बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

एक मिनेटको अन्तरमा जन्मिएका दुई शिशुको स्तनपान गर्नै नपाई मृत्यु

प्रसव पीडाबिच न्यायको खोजीमा प्रदीप–विद्या (भिडियो)
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । आफ्नो कोखबाट जन्मिएको शिशुलाई स्तनपान गराउँदा महिलाले पाउने खुसी अरू कुनै कुरासँग तुलनै हुन सक्दैन भन्ने मान्यता छ । तर चितवनकी विद्या राणाले यो खुसी अनुभूत गर्नै पाइनन् ।

उनले स्तनपान गराउनै नपाई दुई शिशु गुमाउनु पर्‍यो । ‘अस्पतालको लापरबाही’ले एक मिनेटको अन्तरमा जन्मिएका दुई सन्तान (छोरा)लाई स्तनपान गराउनै नपाई गुमाउनु परेको पीडा पोख्छिन्, २४ वर्षिया राणा ।

आठ महिना १६ दिन (३५ हप्ता) मा जन्मेका बच्चालाई काठमाडौँको बुढानीलकण्ठ चुनिखेलस्थित करुणा अस्पतालले नवजात सघन हेरचाह इकाई (एनआइसीयु) मा राख्यो । यही अस्पतालमा उनले गत असार २४ गते राति ९ः३९ एक र ९ः४० बजे अर्को सन्तानलाई जन्म दिएकी थिइन् ।

सुरुमा जुम्ल्याहा बच्चा भएकाले अप्रेसन गर्न चिकित्सकले उनलाई सुझाएका थिए ।  राणाले ‘नर्मल डेलिभरी’ नै चाहिन् । उनका श्रीमान् प्रदीप भट्टले रातोपाटीलाई बताए  अनुसार, बच्चा पेटमा उल्टो भइसकेकाले चिकित्सककै सल्लाहमा सोही रात अप्रेसन गरी शिशु निकालियो ।

‘एउटा बाबुको २४ सय ग्राम र अर्को बाबुको २३ सय ग्रामको हाराहारी तौला थियो’ उनले सुनाए, ‘एक छिन बच्चाको फोटो खिच्न दिएर एनआइसीयुमा राखियो ।’

दुवै बच्चा तेस्रो दिन (असार २७ गते )सम्म सामान्य अवस्थामा थिए । दूध खुवाउँदा बच्चालाई सर्किने तर्क गरेर चिकित्सकले स्तनपानको मौकै दिएनन् । सोही दिन डिस्चार्ज दिने भनियो । चिकित्सकले आमालाई मात्र डिस्चार्ज दिन खोजे । जबकि भट्टको दाबी अनुसार, चिकित्सक डा. प्रयास श्रेष्ठ कक्षपतीले आमा र बच्चाको सबै रिपोर्ट ठिक छ भनेका थिए । ‘तर डिस्चार्ज दिने दिन उनी आएनन्, फोनमा पनि प्रतिक्रिया पाउन सकिएन । त्यसपछि हामी बच्चा नलिई नजाने भनेर अस्पतालमै बस्यौँ’ उनले भने ।

त्यही रात चिकित्सकले जुम्ल्याहा पहिलो बच्चालाई ‘स्लिप एप्नोइय’ भएको खबर दिए । ‘राति ४ बजेदेखि बच्चालाई यान्टिबायोटिक प्रयोग गरियो । बच्चाको हातखुट्टाको नसा नभेटिएकाले सियो खोपियो’ उनले देखेको दृश्य सुनाए, ‘चिकित्सकले बच्चालाई नाइटोबाट औषधि चढाउन पर्‍यो भनेर अप्रेसन गर्ने जानकारी हामीलाई दिइयो । नाइटोको सानो अप्रेसन हो भनियो ।’ 

नाइटोको अप्रेसनका लागि असार २८ गते प्रदीपले ब्लड बैङ्कबाट रगत ल्याए । ‘बच्चालाई नाइटोबाट पिआरपी (प्लेट लेट युक्त प्लाज्मा) दिएपछि पहिलो बच्चाको अवस्था खराब जस्तो लाग्यो’, उनले भने । त्यसपछि प्रदीप विकल्पका लागि टिचिङ अस्पताल महाराजंग पुगे ।

प्रदीपले बताए अनुसार, यान्टिबायोटिक दिएपछि पहिलो बच्चाको प्लेट लेट २ लाख ८ हजार बाट घटेर ८७ हजारमा आयो । प्रदीप दम्पतीले बच्चालाई  टिचिङ अस्पतालमा रिफर मागे ।

अस्पतालले उपचार खर्च भुक्तान गर्न भन्यो । प्रदीपले चार दिन एनआइसीयुमा राखे बापत  प्रतिबच्चा १ लाख ४५ हजार रुपैयाँका दरले रकम बुझाए । पहिलो बच्चाको अवस्था जटिल भएपछि असार २९ गते टिचिङ अस्पताल पुर्‍याए । दोस्रो बच्चा चाहिँ चिकित्सकको सल्लाहमा अस्पतालमै राखियो ।

बच्चाको नाइटोको शल्यक्रियामै त्रुटि !

‘टिचिङमा पुगेपछि थाहा भयो पहिलो बच्चाको नाइटोको शल्यक्रियामै त्रुटि भएछ । नाइटोबाट रगत जम्मै निस्किएको रहेछ, टिचिङका चिकित्सकले केही कोसिस गरे, बच्चा नर्मल जस्तो पनि भयो’ उनले रातोपाटीलाई सुनाए ।

उता, करुणा अस्पतालमा अर्को बच्चा के भयो होला भन्ने खुल्दुली भइरहेको थियो ।  सकुशल छोडिएको बच्चाको कुरुवा बसेकी विद्याकी दिदीको फोन आयो ।

‘राति ११ बजे दिदीको फोन आयो । अस्पतालले मेरो हस्ताक्षर गरायो भन्नुभयो । चिकित्सकलाई फोन गर्नु भन्नुभयो’ उनले भने ।

प्रदीपले लगत्तै राति डा. प्रयास श्रेष्ठलाई फोन गरे, तर कुनै रेस्पोन्स पाएनन् । ‘भोलिपल्ट बिहान (असार ३० गते) ४ बजे रगतको आवश्यक परेको खबर करुणा अस्पतालबाट आयो । म अस्पताल पुगेर कागजात लिई हतार हतार रेडक्रस पुगे’ उनले भने, ‘त्यही बेला फेरि फोन आयो र भनियो– बच्चाको इन्टर्नल ब्लिडिङ भइरहेको छ ।’ 

प्रदीपले बिहान ६.३० मा रेडक्रसबाट रकम पाउँछन् । अनि हस्याङफस्याङ गर्दै अस्पताल पुग्छन् । दुर्भाग्य: दोस्रो बच्चाको निधन भइसकेको हुन्छ । ‘अस्पताल पुग्दा मेरो बच्चाले धर्ती छोडिसकेको हुन्छ । चिकित्सकहरू सिपिआर दिएर बसिरहेको भेट्छु’ त्यति बेलाको पीडादायी दृश्य उनले सुनाए । 

पीडामाथि पीडा थपियो: टिचिङ अस्पतालमा उपचाररत पहिलो बच्चाको पनि आन्तरिक रक्तस्रावका कारण असार असार ३१ गते निधन भयो ।

शिक्षण अस्पतालले रगतमा सङ्क्रमण फैलिएका कारणले शिशु बचाउन नसकिएको स्पष्टीकरण दिएको छ । ‘बच्चा सानो थियो, नाइटोबाट औषधि दिइएको थियो,’ अस्पतालले भन्यो– ‘ स्रोतले भन्यो, ‘सानो बच्चा थियो, त्यस्तोमा हाइ रिस्क हुन्छ, साथै बच्चामा इन्फेक्सन थियो, सो कारणले  बच्चाको निधन भएको हो ।’ 

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिनेश काफ्ले भने यो विषयमा आफूलाई जानकारी नै नभएको भनेर पन्छिन खोजे ।

यस प्रकृतिको प्रसव पीडा कोही कसैले भोग्न नपरोस् । तर, विद्याको जीवनमा यस्तो बज्रपात आइलाग्यो कि दुई सन्तानलाई स्तनपान गराउनै नपाई एक साताभित्रै गुमाउनु पर्‍यो । 

baby  (1) (1)

 सामान्यतः आमाको दूधमा पोषण हुने भएकाले जन्मनासाथ बच्चालाई दूध खुवाइन्छ । तर विद्याले यो अवसर पाइनन्, अस्पताले रोक्यो ।

‘एनआइसीयुमा राख्दा बच्चालाई निमोनिया भएको, टिभी भएको वा ठुलै रोग लागेको भए रिपोर्ट दिनु पर्ने थियो’ प्रदीप मन भारी बनाउँदै अनुत्तरित प्रश्न गर्छन्, ‘बच्चा जन्मिँदा नर्मल रिपोर्ट दिएको छ । किन अस्पतालले एनआइसीयुमा राख्यो ?’ 

‘अस्पतालले कसरी पैसा कमाउन सकिन्छ भनेर अनेक ग–यो’ उनको आरोप छ ।

JANMIDAKO REPORT  (1)JANMIDAKO REPORT  (2)

 न्यायको खोजी 

यो चरम पीडादायी घट्नाबिच प्रदीप र विद्याले एक महिना भन्दा बढी भयो न्यायका लागि राज्यका विभिन्न निकाय भौँतारिएको, गुहार मागेको ।

‘न्याय पाउन राज्यको हरेक निकाय पुगे तर सुनवाइ भएन’ उनी भन्छन् ।

उनी पुगेका निकायहरूमा महाराजगन्जस्थित प्रहरी वृत्त, जिल्ला प्रहरी परिसर भद्रकाली, उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, सरकारी वकिलको कार्यालय माइतीघर, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, कानुन मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार रहेका छन् । 

सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँलाई त उनले हुलाकबाट जाहेरी पठाए । 

जिल्ला प्रहरी कार्यालयले स्वास्थ्य मन्त्रालय मातहतको निकायमा उजुरी दिन भनेपछि उनले गत असार ३१ गते नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गराए ।

विद्या भन्छिन् ‘तर २० पटक धाउँदा पनि काउन्सिलबाट कुनै खबर प्राप्त भएको छैन ।’

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले यो घटना थाहै नपाए जस्तो गरे । उनले घटना भएको अस्पताल कुन क्षेत्रमा पर्छ भनेर बुझ्नै बाँकी रहेको भन्दै उल्टै रातोपाटीसित जानकारी मागे ।

pradeep and biddha  (2)

के भन्छ करुणा अस्पताल ?

प्रदीप–विद्याले ‘उपचारमा लापरबाही’ गरेको भनेर दाबी गरिरहेको बेला करुणा अस्पतालले भने नेपाल मेडिकल काउन्सिलको रिपोर्टले सबै कुरा बोल्ने बतायो । रिपोर्ट नआउँदासम्म कुनै टिप्पणी नगर्ने अस्पतालका पब्लिक रिलेसन अफिसर सरोज श्रेष्ठले बताए । 

‘हामीले मान्छे मार्ने होइन, उपचार गर्ने हो । पीडामा हुनु हुन्छ आरोप लगाउनु भएको छ ।’ उनले भने, ‘काउन्सिलमा मुद्दा दर्ता गर्नु भएको छ । रिपोर्ट नआउँदासम्म हामी नबोल्ने  पक्षमा छौँ ।’

काउन्सिलले माग गरेको कागज आफूले पठाई सकेको श्रेष्ठले बताए । 

अस्पताल वा चिकित्सक दोषी ठहरिए कानुनी सजाय भोग्ने उनले बताए ।

के गर्दै छ मेडिकल काउन्सिल ?

काउन्सिलले पीडितको उजुरीबारे अनुसन्धान गर्न विषय विज्ञको प्रारम्भिक खाका तयार पारिसकेको छ ।

काउन्सिलका कार्यकारी सदस्य डा.कालु सिंह खत्रीले रातोपाटीसित भने ‘विषय विज्ञको प्रारम्भिक खाका तयार भइसकेको छ । पीडित पक्षको कागजपत्र तयार भइसकेको छ । थप अध्ययन हुँदै छ । केही समयमा आइहाल्छ ।’

उजुरीकर्ताले उपचारका क्रममा चिकित्सकले लापरबाही गर्दा बच्चाको निधन भएको भनेर उजुरी दिएको उनले बताए । 

‘रकम नदिँदा बच्चाको उपचारमा लापरबाही गरेको विषयवस्तु राखेर मुद्दा दर्ता गराउनु भएको छ’ उनले भने, ‘हस्पिटलको सम्पूर्ण कागजात ल्याएका छौँ । सिसिटिभी फुटेज मागेका छौँ, त्यो उपलब्ध भएपछि अनुसन्धान गरिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया