शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

डलरको उच्च दरले अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

मङ्गलबार, २५ भदौ २०८१, १८ : ३०
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा छ । विश्व अर्थतन्त्रमा देखिएको उथलपुथल र भारतीय अर्थबजारमा देखिएको उतारचढावले नेपाली मुद्राको निरन्तर अवमूल्यन भइरहेको छ । अमेरिकी डलरसँग नेपाली र भारतीय मुद्राको पेग (स्थिर विनिमय दर) भएकाले भारतीय मुद्राकै आधारमा नेपालमा डलरको मूल्य तय हुन्छ ।

पछिल्लो १० वर्षमा मात्रै अमेरिकी डलरको मूल्य नेपाली बजारमा ३६ रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिददर १३४.०४ र बिक्रीदर १३४.६४ रुपैयाँ तोकेको छ । हप्ता दिन अगाडि १ अमेरिकी डलरको मूल्य खरिददर १३३.९८ रुपैयाँ थियो । 

९ महिनाअघि जनवरी १ मा १ अमेरिकी डलरको खरिद मूल्य १३२.८४ रुपैयाँ तोकिएको थियो । आजको ठिक एक वर्षअघि १ अमेरिकी डलरको खरिददर नेपाल राष्ट्र बैंकले १३२.४२ रुपैयाँ तोकेको थियो । पछिल्लो एक वर्षमा डलरको मूल्यमा ठुलो बदलाव नआए पनि आजभन्दा ५ वर्षअघि सन् २०१९ को जनवरीमा १ अमेरिकी डलरको मूल्य १११.३४ रुपैयाँ थियो । १० वर्ष अघि त १ अमेरिकी डलरको मूल्य ९८ रुपैयाँ थियो । 

युरोप, मध्यपूर्व लगायत मुलुकको राजनीतिक घटनाक्रम केही शान्त देखिएपछि डलरको मूल्य पछिल्लो केही महिना अलि स्थिर देखिएको जानकारहरूको भनाइ छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल अमेरिकी र भारतीय अर्थव्यवस्थाले नेपालमा डलरको मूल्य तय हुने भएकाले नेपालको आन्तरिक कारणले कुनै फरक नपार्ने बताउँछन् । 

POE201503Image_20160630090239

पछिल्लो ५ वर्षलाई मात्रै हेर्दा पनि विश्व अर्थव्यवस्थामा ठुलो परिवर्तन देखियो । कोभिडदेखि रुस–युक्रेन युद्ध यही बेला भयो । कच्चा तेलको मूल्य उच्च भयो । मध्यपूर्वी एसिया पनि शान्त देखिएन । यसले गर्दा अन्य मुलुकको लगानी सुरक्षित ठानेर अमेरिकातिर आकर्षित भएको पोखरेलको भनाइ छ । ‘युद्ध, कोभिडपछिको आर्थिक अवस्थालगायत कारणले विश्वभरका लगानीकर्ता अमेरिकातर्फ आकर्षित हुँदा हाम्रोजस्तो मुलुकको मुद्रा कमजोर बन्यो,’ उनले भने ।

  • कहाँकहाँ प्रभाव 

विनिमयदर स्थिर भएका कारण स्वाभाविक रूपले भारतीय मुद्रा कमजोर हुनसाथ त्यसको प्रभाव नेपालमा पर्छ । जसले नेपालको समग्र अर्थतन्त्रलाई प्रभावित पार्ने, महँगी बढाउने, व्यापार घाटा थप चुलिने र विदेशी मुद्रा सञ्चितिमा चाप पर्न जान्छ । डलर महँगो हुनसाथ आयातमा निर्भर नेपालजस्तो मुलुकले सानो सामानको लागि पनि धेरै मूल्य तिर्नुपर्ने हुन्छ । 

dollar 2

यसको प्रभाव व्यापार घाटा उच्च हुने र महँगी थप बढ्ने देखिन्छ । निर्यात गर्न सक्ने अवस्थामा डलरको मूल्य बढ्दा त्यसले फाइदा नै गर्छ । तर आयात उच्च रहेको नेपालको अर्थतन्त्रमा महँगीको चाप थप पर्न जाने अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । ‘पर्यटन लगायत सेवाको क्षेत्रको आम्दानीमा सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स आप्रवाहमा सुधार देखिन्छ,’ उनी भन्छन्, ‘तर व्यापार घाटा चुलिने, महँगी बढ्ने र बाह्य ऋणको दायित्व भुक्तानीमा थप भार पर्छ ।’ नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा डलरको उच्च मूल्यले फाइदाभन्दा घाटा बढी हुने थापाको भनाइ छ । 

अमेरिकी केन्द्रीय बैंकले लिएको नीतिका कारण पनि पछिल्ला केही वर्षदेखि विश्वभरका लगानीकर्ता आकर्षित हुँदा डलरको मूल्य आकासिएको छ ।

हाम्रो अर्थतन्त्र आयातमुखी भएकाले डलर महँगो हुँदा व्यापारघाटा थप उच्च हुने उनको भनाइ छ । ‘महँगो डलर तिर्नुपर्दा व्यापार र शोधनान्तर घाटा थप बढ्छ,’ थापा भन्छन् ।

अमेरिकी केन्द्रीय बैंकले लिएको नीतिका कारण पनि पछिल्ला केही वर्षदेखि विश्वभरका लगानीकर्ता आकर्षित हुँदा डलरको मूल्य आकासिएको छ । कोभिडपछिको अर्थतन्त्र बलियो बनाउन अमेरिकी केन्द्रीय बैंकले ब्याजदरदेखि लगानीका लागि धेरै लचिलो नीति अवलम्बन गरेको थियो । 

अर्थशास्त्री थापा अमेरिकी केन्द्रीय बैंकको नीतिले विश्व बजारका लगानीकर्ता आकर्षित गर्न सफल भएको बताउँछन् । ‘अमेरिकामा लगानीका लागि यसै पनि सहज अवस्था थियो । त्यसमा झन् पछिल्ला वर्षको नयाँ नीतिले विश्वभरकै लगानीकर्ता डलरमा लगानी गर्न झुम्मिएका छन्,’ उनी भन्छन्, ‘भारतीय बजारका लगानीकर्तासमेत अमेरिकी डलरमा आकर्षित भएकाले भारतीय रुपैयाँको मूल्य पनि घटेको हो । यसले हामीलाई स्वाभाविक प्रभाव पार्ने नै भयो ।’

  • वैदेशिक व्यापार घाटा थप बढ्ने 

अहिले सरदर ९० रुपैयाँको सामान आयात गर्दा नेपालबाट करिब १० रुपैयाँको सामान निर्यात भइरहेको छ । विदेशी ऋणको भुक्तानी पनि डलरमा नै हुन्छ । नेपालमै प्रशस्त उत्पादन हुने खाद्यान्न र तेल, चिनीजस्ता वस्तुहरूसमेत डलर तिरेर आयात गर्नुपर्ने अवस्था छ । यसरी हरेक वस्तु आयात गर्नेदेखि नेपाल विद्युत् प्राधिकरणले डलरमा विद्युत् खरिद सम्झौता गरेका कम्पनीलाई समेत डलर तिर्नुपर्ने हुन्छ । अहिले बर्खायाममा विद्युत् आयात भए पनि सुख्खायाममा नेपालले बिजुली किनेरै चलाउनुपर्छ । सबैतिरको भुक्तानी डलरमा हुँदा हाम्रो विदेशी विनिमयको भण्डारमा चाप पर्छ ।

dollar 1

यसले व्यापार घाटा थेगिनसक्नु गरी बढिरहेको छ । पछिल्लो समय उच्च हुँदै गएको डलरको भाउले यसलाई थप मलजल गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मात्रै मुलुकलाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब ६० करोड घाटा भएको छ । 

पर्यटकको आगमन नेपालको अर्थतन्त्रलाई प्रभाव पार्न सक्ने गरिएको छैन । यसले गर्दा नेपालले डलर आम्दानी गर्ने मुख्य स्रोत रेमिट्यान्स मात्रै बनेको छ । डलरको मूल्य लगातार उकालो लागेका कारण कोभिड पछिका वर्षमा रेमिट्यान्स आप्रवाह वृद्धिदर भने सन्तोषजनक देखिन्छ । गत आव २०८०/८१ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षमात्रै नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स मुलुक भित्रिएको छ । यसले डलर सञ्चितिमा ठुलो भरथेग गरेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा डलर सञ्चिति ३०.४ प्रतिशतले बढेको छ । गएको असारसम्म मुलुकमा १५ अर्ब २७ करोड डलर सञ्चिति छ । अघिल्लो आव २०७९÷८० को असारमा ११ अर्ब ७१ करोड डलर थियो । गत आवको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको डलर सञ्चितिले १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । 

अर्थशास्त्री थापा भन्छन्, ‘डलर सञ्चितिले आयात धान्ने बलियो सङ्केत गरे पनि महँगी भने बढ्छ । ऋण भुक्तानी लगायतका वैदेशिक कारोबारमा दायित्व बढ्ने हुँदा समग्रमा नेपालजस्ता मुलुकका लागि डलर महँगो हुनु घाटा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मस्त केसी
मस्त केसी
लेखकबाट थप