यात्री झुम्मिने चौखुट्टेका चिया पसल

धनगढी । सुदूरपश्चिमका पहाडी यात्रा सधैँ कठिन मानिन्छन् । त्यसैले केही किलोमिटरको यात्रापछि नै चालक लगायत यातायात मजदुरमात्र नभएर यात्री पनि विश्राम चाहन्छन् ।
साँघुरा घुम्ती, अप्ठ्यारा बाटो, उकालो–ओरालो पार गर्दै गुड्ने सवारी साधनका चालक, परिचालक तथा यात्रीका लागि चौखुट्टेजस्ता बजार महत्त्वपूर्ण बिसौनी मानिन्छन् ।
अछाम जोड्ने मुख्य प्रवेशद्वार हो चौखुट्टे । यात्रीहरूका लागिमात्र होइन, स्थानीय बासिन्दाका लागि पनि चौखुट्टे बजार व्यापारिक केन्द्र हो । अछाम र डोटीका स्थानीयले उत्पादन गरेका विभिन्न कृषि उपज बिक्री गर्ने थलो पनि यही हो । प्रायः यो प्रवेशद्वारबाट अछाम र बाजुरा जाने यात्री आवतजावत गर्ने गर्छन् ।
खासगरी चौखुट्टेका चिया पसल यिनै यात्रीका लागि चिया पिउने ठाउँका रूपमा चिनिन्छन् । यहाँ चिया खानका लागि नरोकिने गाडी कमै होलान् ।
चियाले मात्रै यहाँका चिया पसलहरूको परिचय सकिँदैन । रातभर चल्ने यात्राका क्रममा यी पसल यात्रीको थकाइ मेट्ने र रमाइला गफ गर्ने स्थल पनि हुन् ।
यहाँका केही स्थानीयले घरखर्च चलाउन लागि चिया पसल सञ्चालन गरेका छन् । चौरपाटी गाउँपालिका–६ की धनसरी साउँदका लागि बिहान अरूको भन्दा भिन्न हुन्छ । जब रातको दुई बज्छ, उनी निद्राबाट उठ्छिन् र चिया बनाउन थाल्छिन् । यात्री उनको पसल अगाडि चिया खान पर्खिरहेका हुन्छन् ।
‘गन्तव्य जानु अघि धेरै यात्री तातो चिया खान चाहन्छन्,’ धनसरी भन्छिन्– चियाका लागि बजारबाट दुध किन्छु, केही आफैँ उत्पादन गर्छु ।’
रातभर यात्रीहरू आउने भएकाले उनी कहिले दुई, कहिले तीन, कहिले चार बजे उठ्छिन् । उनी दुध चिया र कालो चिया दुवै बनाउँछिन् । यात्रीहरूले आफ्नो रुचिअनुसारको चिया खान्छन् ।
गाउँका मानिस प्रायः उधारो चिया खान्छन्, तर यात्रीहरू नगद तिरेर जान्छन् । यात्रीको चहलपहल हुँदा उनको आम्दानी राम्रै हुन्छ, तर अन्य समय बजार सुनसान रहन्छ ।
धनसरीका श्रीमान् यज्ञ साउँद लकडाउन अघि भारतमा थिए । उनले भारतमा भाँडा माझ्ने, गेस्ट हाउसमा खाना पकाउने लगायतका काम गरेका थिए । परदेशमा संघर्ष गर्दै बसेका उनी नेपाल फर्कने कुनै योजना थिएन ।
कोरोना महामारीका कारण लकडाउनले जब सारा विश्व ठप्प पार्यो, उनी पनि बाध्य भएर घर फर्किए । ‘विदेशमा कमाएको पैसाले गाउँमै केही गर्छु भन्ने थियो,’ यज्ञ सम्झन्छन्, ‘तर लकडाउनले सबै योजना बिगारिदियो । अहिले चिया पसलबाट जति कमाइन्छ, त्यसमै गुजारा चलाउनुपर्छ ।’
लकडाउनपछि नयाँ काम खोज्न गाह्रो भएकाले उनले श्रीमतीसँग मिलेर चिया पसल खोल्ने निर्णय गरे । ‘चिया पसल चलाउन सजिलो छैन,’ यज्ञले भने, ‘तर जे भए पनि परिवार धान्न सक्छौँ ।’
छोराछोरीलाई पढाउने खर्च, आफूहरूको गुजारा चलाउन दुई कप चिया बेचेर सम्भव नभए पनि मेहनत गर्न नछोडेको धनसरी बताउँछिन् ।
गाउँबाट युवा भारत पलायन हुँदै गएको देख्दा उनलाई दुःख लाग्छ । ‘युवा सबै भारत जान्छन्, गाउँ रित्तिँदै गएको छ । नेताहरू चुनावमा मात्रै आउँछन् । अरू बेला कसैलाई हाम्रो पिर छैन,’ उनी भन्छिन् ।
चौरपाटी गाउँपालिका–१० का प्रेमबहादुर मलासी र उनकी श्रीमतीले पनि चिया पसल सञ्चालन गरिरहेका छन् । उनीहरूको दैनिकी पनि धनसरीकै जस्तै छ ।
‘दैनिक १२ लिटर दुधको चिया बिक्छ,’ प्रेमबहादुरले भने, ‘रातिमात्रै चिया खाने यात्री आउँछन्, दिउँसो सुनसान हुन्छ ।’
उनको पसल चौखुट्टे प्रहरीचौकी नजिकै छ, जहाँ धनगढी, महेन्द्रनगरबाट आएका गाडी रोकिन्छन् । यात्रीहरू यहाँ चिया पिउँदै आराम गर्छन् र बाटोबारे जानकारी लिन्छन् ।
पहिले चौखुट्टे बजार सुनसान थियो, तर अहिले यहाँ करिब अढाई सय घरधुरी छन् । स्थानीय व्यवसायी भन्छन्, ‘बैंक भए राम्रो हुन्थ्यो, पर्यटन प्रवर्द्धन गर्न सकिने ठाउँ हो ।’
यहाँ सिद्धबाबाको मन्दिर पनि छ, जहाँ पहिले बाघ आउँथे भन्ने कथन छ । प्राकृतिक रूपमा सुन्दर भए पनि बजार व्यवस्थित हुन नसक्दा पर्यटकको आकर्षण कम देखिन्छ ।
‘यो ठाउँ मनमोहक छ, तर राम्रो व्यवस्थापन भए अझ राम्ररी फस्टाउने थियो,’ प्रेमबहादुरले भने ।
चौखुट्टेका व्यवसायीहरूका लागि चिया पसल आम्दानीको स्रोतमात्र होइन, स्वदेशमै वा आफ्नो गाउँठाउँमै केही गरौँ भन्नेहरूका लागि प्रेरणा पनि हो । अछाम र बाजुरा प्रवेश गर्ने यात्रीलाई चियाले स्वागत गर्न पाउँदा चौखुट्टेका व्यवसायी भाग्यमानी ठान्छन् ।
प्रेमका अनुसार बजार राम्रोसँग व्यवस्थित भए, बैंकहरू खुले, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके चौखुट्टे अझै समृद्ध हुन सक्छ ।
पर्यटक त आउँछन् तर राम्रो होटल, रेस्टुरेन्ट, बैंक वा अन्य सुविधा नभएकाले चौखुट्टेमा धेरै समय बस्न सक्ने अवस्था छैन ।
यदि राज्यले पूर्वाधार निर्माण र स्थानीय व्यवसाय प्रवर्द्धनमा ध्यान दिए चौखुट्टे बजार अझ व्यवस्थित हुन सक्ने स्थानीयवासी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा