शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२० नेताको स्वास्थ्य : अधिकांशलाई उच्च रक्तचाप

आइतबार, २० जेठ २०७५, ०९ : ४२
आइतबार, २० जेठ २०७५

मानिसका लागि सबैभन्दा ठूलो सम्पत्ति के होला ? सहजै भन्ने गरिन्छ, ‘स्वास्थ्य ।’ स्वास्थ्यलाई सम्पत्तिसँग तुलना गर्नु भनेको सम्बन्धित व्यक्ति स्वस्थ रहने प्रयास गर्नु हो । स्वस्थ रहन सके संसार जित्न सकिन्छ भन्नेहरूको बाहुल्य छ । 

स्वास्थ्यप्रति सचेत रहँदारहँदै पनि विभिन्न रोगले समात्छ । रोग लाग्नसाथ आकाश खसिहाल्दैन । तर, रोगले समातेपछि उपचार गर्नु, मुख बार्नुको किकल्प छैन । 

रातोपाटी डटकमले २० नेताको स्वास्थ्यस्थिति बुझ्ने प्रयास गरेको छ । २० नेतामध्ये अधिकांशलाई रक्तचापले समातेको छ । अन्यले विभिन्न रोगको उपचार गराउँदै आएका छन् । अधिकांश नेताको भनाइ छ, ‘सधैं हाँसिखुसी रहनुपर्छ । मानसिक तनावमुक्त जीवन जिउनुपर्छ । आफूलाई सधैं सक्रिय राख्नुपर्छ ।’  

भरतमोहन अधिकारी, पूर्वउपप्रधानमन्त्री 
दमले समातेको छ । मुटुमा समस्या छ । ग्यास्ट्रिकले सताएको धेरै भयो । पिसाबमा पनि समस्या छ । समय–समयमा स्वास्थ्य परीक्षण गर्दै आएको छु ।

मोहनविक्रम सिंह, महामन्त्री मसाल 
मधुमेहपीडित छु । स्वास्थ्यमा सचेत छु । सालिन्दा होलबडी चेकअप गर्न बिर्सेको छैन ।

नारायणमान बिजुक्छे, अध्यक्ष नेमकिपा 
रक्तचापले समातेपछि औषधि सेवन गरिरहेको छु । घुँडाको समस्या छ । सालिन्दा ‘होलबडी चेकअप’ गर्न कन्जुस गर्दिनँ । 

लीलामणि पोखरेल, पूर्वसांसद
स्वास्थ्यलाई ध्यान होइन पेलपाल गरेर हिँड्ने मानिस हुँ । मलाई ब्रोङ्काइटिस छ । ढाड दुख्छ । पहिले बढी हिँडेकाले होला, घुँडा खिइएको छ । रक्तचापले समातेकाले एमलोठ फाइभ सेवन गर्दै आएको छु । अहिलेसम्म तीनपटक होलबडी चेकअप गरेको छु ।

म मानसिक तनाव लिन्न । म बढी हिँड्ने, डुल्ने र उफ्रने मानिस भएकाले उमेर र स्वास्थ्यका हिसाबले फरक छ । मेरो पाचन क्रिया बलियो छ । म अकबरे खुर्सानी खान्छु । अकबरे खुर्सानी खाँदा फाइदा हुन्छ भनेर कसैले सुझाएपछि मैले नियमित खाँदै आएको छु । यसले पाचन क्रियालाई सघाउँछ । अन्य खुर्सानीले पाचन क्रिया कमजोर बनाउँछ । अकबरे खुर्सानीले ग्यास्ट्रिकलाई फाइदा गर्छ । तपाईं खानुहुन्न भने आजैदेखि अकबरे खुर्सानी खान सुझाउँछु । म दैनिक आठवटासम्म अकबरे खुर्सानी खान्छु । 

प्रकाशशरण महत, पूर्वमन्त्री 
खानपान सादा भएकाले स्वास्थ्यमा समस्या छैन । रक्तचाप अलि कम छ । दीर्घरोगले समातेको छैन । समय–समयमा ‘होलबडी चेकअप’ गराउँछु । खानपानबाहेक त्यतिबेला गाउँमा गरेको उकाली–ओह्रालीले अहिलेसम्म स्वस्थ रहेको हुँ । 

अशोक राई, पूर्वमन्त्री
मलाई उच्च रक्तचापले समातेको छ । औषधि सेवन गर्दै आएको छु । वर्षमा एकपटक ‘होलबडी चेकअप’ गराउँछु । सामान्य चेकअप पनि गराइरहन्छु । स्वास्थ्यप्रति सचेत हुनैपर्यो । उच्च रक्तचापबाहेक अन्य दीर्घरोग छैन । 

म तनाव लिँदै लिन्न । जीवनलाई तनावमुक्त राख्नुपर्छ । हाँसीखुसी जिउने प्रयत्न गर्नुपर्छ भन्ने मान्यता राख्छु । खानपानमा पनि सचेत नै छु । स्वास्थ्य हानि हुने खानेकुरा खान्न । झुक्याएर वा झुक्किएर खाएमा अर्कोपटक दोहोर्याएर खाँदै खान्न ।

अग्नि सापकोटा, सांसद
ज्यानलाई सन्चै छ । मधुमेहले छोए पनि सुरुमै थाहा पाएकाले सन्तुलनमा राखेको छु । अहिलेसम्म दुईपटक ‘होल बडी चेकअप’ गराएको छु । खानपिनमा सचेत, बाहिर त्यति नखाने र शारीरिक अभ्यासले तन्दुरुस्ती देखिएको हुँ ।

चक्रपाणि खनाल ‘बलदेव’, मन्त्री
ज्यानलाई बिसन्चो नभए पनि उच्च रक्तचाप र कोलस्ट्रोल छ । अहिलेसम्म होलबडी चेकअक गराएको छैन । उच्च रक्तचाप र कोलस्ट्रोलबाहेक तन्दुरुतै छु । 

दिलनाथ गिरी, पूर्वमन्त्री
रक्तचाप र मधुमेहले समातेको छ । उत्ताउलो खानेकुरा खान्न । धूमपान, मद्यपान गर्दिनँ । चिल्लो, पिरो सकेसम्म खान्न । त्यसैले दुवै रोग सन्तुलनमा राखेको छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । जुन बेला, जुन रोग देखापर्छ, त्यतिबेला त्यही रोगको उपचार गर्ने गरेको छु । रक्तचाप र मधुमेहले समाते पनि तन्दुरुस्ती देखिनुका कारण योगा, मर्निङवाक र खानपान हो । 

गिरिराजमणि पोखरेले, शिक्षामन्त्री 
‘मल्टिपल प्रब्लम’ बाट गुज्रिरहेको छु । हिजोआज त्यसलाई केयर गर्दै आफूलाई स्वस्थ र सक्रिय राख्न प्रयत्नरत छु । दीर्घरोग भन्ने शब्द÷पदावली नै मन पर्दैन । रोग नभएको कोही पनि छैनन् । रोगलाई सकारात्मक ढंगले लिने र मैत्रीपूर्ण व्यवहार गर्ने गर्नुपर्छ । दुर्घटनामा परिसकेपछि अहिलेसम्म तीनपटक ‘होल बडी चेकअप’ गराएको छु ।
मधुमेहका दृष्टिकोणले तीन–तीन महिनामा नियमित चेक–जाँच गराउँछु । मेरो ‘ब्लड प्रेसर लो’ छ । पहिले पेटका समस्या थिए । मन्त्री भएपछि डाइबिटिजले समात्यो । 

महेन्द्रबहादुर शाही, मुख्यमन्त्री
रक्तचाप र ग्यास्ट्रिकले समातेकोबाहेक अहिलेसम्म सन्चै छु । ग्यास्ट्रिक बढ्नसाथ रक्तचाप बढ्दोरहेछ । डा. रवि मल्लसँग नियमित चेकजाँच र परामर्शमा छु । सालिन्दा ‘होलबडी चेकअप’ गराउँदै आएको छु । रक्तचाप र ग्यास्ट्रिकबाहेक स्वस्थ हुनुका कारण शारीरिक अभ्यास नै हो । तर, शारीरिक अभ्यासले ग्यास्ट्रिक नियन्त्रण गर्न सकिँदैन । पाल्पामा ४८ घन्टा पानी नखाई युद्ध लडेका थियौं । त्यसो भएपछि ग्यास्ट्रिक रमाइहाल्दोरहेछ । 

जीवनबहादुर शाही, पूर्वमन्त्री
कहिलेकाहीं दाँत दुख्छ । आँखा हिउँले खाएको हो । सालिन्दा एकपटक होलबडी चेकअप गराउँछु । पहिले–पहिले शारीरिक अभ्यास गर्थें । धूमपान गर्दिनँ । साह्रै करकापमा परेको बेलाबाहेक मद्यपानसमेत गर्दिनँ । बाँकी ‘गड गिफ्टेड’ होला । 

श्रीप्रसाद जबेगू, पूर्वमन्त्री
रक्तचापबाहेक ज्यानलाई ठिकै छ । रक्तचाप बढ्ने र घट्ने भइरहन्छ । तर, मलाई थाहा हुँदैन । औषधि सेवन गर्दै आएको छु । केही समयअघि ‘होलबडी चेकअप’ अन्तर्गत ‘फस्र्ट प्याकेज’ गरें । त्योभन्दा अघि ‘सेकेन्ड प्याकेज’ गरेको थिएँ । 

समय–समयमा श्रम गर्छु । छोटो दूरीका लागि सवारीसाधन प्रयोग गर्दिनँ । चिल्लो, पिरो बारेको छु । मासु उसिनेरमात्रै खान्छु । नुनिलो पनि खान्न । यसले गर्दा शरीरलाई तन्दुरुस्ती बनाउने सघाएको होला ।    

रामहरि खतिवडा, पूर्वसांसद
पछिल्लो समय रक्तचापले समातेको छ । रक्तचाप १४०÷९० हुन थालेको छ । रक्तचाप बढे  पनि अहिलेसम्म हिँड्दा, डुल्दा त्यसको असर देखापरेको छैन । निद्रा राम्रै लाग्छ । खाएको पचेकै छ । बोल्न अप्ठ्यारो परेको छैन । त्यसकारण ज्यानलाई सन्चै छ भन्ने मेरो दाबी हो । समय–समयमा ‘होलबडी चेकअप’ गर्दै आएको छु ।    

सुदन किराती, सांसाद
छिट्टै चिसो लाग्छ । जेलमा रहँदा यातना पाएकाले ढाडको समस्या छ । युरिक एसिड र छालाको एलर्जी छ । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । रक्तचाप ‘लो’ छ । 

विशाल भट्टराई, सांसद
मलाई ग्यास्ट्रिक छ । यसले समय–समयमा दुःख दिन्छ । अहिलेसम्म पाँचपटक होलबडी चेकअप गराएको छु । हिँडडुल र मिहिनेत गर्ने भएकाले स्वस्थ रहेको हुँ भन्ने मेरो ठम्याइ छ । 

अञ्जना विशंखे, सांसद
टाउको दुख्नेबाहेक निरोगी नै छु । अहिलेसम्म दुईपटक ‘होलबडी चेकअप’ गराएकी छु । आफूलाई सधैं सक्रिय राख्ने भएकाले पनि स्वस्थ रहेकी हुँ कि । 

कृष्णकुमार राई, सांसद
ज्यानलाई आधा सन्चो आधा बिसन्चो छ । अहिलेसम्म दुई÷चारपटक होलबडी चेकअप गराएको छु । 

पासाङ शेर्पा, नेता
उच्चरक्तचाप र युरिक एसिडले समातेको छ । औषधि सेवन गरेपछि १४०÷९० मा झरेको छ । औषधि सेवन नगर्दा १५०÷१०० हुन्छ । अहिलेसम्म डा. युवराज लिम्बूसँग एकपटक ‘होलबडी चेकअप’ गराएको छु । फुटबल, ब्याडमिन्टन खेल्छु, स्वीमिङ गर्ने भएकाले ज्यान ठीकठाक देखिएको हो । 

यज्ञराज सुनुवार, सांसद
रक्तचाप र युरिक एसिडले समातेको छ । माइलोड ८० सेवन गरेपछि रक्तचाप सामान्य छ । तीनपटक ‘होलबडी चेकअप’ गराएको छु । रक्तचाप र युरिक एसिडबाहेक तन्दुरुस्ती हुनाका कारण खानपान नै हो । मादक पदार्थ त्यति पिउँदिनँ । धूमपानदेखि टाढै छु । पहाडमा उकालो–ओह्रालो हिँडिरहन्छु । गाउँमा रहँदा अर्गानिक खाना खान पाइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप