ट्रम्पलाई यो पटक सहज छैन
यसपटक डोनाल्ड ट्रम्पलाई विदेश नीतिको क्षेत्रमा अप्ठ्यारो अवस्था छ भनिरहेका छन् मानिसहरू । यस्तो किन भनिँदै छ भन्ने मैले बुझ्न सकेको छैन ।
ट्रम्पले धेरै काम गर्नुपर्ने छैन । भ्लादिमिर पुटिनलाई रुसको पश्चिमा सीमामा सम्झौता गराउनु पर्नेछ । भोलोदिमिर जेलेन्स्कीलाई उसको पूर्वी सीमामा सम्झौता गराउनु पर्नेछ । बेन्जामिन नेतान्याहुलाई पश्चिमी र दक्षिणी सीमामा सहमत गराउनु छ । इरानको सर्वोच्च नेता अलि खमेनीलाई उसको पश्चिमी सीमामा सहमत गराउनु छ । लेबनान, सिरिया, इराक र यमनबाट पछि हट्न सहमत गराउनु छ । चीनलाई उसको पूर्वी सीमा निश्चित गर्न मनाउनु छ । यमनका हुथीलाई समुद्रमा उनीहरूको सीमा टुङ्गो लगाएर लाल सागरमा यात्रा गर्ने जहाजहरूलाई निर्वाध चल्ने बनाउनु छ । बस यत्ति त हो !
यसलाई अर्को ढङ्गले भन्दा– यदि तपाईँलाई अबको ट्रम्पको कार्यकाल आफ्नै दक्षिणी सीमामा केन्द्रित भएरमात्र बित्छ भन्ने लाग्छ भने मान्नुस् तपाईंले कुरा बुझ्नु भएकै छैन ।
ट्रम्पले अघिल्लो कार्यकाल सकेर राष्ट्रपति भवन छोड्दै गर्दा परिस्थिति अर्कै थियो । रुसले युक्रेनमा आक्रमण गरेको थिएन । इजरायलले हमास र हिज्बुल्लाहसँग युद्ध सुरु गरेको थिएन । मानिस शीतयुद्ध सकिएर व्यापक आर्थिक एकीकरण र महाशक्तिबिच शान्तिसाथ आरामको समयमा भएको भनिरहेकै थिए । इरान र इजरायल एक अर्काप्रति आक्रामक भए पनि आक्रमणकै तहमा पुगेका थिएनन् ।
इजरायलले वेष्ट ब्याङ्कमा कब्जा गरेको त थियो तर अहिलेजस्तो सत्तारुढ गठबन्धनमै वेष्ट ब्याङ्कनै इजरायलमा मिलाउने सहमति सहितको सरकार थिएन । आज त इजरायलको सरकारभित्रबाटै गाजामा पनि त्यही प्रकारको कब्जाको कुरा भइरहेको छ । अमेरिकाले हुथीलाई खासै ध्यान दिएको थिएन । अहिलेजस्तो आजसम्मकै सबैभन्दा धेरै विष्फोटक हतियार बोकेर बी–२ बमवर्षक विमान पठाउनु परेको थिएन ।
संक्षिप्तमा भन्दा ट्रम्पले दोस्रो पटक ह्वाइट हाउसमा फर्किने बेलासम्म विश्व राजनीतिमा धेरै रेड लाइन पार भइसकेका छन् । यसलाई पुरानै अवस्थामा फर्काउन र ट्रम्पले भन्ने गरेजस्तो ‘अमेरिकालाई फेरि महान बनाउन’ निश्चित रूपमा मिहिन र सुव्यवस्थित काम आवश्यक छ ।
ट्रम्पले दोस्रो पटक ह्वाइट हाउसमा फर्किने बेलासम्म विश्व राजनीतिमा धेरै रेड लाइन पार भइसकेका छन् । यसलाई पुरानै अवस्थामा फर्काउन र ट्रम्पले भन्ने गरेजस्तो ‘अमेरिकालाई फेरि महान बनाउन’ निश्चित रूपमा मिहिन र सुव्यवस्थित काम आवश्यक छ ।
शक्ति र कूटनीतिको उपयोगमा असाध्यै चलाखीपूर्वक काम गर्नु आवश्यक छ । अघिल्लो पटकजस्तो अमेरिकामात्रै हेर्ने भन्ने ट्रम्पको हल्लाले यसपटक काम गर्न सजिलो छैन ।
यतिबेला म इजरायलमा छु । यहाँ अति दक्षिणपन्थीहरूको सरकार छ । यो सरकारका अर्थमन्त्री तथा उग्रदक्षिणपन्थी नेता बेजालेल स्मोटरिचले अब आउँदो वर्ष (सन् २०२५) मा इजरायलले ‘जुदेया’ र ‘समारिया’ लाई ट्रम्पको सहयोगमा इजरायलमा मिसाउने विनाकुनै हिच्किचाहट घोषणा गरिसकेका छन् । यी नामहरू बाइबलको भाषामा वेष्ट ब्याङ्क क्षेत्रका नाम हुन् ।
यसपटक विजयी ट्रम्प स्मोटरिच र उनीजस्तै इजरायलीहरूले सोचेजस्तो निःशर्त सहयोगी नहुन पनि सक्छन् । ट्रम्पले अमेरिकी इतिहासमै पहिलोपटक अरब र मुस्लिम अमेरिकीलाई खुला आह्वान गरेर समर्थन हासिल गरेका हुन् । गाजामा भइरहेको इजरायली हमलामा अमेरिकाको निःशर्त समर्थनबाट आहत अमेरिकी मुस्लिमहरूले केही आशासाथ ट्रम्पलाई सहयोग गरेका हुन् ।
ट्रम्पले निर्वाचनको दौरान विश्व मामलामा न्यूनतम मात्रै संलग्न हुने बाचा पनि गरेका छन् । अझ उनले अघिल्लो कार्यकालमा इजरायल तथा गाजा र वेष्ट ब्याङ्कमा ‘दुई राज्यको समाधानसहितको शान्ति प्रस्ताव’ पनि प्रस्तुत गरेका थिए । भलै त्यसले इजरायलको पक्षमा बढी काम गर्थ्यो ।
गत मंगलबार म हाइफामा खाना–खान गएको थिएँ । मसँग इजरायली यहुदी र अरब दुवै पक्षका साथी थिए । उनीहरूका कुराले मलाई हैरान बनाए । उनीहरू भन्छन्– इजरायली यहुदीहरू ट्रम्पको ज्वाइँ यहुदी भएका कारण ट्रम्प प्यालेस्टाइनप्रति आक्रामक हुन्छन् भन्ने विश्वास गर्छन् । उता इजरायली अरबहरू भने ट्रम्पको अर्को सम्धी लेवनानी अमेरिकी भएको कारण ट्रम्प नेतान्याहुप्रति कठोर हुन्छन् भन्ने आशा गर्छन् । अब एक पक्ष त पक्कै निराश हुनैपर्ने हुन्छ ।
ट्रम्पको कूटनीतिका लागि रुस–युक्रेन सीमामा युद्धविराम र शान्ति वहालीका लागि पुटिनलाई मनाउनु सबैभन्दा ठुलो चुनौती हुन जान्छ । अमेरिकन इन्ट्ररप्राइज इन्स्टिच्युटमा कार्यरत रुस विज्ञ लेओन एरोनका अनुसार यस्तो चुनौती आउनुमा ट्रम्प र पुटिनका फरक लक्षहरू जिम्मेवार हुन्छन् । उनका अनुसार ‘ट्रम्प युक्रेनमा शान्ति खोज्दैछन् उता पुटिनलाई जित चाहिएको छ ।’
एरोनका अनुसार ६ लाख हाराहारीका घाइते र मृत सैनिकबिच उभिएर पुटिन खाली हात फर्किन सम्भव हुँदैन । पुटिन यो युद्ध हार्न कुनै हालतमा तयार हुँदैनन् । ट्रम्पले यो युद्धलाई पश्चिमको पराजयजस्तो देखिने बिन्दुमा सम्झौता गराउन अप्ठ्यारो छ । यसो गर्दा उनी हरूवाको रूपमा देखिन्छन् ।
सम्भावना अरु नै हुन सक्छ । हाल कायम रहेको युद्धलाई रोक्दै दुवै पक्षलाई स्वीकार्य हुने सम्झौताका लागि जटिल बाटो अपनाउनुपर्ने हुन्छ । यसो गर्दा रुसमाथि लागेका केही प्रतिबन्ध फुकुवा गर्नुपर्ने हुन्छ । युक्रेनलाई नेटो सदस्य नबनाइ सुरक्षाको प्रत्याभूति हुने कुनै व्यवस्था गर्ने तथा युरोपियन युनियनमा प्रवेश सहज बनाउने हुन सक्छ । यही बिन्दुमा पुग्नका लागि पनि पुटिनले केही धक्का बेहोर्नै पर्ने हुन्छ । यस्तो अवस्थामा ट्रम्पले थप युद्ध चर्काउने वा सम्झौता गर्ने प्रस्ताव राखेर दबाब सिर्जना गर्न सक्छन् ।
इजरायली यहुदीहरू ट्रम्पको ज्वाइँ यहुदी भएका कारण ट्रम्प प्यालेस्टाइनप्रति आक्रामक हुन्छन् भन्ने विश्वास गर्छन् । उता इजरायली अरबहरू भने ट्रम्पको अर्को सम्धि लेवनानी अमेरिकी भएको कारण ट्रम्प नेतान्याहुप्रति कठोर हुन्छन् भन्ने आशा गर्छन् ।
पुटिनले युद्धका लागि १० हजार उत्तर कोरियाली सेना लिनुले केही सङ्केत पक्कै गरेको छ । यसका दुई पक्ष हुन सक्छन् । प्रस्ट जित नभइ युद्ध रोक्नुपर्ने अवस्थाबाट उनी डराएका हुन सक्छन् वा धेरै रुसी युवाहरू युद्धमा मारिँदा मस्को र सेन्ट पिटर्सवर्गका सम्भ्रान्तहरूको प्रतिरोधको सामना गर्नुपर्ने डर पनि उनलाई हुन सक्छ । एरोनका अनुसार पुटिन दबाबमा छन् ।
युद्ध लड्ने मान्छेहरूको सङ्ख्या घटेको छैन । तर, उनीहरू अनन्तकालीन युद्ध लड्न तयार छैनन् । अझै १२ महिना युद्धमा युक्रेनलाई यसरी नै टिकाउने हो भने पुटिन सम्झौताका लागि तयार हुन्छन् । ट्रम्पले निर्वाचन अभियानताका गरेको युक्रेन युद्ध अन्त्यको प्रतिज्ञा यसरी पूरा हुन सक्छ ।
जसरी ट्रम्पले नेटोबाट फिर्ता हुने वा लामो समयदेखिका मित्रराष्ट्रहरूको सुरक्षाबाट पछि हट्ने कुरा गरिरहेका छन्, यस्तो भयो भने भूराजनीतिमा नयाँ र फरक रेड लाइनहरू बन्नेछन् ।
जापान, पोल्याण्ड, दक्षिण कोरिया र ताइवानको छिमेकामा आणविक हतियारले सुसज्जित आक्रामक शक्ति छन् । यी मुलुक आफैँसँग पनि आणविक हतियार निर्माणको प्रविधि र स्रोतसाधन दुवै छ । चर्चित रणनीति विज्ञ तथा याले विश्वविद्यालयका अध्यापक गौतम मुकुन्दका अनुसार यी मुलुकहरूले आफ्नो सुरक्षाको जिम्मा अमेरिकाले लिने तथा आणविक हमलाको अवस्था आएमा अमेरिकाले जोगाउने विश्वासका कारणमात्र यस्ता हतियार नबनाएका हुन् ।
उनका अनुसार ट्रम्पको रवैया यस्तै हुँदै जाने हो भने अमेरिकालाई विश्वास गरेर भर परेका देशहरू अब नरोकिन पनि सक्छन् । उनीहरूले यी घटनाक्रमलाई नियालिरहेका छन् । सोभियत संघको विघटन लगत्तै आफ्नो आणविक हतियारको खजाना रुसलाई सुम्पेको युक्रेनको हविगत उनीहरूले देखिरहेका छन् ।
यदि यी मुलुकहरूले अमेरिकाप्रतिको विश्वास साँच्चै गुमाए भने वा अमेरिका आफैँले हात झिकेको अवस्थामा निःसन्देह उनीहरू आफैँ आणविक हतियार निर्माणमा लाग्नेछन् । दोस्रो विश्वयुद्धपछि हतियारको विस्तारलाई रोकेको न्युक्लियर नन–प्रोलिफेरेसन ट्रिटी (आणविक अप्रसार सन्धि)को अन्त्य हुनेछ । यसले सबै खाले रेड लाइन तोडिदिनेछ ।
यही परिवेशमा ट्रम्पले विदेश मामला सम्बन्धि नियुक्तिका लागि छनोट गरेका २ नाम चर्चामा आएका छन् । सिनेटर मार्को रुवियो स्टेट सेक्रेटरीको रूपमा तथा प्रतिनिधि माइकल वाल्ज राष्ट्रिय सुरक्षा सल्लाहकार बन्ने खबर आएका छन् । यी दुवैजना चीनविरुद्ध मुखर अभिव्यक्ति दिइरहने तथा कडा रवैयावाला हुन् ।
पक्कै पनि उनीहरू चीनविरुद्ध ट्रम्पले निर्वाचन अभियानताका भन्ने गरेको दोब्बर भन्सार नीतिलाई थप कठोर बनाउनेतर्फ जान सक्छन् । तर चीन ट्रम्पको अघि जसरी पहिले झुकेन, यो पटक पनि झुक्ने छैन । म यी दुवै नयाँ अधिकारीहरूलाई जुलाई २९ मा वालस्ट्रिट जर्नलमा प्रकाशित चिनियाँ टेलिकम कम्पनी हुवावेबारेको लेख पढ्न गम्भीरता साथ अनुरोध गर्छु ।
जसमा लेखिएको छः पाँच वर्ष अघि अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगायो । अमेरिका र यसका मित्रराष्ट्रहरूको जासुसी गर्छ भन्ने आरोपमा यसका सबै पहुँचहरूलाई काट्ने काम गरियो ।...सुरुमा हुवावेले सङ्घर्ष गर्नुपर्यो । आजको दिनमा यो फेरि जागेर आएको छ । राज्यको अर्बौं डलर सहयोगमा यसले आफ्नो व्यापार साम्राज्य विस्तार गरेको छ । नाफामा व्यापक वृद्धि गरेको छ साथै अमेरिकी आपूर्तिकर्तामाथिको निर्भरतालाई छल्ने जुक्ति पनि पत्ता लगाएको छ । आजको दिनमा हुवावे संसारको टेलिकम–सामग्री बजारको सबैभन्दा ठुलो कम्पनीमा दरिएको छ । ... अब हुवावे अत्याधुनिक स्मार्टफोन सहित बजारमा पुनरागमन गर्दैछ । उच्च कोटीका घरेलु चिप्सको उपयोग गर्दै एप्पलका ग्राहकलाई तान्न सक्ने क्षमता हासिल गरिसकेको छ । संसारको अवस्था यस्तो छ ।
निर्वाचन अभियानताका गरिएका हल्लाखल्ला भन्दा यथार्थ धेरै जटिल छ । विगतभन्दा थप जटिल बन्दै जादैछ । यहाँनिर प्रसिद्ध बक्सिङ खेलाडी माइक टाइसनको भनाइ सम्झिनु सादर्भिक हुन सक्छ । कुनै सन्दर्भमा उनले भनेका थिए ‘मुखमा मुक्का नपर्दासम्म सबैसँग योजना हुन्छ ।’
(द न्युयोर्क टाइम्सबाट )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत, दुई नियुक्त
-
बोपराको अर्धशतकसँगै चितवन राइनोजले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य
-
नेपाल प्रिमियर लिग क्रिकेटमा रवि बोपराले बनाए दोस्रो अर्धशतक
-
सिरियाको अर्को सहर पनि विद्रोहीको कब्जामा
-
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन
-
राज्यको उपेक्षामा कर्णालीका ‘गेम चेञ्जर’ आयोजना !