बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सर्वोच्च अदालतभित्र कोचिङ चलाएको भन्दै कर्मचारीकै विरोध

मङ्गलबार, १५ साउन २०८१, २१ : ३९
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । सर्वोच्च अदालतभित्रै शुल्क लिएर कोचिङ कक्षा सुरु गरिएपछि चर्को विरोध सुरु भएको छ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले मंगलबारदेखि सञ्चालन गरेको लोकसेवाको तयारी कक्षालाई लिएर विवाद भएको हो । 

सर्वोच्चको एनेक्स भवनको सभाहलमा बिहान साढे ६ देखि साढे ८ बजेसम्म न्याय सेवाको लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको छ ।  संगठनले ५० जनाको सिट सङ्ख्या नै निर्धारण गरेर कक्षामा सहभागी हुन साढे १३ हजार रुपैयाँ शुल्क तोकेको छ । तयारी कक्षाको नाममा संगठनले  अदालतभित्र कोचिङ सेन्टर खोल्नु ‘ठगी’ भएको भन्दै अदालतकै कर्मचारी युनियनहरूले विरोध गरेका हुन् ।

संगठनले केही दिनअघि मात्रै लोकसेवा तयारी कक्षामा सहभागी हुन चाहनेलाई भर्ना हुन सूचित गरेको थियो । सूचनामा लोकसेवा आयोगबाट लिइने नेपाल न्याय सेवा (न्याय, कानुन र सरकारी वकिल समूह) उपसचिव पदको प्रथम र द्वितीय दुवै पत्रको तयारी कक्षा सञ्चालन हुने र सहभागिताका लागि भर्ना शुल्कबापत साढे १३ हजार रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । 

कोचिङको नाममा न्यायालय जस्तो गरिमामय ठाउँमा ठगीधन्दा सुरु गरेको भन्दै अहिले व्यापक आलोचना भएको हो । सर्वोच्च अदालतकै कर्मचारीहरूले समेत उक्त कार्यप्रति विरोध जनाएका छन् । अधिवक्ता हरि भट्टराईले व्यापारिक प्रयोजनका लागि अदालतभित्रै यस्ता कार्य लज्जास्पद रहेको भन्दै तत्काल रोक्न माग गरेका छन् । 

न्यूनतम शुल्कमा कक्षा सुरु गरिएको संगठनको दाबी 

चर्को शुल्क लिएर अदालतभित्रै लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको भन्दै व्यापक आलोचना भइरहँदा संगठनका अध्यक्ष अर्जुनबाबु सापकोटाले सस्तो शुल्कमा कक्षा सुरु गरेको दाबी गरेका छन् । 

ख्यातिप्राप्त विषयविज्ञ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन हुने बताउँदै उनले भने, ‘हामीले निकै कम शुल्कमा कक्षा सञ्चालन गरेका हौँ ।’ उनका अनुसार साढे दुई महिना कक्षा सञ्चालन हुने छ । संगठन र अदालतभित्रका कर्मचारीका लागि न्यूनतम शुल्कमा कक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप