँझ ६ बजे देखि ८ बजेसम्म सम्पन्न सो कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, सिड्नीका अध्यक्ष शशिकला सुब्बाले सिलाम साक्मा र च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रममा सक्रिय सहभागिता जनाउने सहभागीहरूलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । किरात याक्थुङ चुम्लुङ, सिड्नीका महासचिव मनुराज निङलेखुले सञ्चालन गरेको उक्त कार्यक्रमको अन्त्यमा सहभागीहरूद्वारा केलाङ (च्याब्रुङ नृत्य) प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने
-
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
-
बुल्गेरिया पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ
-
महिला टी–२० विश्वकपमा पहिलोपटक ‘स्मार्ट रिप्ले सिस्टम’
-
इजरायल–लेबनान–इरान द्वन्द्वले त्यहाँ कार्यरत नेपाली त्रासमा
-
जापानी विमानस्थलमा दोस्रो विश्व युद्धताकाको बम पड्कियो