बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फिल्म

५० प्रतिशतले घट्यो फिल्म निर्माण, दोषी कलाकार !

अस्वाभाविक पारिश्रमिक बाधक भयो– उदय सुब्बा
बिहीबार, ११ असार २०८३, १२ : ००
बिहीबार, ११ असार २०८३

सारांश

  • यस वर्ष (२०८३) चलचित्र निर्माणको गति अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशतले घटेको छ ।
  • चालु वर्षको वैशाख र जेठमा जम्मा २७ वटा चलचित्रले निर्माण इजाजत लिएका छन्, जबकि गत वर्षको सोही अवधिमा ५४ वटाले लिएका थिए ।
  • फिल्मकर्मीहरूले कलाकारको महँगो पारिश्रमिक, फिल्मको व्यापार नहुनु, र राजनीतिक अस्थिरतालाई निर्माण घट्नुको प्रमुख कारण मानेका छन् ।

काठमाडौँ । नेपाली चलचित्र निर्माणको गति यस वर्ष (२०८३) ह्वात्तै घटेको छ । चलचित्र विकास बोर्डबाट प्राप्त पछिल्लो निर्माण इजाजतको तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्र निर्माण घटेको देखाएको हो ।

चलचित्र निर्माण गर्नुपूर्व चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिनुपर्ने प्रावधान रहँदै आएको छ । बोर्डको विवरण अनुसार चालु वर्ष २०८३ को वैशाख र जेठ महिनामा जम्मा २७ वटा चलचित्रले मात्र निर्माण इजाजत लिएका छन् । 

अघिल्लो वर्ष २०८२ को सोही अवधिमा ५४ वटा चलचित्रले निर्माण अनुमति लिएका थिए । यो तथ्याङ्कलाई हेर्दा गत वर्षको तुलनामा यस वर्ष नयाँ चलचित्र निर्माण गर्ने क्रम करिब ५० प्रतिशतले कमी आएको देखिन्छ ।

बोर्डबाट यस वर्ष निर्माण इजाजत लिने चलचित्रको संख्या वैशाखमा १६ र जेठमा ११ वटा छ । वैशाखमा इजाजत लिने चलचित्रहरूमा ‘बिचौलिया’, ‘मलाया क्रमु’, ‘एक मुठ्ठी बादल’, ‘तीन तीघ्रे क्या बिग्रे’, ‘च्योना, हितको माया’, ‘तिमी मेरो म तिम्रो’, ‘होल टाइमर्स २’, ‘फलानो ढिस्कानो’, ‘आशा’, ‘उग्रम’, ‘मेरो प्रेम अधुरो’, ‘ढुकढुकी’, ‘एक एकान दुई’, ‘खण्डहर र देवकली’ रहेका छन् ।

त्यस्तै, जेठमा ‘युग’, ‘परदेश’, ‘पञ्चमी’, ‘गजागु संस्कार’, ‘४ जीपीए,’ ‘स्वामी’, ‘कन्या केटो’, ‘ल्याङ्ग ल्याङ्ग’, ‘तिरी मिरी झ्याईं’, ‘घर हिँडेको मान्छे’ र ‘सुनको बिहानी’ले इजाजत लिएको देखिन्छ । 

वैशाख र जेठमा निर्माण इजाजत लिने २७ फिल्ममध्ये ‘तीन तीघ्रे क्या बिग्रे’ छायाङ्कनको तयारीमा छ । यस फिल्ममा चर्चित गायक पशुपति शर्मा, टेलिसिरियल कलाकार सामिया कार्की र गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त मुख्य भूमिकामा देखिनेछन् । अन्य फिल्मको गतिविधि भने अहिले सुस्त छ ।

किन घट्यो फिल्म निर्माण ?

नेपाली चलचित्र निर्माण घट्नुका थुप्रै कारण छन् । तीमध्ये प्रमुख कारण फिल्मको व्यापार, कलाकारको महँगो पारिश्रमिक र देशको राजनीतिक अस्थिरता हो । तर, फिल्मकर्मीहरू धेरैजसो दोष कलाकारलाई नै दिन्छन् । कलाकारको महँगो पारिश्रमिकका कारण चलचित्र निर्माण घटेको उनीहरूको भनाइ छ ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष उदय सुब्बा पनि कलाकारको अस्वाभाविक पारिश्रमिकका कारण फिल्म निर्माण घट्दो क्रममा रहेको बताउँछन् । दर्शकको रुचि दोस्रो कारण भएको उनको भनाइ छ । ‘कलाकारको पारिश्रमिक अचाक्ली छ । उनीहरूको पारिश्रमिक तिर्दा फिल्म महँगो बन्छ, तर हामीले दर्शकको रुचि समात्न सकिरहेका छैनौँ,’ उनी भन्छन्, ‘व्यापार छैन, कलाकारलाई मात्र धनी बनाउन किन फिल्म बनाउने ?’ उनी लगानीको ढाँचा (मोडालिटी) परिवर्तन नभए उद्योग बचाउन कठिन हुने तर्क गर्छन् ।

‘कि त कलाकारले आफ्नो पारिश्रमिक घटाएर नाफामा हिस्सेदारी लिनुपर्छ, कि त लगानीको शैली नै फेरिनुपर्छ,’ सुब्बा थप्छन्, ‘नचल्ने कलाकारहरू भोकभोकै पर्ने र चल्नेले अचाक्ली पैसा लिने खाडलले उद्योगलाई भित्रभित्रै गलाएको छ ।’ फिल्मको व्यवसाय नहुनु पनि निर्माण घट्नुको अर्को कारण भएको सुब्बाको ठम्याइ छ ।

लेखक तथा समीक्षक सामीप्यराज तिमल्सिना भने यो गिरावटलाई पूर्ण रूपमा नकारात्मक रूपमा मात्र हेर्न नहुने बताउँछन् । फिल्मको व्यवसाय बढ्दा निर्माण बढ्ने र घट्दा घट्ने उनको भनाइ छ । ‘पूर्णबहादुरको सारङ्गी जस्ता फिल्मले बक्स अफिसमा निकै राम्रो व्यापार गरेका थिए । त्यसले गर्दा धेरैलाई यस क्षेत्रमा राम्रो पैसा छ भन्ने आशा जागेको थियो र निर्माण दर्ता ह्वात्तै बढेको थियो,’ तिमल्सिना भन्छन्, ‘त्यो सफलतापछि फेरि फिल्महरूले सोही स्तरको व्यापार गर्न सकेनन्, त्यसैले निर्माताहरू पर्ख र हेरको अवस्थामा छन् ।’ 

विश्वव्यापी आर्थिक मन्दी र त्यसको असर हाम्रो अर्थतन्त्रमा परिरहेकाले पनि निर्माताहरू अहिले लगानी गर्न डराइरहेको हुन सक्ने तिमल्सिनाको अनुमान छ ।

अभिनेता, निर्माता तथा निर्देशक नवल खड्का यसको जडमा राज्यको नीति र दर्शकको मनोविज्ञान देख्छन् । विदेशी फिल्मप्रति उदार रहने र नेपाली फिल्मप्रति नाक खुम्च्याउने दर्शकको प्रवृत्तिका कारण निर्माताहरू हतोत्साहित भएको उनको बुझाइ छ । 

‘व्यापार ५–१० लाखको गर्ने, अनि कलाकारले ५०–६० लाख पारिश्रमिक माग्ने ? यो कतैबाट पनि व्यावहारिक छैन । यस्तो अवस्थामा निर्माता कसरी टिक्न सक्छन् ?’ खड्का थप्छन्, ‘बलिउड वा हलिउडको गुणस्तर नेपाली फिल्ममा खोज्ने परिपाटीले मौलिकता ओझेलमा परेको छ ।’ 

यदि समयमै सचेत नहुने हो भने यो दुरावस्थाले नेपाली चलचित्र उद्योगलाई पूर्ण रूपमा धराशायी बनाउने चेतावनी खड्काले दिएका छन् । 

क–कसले बनाउँदैछन् फिल्म ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप